मधेस प्रदेशमा आदिवासी जनजाति पत्रकारिताको अवस्था र चुनौती

मधेस प्रदेशमा आदिवासी जनजाति पत्रकारिताको अवस्था र चुनौती

नीरज पिठाकोटे मगर 
मधेस प्रदेश इन्चार्ज (फोनिज) 
                     संघीय गणतन्त्र नेपालको संविधान, २०७२ ले नेपाललाई एकात्मक राज्यप्रणालीबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राष्ट्रको रूपमा संस्थागत रूपान्तरण गरेको छ । नयाँ संरचना अनुसार नेपाल  संघ, ७ प्रदेश र ७५३ स्थानीय तह बनाईएको छ । सातवटा प्रदेश मध्ये नेपालको मध्य पूर्वी तराईका  सप्तरीदेखि पर्सासम्मका आठवटा जिल्लाहरु समेटेर बनेको प्रदेश मधेस नेपालको सबैभन्दा सानो प्रदेश हो । समतल  भूभाग भएको यो प्रदेशले नेपालको प्रदेश १ र बागमती तथा  भारतको बीचमा अवस्थित छ । मधेशी बाहुल्यता रहेको यो प्रदेशमा अत्यधिक जनघनत्व रहेको  छ । यो कृषि, उद्योग, पर्यटन, भन्सारका लागि धेरै महत्वपूर्ण छ । तथापि यो जलविधुत आयोजना विहिन प्रदेश हो । अधिकार र पहिचानका लागि पटक पटक आन्दोलन भएको यो प्रदेशमा तराईका अधिकाशं जातजातिको बसोबास रहेको छ । शिक्षा, स्वास्थ्य तथा मानव विकास सुचकमा धेरै पछाडी परेको यो प्रदेश मानव विकास सूचकांकमा पनि कर्णाली प्रदेशको हाराहारीमा रहेको छ । भौगोलिक सुगमता भएपनि पछि परेको मधेस प्रदेश मा बसोवास गर्ने आदिवासी जनजाति समुदाय मध्य सबैभन्दा बढी थारु समुदायको जनसंख्या रहेको छ । यो प्रदेशमा साक्षरता ४९.५४ % रहेको छ । पहिचानवादी आन्दोलनबाट स्थापित भएको मधेस प्रदेशमा मधेसीको पहिचान स्थापित भएपनि उनीहरुभन्दा अगाडिदेखि पहिचानको लडाई लडिरहेको आदिवासी जनजाति समुदायको आन्दोलनले भने पूर्णता पाउन सकेको छैन । मधेस प्रदेशमा आदिवासी जनजाति समुदायहरु मध्य सबैभन्दा धेरै जनसंख्या थारु समुदायको रहेको भएपनि नेपाली पत्रकारिता क्षेत्रमा भने नेवार समुदायको बर्चस्व बढी देखिएको छ । नेपाली पत्रकारिता क्षेत्रमा व्यावसायिक पत्रकारिता स्थापित गर्ने हस्तीहरु हस्त गुरुङ, दिपेन्द्र लामा लगायत पत्रकारहरु जन्माएको पनि मधेस प्रदेश नै हो । मूलधारको पत्रकारितामा पनि मधेस प्रदेशका आदिवासी जनजाति पत्रकारहरु स्थापित भएका छन् । व्यावसायिक पत्रकारिताको विकास र आदिवासी जनजाति पत्रकारहरुको पेशागत क्षमता अभिवृद्धि र वृत्ति विकास अझै आवश्यक देखिएको छ । आदिवासी जनजाति पत्रकार संघ (अनिज) को गठनपछि विस्तार गरिएको जिल्ला शाखाहरु बाहेक पोखरामा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशन र काठमाडौंमा सम्पन्न छैठौं राष्ट्रिय महाविधेसनपछि मधेस प्रदेशमा थप शाखाहरु गठन भई क्रियाशील रहेका छन् । तथापी सांगठनिक नेतृत्वको विकास तथा व्यावसायिक पत्रकारिताको विकास विस्तारै बढी रहेको छ । प्रदेश २ को सप्तरीदेखि पर्सासम्मको आठ जिल्ला मध्य सप्तरी, सिराहा, सर्लाही, रौतहट, बारा र पर्सा गरी ६ वटा जिल्लामा शाखा गठन भएका छन् । यी शाखाहरुमा आवद्ध आदिवासी जनजाति पत्रकारहरुको क्षमता अभिवृद्धि, व्यावसायिकता र क्रियाशीलताका लागि सांगठनिक विकास र नेतृत्व विकास गरी पेशागत स्थायीत्व मुख्य चुनौती देखिएको छ । मधेस प्रदेशका ६ वटा जिल्लाहरुमा व्यावसायिक पत्रकारिता र पूर्णकालिन पत्रकारितामा थोरै मात्रै संख्यामा आदिवासी जनजाति पत्रकारहरु संलग्न रहेका छन् । आदिवासी जनजाति समुदायले नै सञ्चालन गरेको सञ्चार माध्यमहरुको संख्या पनि न्यून नै रहेको छ । सांगठनिक रुपमा क्रियाशील रहेको सप्तरीमा जम्मा सदस्य संख्या २६ जना रहेपनि व्यावसायिक रुपमा पूर्णकालिन पत्रकारितामा आवद्ध भएकाहरुको संख्या २ जना मात्रै रहेको छ । आदिवासी जनजाति पत्रकारहरुले सञ्चालन, प्रकाशन गरेका सञ्चार माध्यमहरु एउटापनि छैन । सप्तरीमा आदिवासी जनजाति पत्रकारले प्रकाशन गरेको एउटा मात्रै साप्ताहिक पत्रिका ‘छिन्नमस्ता हालचाल’ विभिन्न समस्याका कारण अहिले प्रकाशन बन्द भएको छ । त्यस्तै २१/२२ जना कूल सदस्य संख्या रहेको सर्लाहीमा पनि आदिवासी जनजाति समुदायले संचालन गरेको सञ्चार माध्यम एउटा मात्रै जन वकालत साप्ताहिक रहेको छ । सर्लाहीमा व्यावसायिक रुपमा पूर्णकालिन पत्रकारिता गरेकाहरुको संख्या पनि न्यून नै रहेको छ । त्यस्तै जिल्लामा २२/२३ जना सदस्य संख्या रहेको सिराहा जिल्लामा सबैजना पूर्णकालिन पत्रकारितामा नै आवद्ध रहेका छन् । सिराहामा आदिवासी जनजाति समुदायले एउटा एफ.एम.संचालन गरेको छ । त्यसमा कार्यरत सबैजना फोनिजमा संगठित भएका छन् । त्यस्तै लाहानपोष्ट दैनिक, अनलाईन, हाम्रो प्रदेश दैनिक, पूर्वाञ्चल एक्सप्रेस अनलाईन लगायतका सञ्चार माध्यमहरु आदिवासी जनजाति पत्रकारहरुले संचालन गरेका छन् । काठमाडौंमा सम्पन्न छैठांै महाधिवेशन पश्चात शाखा गठन गरिएको रौतहट जिल्लामा आदिवासी जनजाति पत्रकारहरुको पेशागत स्थायीत्व हुन नसक्दा जिल्ला नेतृत्व नै पेशाबाट पलायन हुनुपरेको छ । त्यसले गर्दा संगठन पनि कमजोर बनेको छ । सांगठनिक रुपमा अलिकति बलियो देखिएको बारा जिल्लामा भने आदिवासी जनजाति पत्रकारहरुको संख्या र आदिवासी जनजाति पत्रकारहले नै संचालन गरेका सञ्चार माध्यमहरु पनि रहेका छन् । कूल सदस्य संख्या ३९ जना रहेको बारा जिल्लामा व्यावसायिक पत्रकारिता र क्रियाशील रुपमा पेशामा आवद्ध भएका झण्डै एकदर्जन आदिवासी जनजाति पत्रकारहरु रहेका छन् । बारामा रेडियो कोल्हवी, पातालगंगा रेडियो गरी दुईवटा एफ.एम., मेहा साप्ताहिक र चेरवन्त खबर साप्ताहिक तथा अनलाईन न्युर्ज पोर्टल संचालनमा रहेको छ । यी सञ्चार माध्यमहरु भने आदिवासी  जनजाति पत्रकारहरुले नै गरेका छन् । पर्सामा मूलधारका सञ्चार माध्यममा व्यावसायिक र पूर्णकालिन पत्रकारितामा रहेकादेखि साप्ताहिक पत्रिका संचालन गर्नेहरु पनि रहेका छन् । मूलधारको सञ्चार माध्यममा वीरगन्जबाटै पत्रकारिता शुरु गरेकाहरु व्यक्ति अहिले केन्द्रमा समेत स्थापित भएका छन् । आदिवासी जनजाति कूलमा जन्मिएर पत्रकारिता गर्नेहरुको आफ्नो भाषा, संस्कृति संरक्षण तथा समुदायको हितका लागि पनि योगदान दिनुपर्ने ठाउँमा आफ्नै कूल आदिवासी जनजाति समुदायको गौरवशाली संगठनलाई भने संकिर्ण दृष्टिकोणबाट हेरिनु विडम्वनापूर्ण नै छ । वीरगन्जबाट प्रकाशित भएका ३८ बर्ष पूरानो दर्पण साप्ताहिकदेखि पवनदूत, हाईवे, कलेक्सन, सिजन, अविचल, पर्सा पोष्ट, त्रिनेत्र पोष्ट (जानकारीमा रहेकाहरु मात्रै) लगायतका पत्रिकाहरु आदिवासी जनजाति पत्रकारहरुले सञ्चालन गरेको पत्रिकाहरु हुन् । तर, यी पत्रिकाहरु निरन्तर प्रकाशन गर्नु चुनौती र समस्याहरु धेरै रहेका छन् । त्यसैले पनि केही पत्रिकाहरुले प्रकाशनमा निरन्तरता दिन सकेको अवस्था छैन । अधिकांश पत्रिकाहरु कार्यालय प्रयोजनका बाहेक पाठकसम्म बजारमा पु-याउन सकिरहेको छैन । आर्थिक अभावका कारण व्यावस्थापन गर्न नसक्दा नै यी पत्रिकाहरुको प्रकाशन निरन्तर हुन नसकेका हुन् । वीरगन्जबाट प्रकाशित हुने राष्ट्रियस्तरको ‘क’ वर्गको पत्रिकामा एकजना सम्पादक, अनलाईन न्युजपोर्टल र एफ.एम.मा एकजना सम्पादक र एकजना दैनिक पत्रिकामा सह–सम्पादकको जिम्मेवारीमा रहेका छन् । आदिवासी समुदायको आजावलाई अझ बुलन्द गर्नका लागि तत्तकालिन समयमा अनिज गठन भएपछि वीरगन्जमा ‘आदिवासी वाणी दैनिक’ पत्रिका प्रकाशन शुरु गरेपनि प्राविधिक समस्याहरुका कारणले प्रकाशन बन्द भयो । 

सञ्चार माध्यममा देखिएका चुनौतीहरु    
  
द्रूतगतिमा भएको सूचना प्रविधिको विकास र लोकतन्त्र स्थापनापछि भएको सञ्चार माध्यमको स्थापना र विकासले गति लिएपनि धेरै सञ्चार माध्यमहरुको दिगोपना र स्थायीत्वमा भने चुनौतीहरु देखिएका छन् । पछिल्लो समयमा आक्रामक रुपमा खुलेका अनलाईन सञ्चार माध्यमहरुले पूराना प्रिन्ट मिडियाहरुमा खासगरी साप्ताहिक पत्रिकाहरुलाई विस्थापित नै गरेको छ । ती साप्ताहिक पत्रिकाहरुले आपूmलाई अनलाईनमा परिवर्तन गर्न सकिरहेका छैनन् । जस्ले गर्दा बर्षौदेखि प्रकाशन गर्दै आएको साप्तहिक पत्रिकाहरु प्रकाशन बन्द गरी पत्रकारिता क्षेत्रबाट नै पलायन हुनुपर्ने अवस्था आएको छ । लोकप्रिय दैनिक पत्रिकाहरु बाहेक धमाधम अनलाईन सञ्चार माध्यमहरुको स्थापनाले साप्ताहिक पत्रिकाहरु ओझेलमा परेका छन् । तथापी केही साप्ताहिक पत्रिकाहरु जेनतेन प्रकाशन गर्ने गरेका छन् । प्रकाशन हुने पत्रिकाहरुले पनि आफ्नो स्तरवृद्धि गर्न नसक्नु, सूचना प्रविधिमैत्री हुन नसक्नु र राज्यले बनाएको मापदण्ड वर्गीकरणमा हुने पक्षपातपूर्ण व्यवहारले पनि आदिवासी जनजाति पत्रकारहरुले संचालन गर्ने सञ्चार माध्यममा दिगोपन ल्याउन सकिएको छैन । सूचना विभागले गर्ने समपरीक्षण मूल्यांकनमा पहुँचको कमी, त्यसमा हुने पक्षपातपूर्ण व्यवहारको शिकार आदिवासी जनजाति समुदायले सञ्चालन गरेका सञ्चार माध्यमहरु पर्ने गरेको छ । आदिवासी जनजाति पत्रकारहरुले आफ्नो क्षमता अभिवृद्धि गर्न नसक्नु, पत्रकारितामा दक्षता हासिल गर्न नसक्नु र दक्षता र क्षमता भएपनि आर्थिक रुपमा पूर्णरुपमा सन्तुष्ट हुन नसक्दा पूर्णकालिन पत्रकारितामा टिक्न चुनौती छ । क्षमता र दक्षता भएका आदिवासी जनजाति पत्रकारहरुले पनि अवसरहरु नपाउँदा पत्रकारिता क्षेत्रमा आदिवासी जनजातिको संख्या न्यून देखिएको छ । आर्थिक रुपमा सम्पन्न आदिवासी जनजाति समुदायमा सञ्चार माध्यमहरु सञ्चालन गर्ने क्षमता भएपनि व्यावसायिक क्षमता अभावका कारणले सञ्चार माध्यमहरुमा लगानी गर्न इच्छुक देखिदैनन् । व्यावसायमा लगानी गर्नेले प्रतिफल खोज्नु स्वभाविक भएपनि सञ्चार माध्यम जस्तो मूनाफा रहित सामाजिक सेवाको अभियानमा त्यस्ता व्यक्तिहरुलाई आवद्ध गराउन प्रोत्साहन र हौसला आवश्यक छ ।  

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को सातौं राष्ट्रिय महाधिवेशनको स्मारिकमा प्रकाशित लेख