व्यावसायीको आन्दोलन स्थगितपछि इन्धन आपूर्ति सहज
वीरगन्ज । पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू आईतबार बिहान ८ बजेदेखि नै सञ्चालनमा आइसकेको आयल निगमले जनाएको छ । व्यवसायीको आन्दोलनका कारण आपूर्तिमा समस्या हुँदा हिजो दिनभर पेट्रोलपम्प अगाडि उपभोक्ताहरुको लामो लाइन लागेको थियो ।
नेपाल आयल निगम र आन्दोलनरत राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिबीच सहमति भएसँगै व्यवसायीहरुले आन्दोलन स्थगित गरेका हुन् । निगमको केन्द्रीय कार्यालय टेकुमा हिजो बेलुकी भएको छलफलमा दुवै पक्षबीच सहमति जुटेको हो । पेट्रोलियम व्यवसायीहरुको आन्दोलन स्थगित भएपछि आइतबारदेखि पेट्रोलियम पदार्थको आपुर्ति सहज भएको हो ।
सहमतिसँगै आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएशन, नेपाल एलपी ग्यास उद्योग सङ्घ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू स्थगित गरेका छन् । समन्वय समितिले गएको फागुन २३ मा निगम समक्ष पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी माग पेस गरेको थियो ।
सरकार र व्यावसायीहरुबीच भएको छलफलबाट पेट्रोलियम बिक्रेता कमिशन र एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा सात दिनभित्र निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा आउँदो जेठ १५ सम्ममा टुङ्गोमा पुग्ने सहमति भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।
आन्दोलनरत व्यावसायीहरुले ढुवानी र आपूर्ति नै बन्द गरेपछि इन्धनको बजारमा अभाव हुन थालेको थियो । सहमतिपछि आन्दोलन फिर्ता लिएकोले अब विस्तारै इन्धन आपूर्तिमा सहज हुदै जाने निगमले जनाएको छ ।