कोरोनाले खोस्दै जीवन र जीविका

कोरोनाले खोस्दै जीवन र जीविका

बाबुकाजी कार्की

                           कोरोनाको दोस्रो लहरको सुरुवातीसँगै मानिसको जीवन र जीवका दुवै पुनः खोसिने जोखिममा परेको छ । पहिलो चरणको कोरोना केही मत्थर भएर जनजीवन सामान्य हुँदै गएको अवस्थामा एक्कासि नयाँ रूपको डबल म्युटेन्ट कोरोना देखा परेकाले थप त्रसित बनाएको छ । कोभिड–१९ बाट थलिएका व्यवसायहरू तंग्रिन नपाउँदै नयाँ प्रजातिको कोरोना संक्रमणबाट थप अस्तव्यस्त बनाउने पक्का देखिन्छ । पहिलो चरणको कोरोनाका लागि विकास गरिएको खोपले नयाँ प्रजातिमा रूपान्तरित कोरोनालाई नियन्त्रण गर्ने÷नगर्नेबारे विश्व स्वास्थ्य संगठन नै निष्कर्षमा पुग्न सकेको छैन । यस्तो अन्योलताको बीच तीव्र गतिमा कोरोना संक्रमण फैलिनुले भविष्यमा भयावह अवस्था नआउला भन्न सकिन्न । विगतमा लामो समयको कोरोना लकडाउनका कारण कैयौंको रोजगारी गुमेको वा न्यून वेतनमा काम गर्नुपरेको जगजाहेर नै छ । दोस्रो लकडाउन भएमा आम जनजीवनमा नराम्रोसँग असर पर्ने निश्चित छ । कोरोना कहरले गरिबी बढाएको छ । अब मानिसलाई रोगले भन्दा पनि भोकले पिरोल्ने अवस्था नआउला भन्न सकिन्न । लकडाउनको सट्टामा अन्य विकल्प खोज्नुपर्ने विज्ञ र भुक्तभोगीको सुझाव र माग सार्वजनिक हुँदै छन् ।
                           बुद्धिमान देखेर र मूर्ख परेर चेत्छ भनेझैं हामीले पनि अरूको अवस्थाबाट सिकेर बेलैमा कोरोनाविरुद्धको लडाइँ मार्गचित्र बनाएर नै रोकथामको उपाय अवलम्बन गर्न चुक्नु हुँदैन । रोकथामका अन्य उपायहरू नअपनाई विगतको जस्तो अन्धाधुन्द लकडाउन मात्रै गर्नेतर्फ लागेमा कतिपय विपन्न वर्गका श्रमजीवीहरूको जीविका नै धरापमा पर्नेतर्फ सरकारले हेक्का पु¥याउनुपर्ने हुन्छ । रोकथामको अन्तिम विकल्पका रूपमा मात्र लकडाउनको उपयोग गरिनुपर्छ । मानिसको जमघट हुने राष्ट्रिय÷अन्तर्राष्ट्रिय सभा, समारोह, सम्मेलन, पर्व, उत्सव स्थगित गरेर सामाजिक दूरी कायम गर्नेतर्फ सबैले हेक्का राख्नुपर्छ । सरकारी निकायबाट आदेश, निर्देश र अपिलका कागजी झटारोले मात्रै भविष्यमा आइपर्ने विपत्ति टर्नेछैन । कोरोनाविरुद्धको भाषण र आश्वासनभन्दा एक्सन अहिलेको आवश्यकता हो । कोरोना प्रतिरोधका लागि सरकारले कोरोना संक्रमणपूर्व र संक्रमणपश्चात् गरिनुपर्ने कार्ययोजनाको मार्गचित्र नै बनाएर प्रतिरोधमा उत्रिन विलम्ब गरिनु हुन्न ।
                            वैदेशिक रोजगारीमा रहेका करिब ५० लाख नेपालीले पठाएको रेमिट्यान्सले राष्ट्रिय अर्थतन्त्रमा २५ प्रतिशत योगदान पु¥याएको छ । तर, विश्वभर कोरोना कहरका कारण बेरोजगारी बढ्दो छ । नेपालीहरू पनि रोजगारी गुमाएर स्वदेश फर्किने क्रम बढ्दो छ । यस विषम परिस्थतिमा रेमिट्यान्सको आकार न्यून हुँदै जानु स्वाभाविकै हो । रोजगारी गुमाएर स्वदेश फर्केका युवकका लागि सरकारले देशभित्रै रोजगारीको अवसर दिने खासै प्रभावकारी कार्यक्रम ल्याउन सकेको छैन् । कुल गार्हस्थ्य उत्पादनमा जम्मा ३२ प्रतिशत योगदान रहेको कृषि क्षेत्रमा आधुनिकीकरण हुन सकेको छैन । पर्यटन व्यवसाय कोरोनाबाट तंग्रिन लाग्दै गर्दा फेरि धराशायी नहोला भन्न सकिन्न । अन्य उद्योगधन्दाहरूले पनि रोजगारी सिर्जनामा उल्लेख्य प्रगति गर्ने छाँट देखिँदैन । विगत वर्षहरूको तुलनामा बेरोजगारी संख्या क्रमशः बढ्दो क्रममा छ । सन् २००८ मा २.८ प्रतिशत रहेको बेरोजगारी संख्या बढेर अहिले ११.४ प्रतिशत पुगेको छ । कोभिड–१९ का कारण सन् २०२० मा नेपालमा ७३.१ प्रतिशतले रोजगारी गुमाएको अनुमान गरिएको छ । सबैभन्दा बढी निर्माण क्षेत्रमा २१.७, खुद्रा व्यपारमा १३.५, होटल–रेस्टुराँमा १२.८, कृषिमा १२.७, अन्य सेवामा ७.९ र कपडाजन्य उत्पादनमा ४.५ प्रतिशतले रोजगारी गुमेको अनुमान छ । दक्षिण एसियाली मुलुकमा बढी रोजगारी गुमाउनेमा क्रमशः पाकिस्तान ७७.४, भारत ७७.३, बङ्गलादेश ७५.९ र श्रीलंकामा सबैभन्दा कम ६३.९ प्रतिशतले मात्र रोजगारी गुमाउने आकलन गरिएको छ ।
                        दोस्रो चरणमा पनि कोरोना संक्रमणको ग्राफ दिनानुदिन ज्यामितीय हिसाबले उकालो लाग्दो छ । अहिले कोरोनाको संक्रमण विश्वका धनी र साधनस्रोतसम्पन्न बेलायतलगायतका देशहरू र पछिल्लो समयमा भारतमा पनि तीव्र गतिमा फैलिएको छ । भारतमा फैलिएको असर नेपालमा प्रत्यक्ष पर्ने विगतको अनुभवलाई नजरअन्दाज गरिनु अक्षम्य भूल हुन सक्छ । अहिलेसम्म खासै असर नदेखिनुमा रोगको परीक्षण सुविधा र प्रक्रियामा प्रभावकारिता नहुनु वा यात्रु प्रवाहमा कमी भएकाले हुन सक्छ । तर, भूसको आगोजस्तै भित्रभित्रै भाइरस समुदायमा सल्केको रहेछ भने निश्चय नै महामारीको रूप नलेला भन्न सकिन्न ।
                              नेपालीहरू वैदेशिक रोजगारीमा गएका देशहरूमा कोरोना फैलिएमा त्यसको प्रत्यक्ष असर नेपालले बेहोर्नुपर्ने हुन्छ । रोजगारीलगायतका लागि बिदेसिएका नागरिक स्वदेश फर्किने लहर बिस्तारै बढ्दै छ । यसरी फर्किएका नागरिकलाई निश्चित अवधिका लागि क्वारेन्टाइनमा राख्ने पर्याप्त संरचना पुनव्र्यवस्था गर्न विलम्ब गरिनु हुन्न । अहिले पनि नेपाल प्रवेशका नाकाहरूमा उच्च सतर्कताको अभाव, भारतसँगको खुला आवागमनका कारण पनि भाइरसको जोखिम उत्तिकै छ । यसर्थ कोरोना जोखिमको सामना गर्न विमानस्थल र सीमा नाकामा उच्च सतर्कता अपनाउने, कोरोना संक्रमित देशहरूमा गरिने आवतजावत केही समयका लागि स्थगित वा उच्च सतर्कताका साथ गर्ने, अस्पतालहरूलाई साधनस्रोत सम्पन्न पारेर तयारी अवस्थामा राख्ने, ठूला सभा–सम्मेलन, भोजभतेर नगर्ने, रोगप्रतिरोध क्षमता कम भएका बालबालिका, वृद्धवृद्धा, उपचाररत बिरामीहरूको रेखदेखमा विशेष चनाखो रहने, सचेतनामूलक कार्यक्रमहरूलाई सहज र व्यापक बनाउने जस्ता काम राज्य र सबै नागरिकको प्रमुख दायित्वभित्र पर्छ । मानव जमघट धेरै हुने विद्यालय, कलेज, ठूला उद्योगधन्दा, सिनेमाघर, सार्वजनिक यातायात, सपिङ मल, व्यस्त गल्ली आदि परिस्थितिको गाम्भीर्यता सूक्ष्म आकलन गरेर अहिलेलाई बन्द गर्नु स्वागतयोग्य पहल ठहर्नेछ । संक्रमणबाट बच्न सर्वसाधारणले अनिवार्य रूपमा प्रयोग गर्नुपर्ने मास्कको सहज उपलब्धता, भाइरस परीक्षण कीट तथा स्वास्थ्य संस्थाको पर्याप्त सुदृढीकरण व्यवस्थापनमा सरकार चनाखो रहनुपर्छ ।
कोरोनाको संक्रमणबाट जोगिन प्रत्येक नागरिकले आ–आफ्नो तर्फबाट बेलैमा सजगता अपनाउनुपर्छ । सरकारको मात्र भर र गाली गरेर पूर्वतयारीमा बेवास्ता ग¥यौं भने हामी सबैका लागि गम्भीर आत्मघाति भूल नहोला भन्न सकिन्न । प्रत्येक घरघरमा कोरोनाविरुद्धको तयारी आवश्यक हुन्छ । घरको सरसफाइमा प्रयोग हुने डिटोल, साबुन, दिनहुँ प्रयोग हुने खाद्यान्न दुई–तीन महिनालाई पुग्ने गरी राख्नुपर्छ । रुघाखोकीको औषधि, ज्वरो नाप्ने थर्मामिटर आदि स्वास्थ्यका सामान्य सामग्रीको पनि बेलैमा जोहो गर्नु राम्रो हो । बालबच्चा र वृद्धवृद्धाको राम्रो हेरचाह, मासुजन्य वस्तुको सेवन नगर्ने, घरपालुवा जनावरबाट टाढै बस्ने तथा स्वास्थ्यकर्मीको सुझावअनुसार दिनचर्या बिताउनु श्रेयस्कर हुन्छ । कोरोना भाइरसको समस्या विश्वव्यापी भएकाले आत्तिएर मानसिक तनावमा बस्नुभन्दा पनि सतर्कता एवं सयंमतापूर्वक सामना गर्ने उच्च मनोबलका साथ दिनचर्या बिताउनु बुद्धिमानी हुन्छ ।
कोरोनाको उपचारका साथसाथै रोकथामका उपायहरू अवलम्बन गर्न सरकार र सरोकार पक्षले कुनै कसर बाँकी राख्नु हुन्न । अहिलेसम्मको अध्ययन र अनुभवबाट कोरोना संक्रमितमध्ये २ देखि ३ प्रतिशतको मात्र मृत्यु हुने देखिए तापनि ढुक्क हुने गरी निश्चित उपचार विधि पत्ता लागिसकेको छैन । कोरोनाविरुद्धको खोपको प्रभावकारितामा विविधता देखिन्छ । पछिल्ला अध्ययन र अनुभवले उपचारभन्दा पनि रोकथामका उपायहरू प्रभावकारी रूपमा अवलम्बन गर्नु बुद्धिमानी ठहर्छ । रोगको लक्षण र सर्ने माध्यम तथा बच्ने उपायहरूबारे व्यापक जनचेतनाको खाँचो टड्कारो देखिन्छ । मानिसले आफ्नो बानीवेहोरा र आहारविहार स्वस्थकर बनाएमा कोरोना भाइरस संक्रमणबाट बच्न सकिने स्वास्थ्यकर्मीको सुझावलाई आत्मसात् गर्नेतर्फ हेक्का राख्नु बुद्धिमानी हुन्छ । हेलचेक्र्याइँ र लापरवाहीले भविष्यमा ठूलो मूल्य चुकाउनु नपर्ला भन्न सकिन्न । कोरोना हाहाकारको अतिरञ्जित प्रचारप्रसारले सर्वत्र त्राहिमाम छाएको छ । अनुशासित, स्वस्थकर बानीबेहोरा र दृढ आत्मबल तथा सकारात्मक सोचबाट कोरोनालाई परास्त गर्न सकिने अनुभवसिद्ध तथ्य हो । विश्वभर महामारीका रूपमा सल्किएको अदृश्य शत्रु कोरोनासँग लड्न सरकार, सरोकार तथा मानव समुदायबीच सचेतना, सतर्कता, संवेदनशीलता, संयमता, सद्भाव, सहयोग र सहकार्य (सात स) को खाँचो देखिन्छ ।