वीरगन्जमा पेट्रोलको अभाव, सहज हुन अझै दुईचार दिन लाग्ने
वीरगन्ज, २ कार्तिक । दशैं विदामा पेट्रोलियम पदार्थको ढुवानी बन्द हुँदा वीरगन्जमा पेट्रोलको अभाव भएको छ । पेट्रोल आयात बन्द हुँदा वीरगन्जका कुनैपनि पेट्रोल पम्पहरुमा अहिले पेट्रोल पाईएको छैन ।
बाराको अम्लेखगन्ज डिपोले पनि ८० प्रतिशत पेट्रोल काठमाडौं लगायतका अन्य क्षेत्रमा पठाएको र बारा पर्साका पेट्रोल पम्पहरुलाई वितरण नगर्दा पेट्रोप अभाव भएको पेट्रोलिपय डिलर्स एशोसिएसन पर्साका अध्यक्ष विनोद चौरसियाले बताउनुभयो ।
पेट्रोल आउने भारतको बरौनीस्थित डिपोबाट दशैं विदामा नेपाली ट्यांकरहरुले ढुवानी बन्द गर्दा अहिले पेट्रोल आउन समय लागेकोले पनि वीरगन्जमा पेट्रोलको अभाव भएको चौरसियाले बताउनुभयो ।
पेट्रोल ढुवानीमा अझै दुईचार दिन लाग्ने भएकोले दुईचार दिनपछि मात्रै पेट्रोल वीरगन्जमा सहज रुपमा पाईने अध्यक्ष चौरसियाले बताउनुभयो । नेपाल आयल निगम वीरगन्ज कार्यालयका प्रमुख पवन यादवले दशैं विदाका कारणले ट्यांकरहरु बरौनी जान नपाउँदा पेट्रोलको अभाव भएको बताउनुभयो ।
कार्यालयहरु खुलेपछि हिजो ७० हजार लिटर पेट्रोल बारा पर्साका लागि वितरण भएको उहाँले बताउनुभयो । त्यसमध्य पर्सामा ४८ हजार लिटर पेट्रोल ८/९ वटा पेट्रोल पम्पमा वितरण भएको छ । तरपनि वीरगन्जका अधिकांश पेट्रोल पम्पहरुमा भने पेट्रोलई पाइएको छैन ।