कोभिड–१९ ले शिथिल पारेको विश्व अर्थतन्त्र र नेपाल

कोभिड–१९ ले शिथिल पारेको विश्व अर्थतन्त्र र नेपाल

के.बी. बस्नेत

विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण लाखौं व्यक्तिको मृत्यु भएको छ भने लाखौं संक्रमित भई उपचारको अवस्थामा छन् । आज विश्वले एकैपटक स्वास्थ्य र आर्थिक संकट बेहोर्नुपरेको कारण गरिबी, बेरोजगारी र आय असमानता बढ्ने अनुमान छ ।
कोभिड–१९ रोगको संक्रमणबाट हुन सक्ने जोखिमलाई नियन्त्रण गर्न गरिएको बन्दाबन्दीपछि बैंक तथा वित्तीय संस्थाहरूमा कर्जा लगानी अत्यन्त न्यून भएका कारण निक्षेपमा क्रमशः वृद्धि हुँदै गइरहेको छ । फलतः वित्तीय बजारमा अधिक तरलताको अवस्था सिर्जना भएको छ । कर्जा प्रभावकारी मात्रा बढ्न नसक्दा ब्याज आम्दानीमा उल्लेख्य मात्रामा कमी आउने देखिन्छ भने निक्षेप सङ्ककलन निरन्तर रूपले बढ्दै गई बैंकिङ क्षेत्रमा अत्यधिक तरलताको अवस्था लामो समयसम्म रहिरहँदा र अर्थतन्त्रमा नयाँ लगानीका अवसरहरू थप हुन नसक्दाको अवस्थामा वित्तीय संस्थाहरूको सञ्चालन मुनाफामा समेत असर पर्ने कुरा निश्चित छ ।
आज विश्वमा अर्थतन्त्र सन् १९३० को दशकको महामन्दीपछिको ठूलो संकुचनमा गएको छ । यति मात्र होइन, कोभिड–१९ को संक्रमणपछि यसको नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी रूपमा अवलम्बन गरिएको उपायहरूबाट उत्पादनदेखि आपूर्तिसम्मका श्रृङ्खला अवरुद्ध भई विश्व अर्थतन्त्र संकुचनमा गएको छ । अन्तर्राष्ट्रिय मुद्राकोषले जुन २०२० मा अद्यावधिक गरेको वल्र्ड इकोनोमिक आउट लुकअनुसार सन् २०२० मा विश्व अर्थतन्त्र ४.९ प्रतिशतले संकुचन हुने प्रक्षेपण गरेको थियो ।
विकसित मुलुकहरूको अर्थतन्त्र सन् २०१९ मा १.७ प्रतिशतले विस्तार भएकोमा सन् २०२० मा ८ प्रतिशतले संकुचन हुने अन्तर्राष्ट्रिय मुुद्राकोषको प्रक्षेपण छ । उदीयमान तथा विकासशील अर्थतन्त्र सन् २०१९ मा ३.७ प्रतिशतले वृद्धि भएकोमा सन् २०२० मा ३ प्रतिशतले संकुचन हुने र चीनको अर्थतन्त्र १ प्रतिशतले बढ्ने प्रक्षेपण छ । नेपालको आर्थिक वृद्धि भने १ प्रतिशतमा सीमित हुने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण छ
कोभिड–१९ का कारण समष्टिगत मार्गमा संकुचन आउनुका साथै पेट्रोलियम पदार्थको मूल्यमा समेत गिरावट आएकाले मुद्रास्फीति केही न्यून रहेको छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार विकसित देशहरूमा सन् २०१९ मा मुद्रास्फीति ५ प्रतिशत थियो भने सन् २०२० मा ४.४ प्रतिशत हुनेछ ।
विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष, एसियाली विकास बैंकलगायतका संस्थाहरूले कोभिड–१९ रोगको महामारीका कारण विश्व आर्थिक मन्दीतर्फ उन्मुख भएको जनाएका छन् । सन् २०२० मा विश्व अर्थतन्त्र संकुचित हुने अन्तर्राष्ट्रिय मुद्राकोषको प्रक्षेपण छ । किनभने विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको जोखिमका कारण गरिको बन्दाबन्दीले उत्पादन, सेवा क्षेत्र आदिमा ह्रास आएको छ ।
विश्व अर्थतन्त्रमा देखिएका चुनौतीहरूको सामना गर्न अधिकांश मुलुकले विस्तारकारी मौद्रिक एवम् वित्त नीतिहरू अवलम्बन गरेका छन् । कोभिड–१९ सङ्कटबाट सिर्जित अनिश्चितताका बाबजुद धेरै मुलुकले आर्थिक क्रियाकलाप सहज बनाउन बन्दाबन्दीलगायतका व्यवस्थाहरू क्रमशः खुकुलो बनाउँदै लगेका छन् ।
नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिका अनुसार कोभिड–१९ ले अनपेक्षित चुनौती थपेको छ । नेपालको अर्थतन्त्रमा लगातार तीन वर्ष उच्च आर्थिक वृद्धिपछि आर्थिक वर्ष २०७६-७७ मा प्रभावित क्षेत्रको कर्जा व्यवस्थापन र नेपाल राष्ट्र बैंकको पहलमा सहजीकरण गर्नुपर्ने र वित्तीय साधनहरूलाई उध्यमशीलता विकास, उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्नेतर्फ प्रोत्साहित गर्नुपर्ने भएको छ ।
कोभिड–१९ का कारण कर्जाको प्रभावकारी माग बढ्न नसक्दा ब्याज आम्दानीमा उल्लेख्य मात्रामा गिरावट आउने देखिन्छ भने निक्षेप सङ्कलन निरन्तर बढ्दै गई बैंकिङ क्षेत्रमा अत्यधिक तरलताको अवस्था लामो समयसम्म रहिरहँदा र अर्थतन्त्रमा नयाँ लगानीका अवसरहरू थप हुन सक्दाको अवस्थामा वित्तीय संस्थाहरूको सञ्चालन मुनाफामा समेत प्रभाव पर्न जाने निश्चित छ ।
विश्वभर फैलिरहेको कोरोना भाइरसका कारण उत्पन्न स्वास्थ्य सङ्कटले सिर्जना गर्ने आर्थिक सङ्कट नेपालका लागि पनि अर्थतन्त्रको विस्तार र व्यवस्थापनका लागि थप चुनौती बनेको छ । आन्तरिक आर्थिक क्रियाकलापमा देखिएका शिथिलता, आपूर्ति श्रृङ्खलामा परेको असहजताका कारण वित्तीय बजारको सन्तुलन प्रभावित हुने सम्भावना छ ।
नेपालमा कोरोनाको महामारीपछि आउने बजेट उद्योगमैत्री, व्यवसायमैत्री र किसानमैत्री हुने आमजनताको अपेक्षा थियो, तर यस्तो हुन सकेन ।
नेकपा अध्यक्षको नेतृत्वको सरकार आफ्नै कार्यशैलीका कारण चौतर्फी घेराबन्दीमा परेको छ । यो सरकारबाट जनताले विश्वास र समृद्धिको अपेक्षा गरेका थिए । परन्तु आज जनअपेक्षाविपरीतको व्यवहार सहन परिरहको छ ।
चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.८ प्रतिशत रहने केन्द्रीय तथ्याङ्क विभागको प्रारम्भिक अनुमान भए पनि विश्व बैंकको प्रक्षेपणअनुसार यो ०.६ प्रतिशतमा खुम्चिनेछ । यसबाट यहाँको आर्थिक विकासमा नकारात्मक प्रभाव पर्नेछ ।
राष्ट्रिय याजना आयोगले गरेको अध्ययनअनुसार कोरोनाले शिथिल पारेको अर्थतन्त्रको सुधार गर्न ६ खर्ब ६५ अर्ब रुपैयाँ आवश्यक पर्नेछ । कोरोनाका कारण नेपाली अर्थतन्त्रमा परेको प्रभाव अध्ययनबाट उक्त आयोगले यो निष्कर्ष निकालेको हो ।
वस्तुतः गत आर्थिक वर्षको पछिल्लो चार महिना लगभग बन्दाबन्दीमै अर्थतन्त्र गुज्रियो । चैत ११ गते सुरु भएको बन्दाबन्दी असारमा केही खुकुलो भए पनि नयाँ आर्थिक वर्षको पहिलो दुई महिनासम्म निषेधाज्ञमै बित्यो र अर्थतन्त्र चलायमान हुन सकेन ।
विगत चार–पाँच वर्षयता केही सुधार हुन थालेका आधारहरू धराशायी बने । सबैभन्दा बढी पर्यटन अर्थतन्त्रमा प्रभाव प-यो । अरू क्षेत्रमा विस्तारै सुधार भए पनि बाह्य पर्यटक आगमन लगभग ठप्प हुँदा यहाँको अर्थतन्त्रमा नकारात्मक प्रभाव प-यो । तर, वर्तमान समयमा यहाँको मुद्रस्फीति बढेको र निर्यात घटेकाले अर्थतन्त्रमा केही सुधार हुने लक्ष्यण देखिएको छ ।

कारोबार अनलाईनबाट साभार ................