वाणिज्य कार्यालयद्वारा जितपुर सिमराका पाँचवटा पसल फर्मलाई कारवाही
वीरगन्ज, २२ साउन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यलय पर्साले बाराका विभिन्न स्थानमा गरिएको अनुगमनका क्रममा पाँचवटा पसल तथा फर्मलाई कारवाही गरेको छ ।
कार्यालयका निमित्त प्रमुख जीत बहादुर भण्डारीको नेतृत्वमा इलाका प्रशासन कार्यालय सिमरा, इलाका प्रहरी कार्यालय सिमरा, सिमरा नगर उधोग वाणिज्य सँघ सिमरा समेतको टोलीले बारा जिल्लाको सिमरा बजार अनुगमन गर्दा उपभोक्ता सँरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिम कसुर गरेको पाँचवटा फर्म तथा पसललाई कारवाही गरेको हो ।
सिमराको विकास जेनरल स्टोर्सले खरिद बिल नदेखाएकोले २० हजार तथा ३ हजार ८ सय ५५ बराबरको म्याद नाघेको हल्का पेय पदार्थहरु समेत नष्ट गरेको वाणिज्य आपूर्ति तथा उपभोत्ता हित संरक्षण कार्यालय वीरगन्जका सूचना अधिकारी दिलिप खंगखत्वेले जानकारी दिनुभयो । त्यस्तै आर एन इन्टरप्राईजेज सिमरा–३ बाराले खरिद बिल नदेखाएकोमा रु. २० हजार, ॐ शिवशक्ति जेनरल स्टोर सिमरा–६ बाराले अनुगमन कार्यमा आवश्यक सहयोग नगरेकोमा रु २० हजार जरिवाना गराईएको उहाँले बताउनुभयो ।
त्यसैगरी भाई किराना स्टोर्स जितपुरसिमरा–१ बाराले खरिद बिल नदेखाएकोले रु. १० हजार र देवदास फेन्सी स्टोर्स जितपुरसिमरा–१ बाराले खरिद बिल नदेखाएकोले रु. १० हजार तथा २ हजार २ सय ६७ मूल्य बराबरका म्याद नाघेका फेन्टा, क्यान बियर, डिउ, स्प्राइट जस्ता वस्तु नष्ट गरि तत्काल जरिवाना गरिएको सूचना अधिकारी खत्वेले बताउनुभयो ।
उनीहरुलाई उपभोक्ता ऐनको दफा ३९ बमोजिम जरिवाना गराइएको रकम ७ दिन भित्र बैंकमा जम्मा गरि भौचर कार्यालयमा पेश गर्न निर्देशन दिएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता सँरक्षण कार्यालयका सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी दिनुभयो ।