नेपाल राष्ट्रबैंक र वाणिज्य बैंकहरुको संयुक्त आयोजनामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
वीरगन्ज, १३ चैत्र । नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालय र वीरगञ्जका ‘क’ बर्गका बैंकहरुसंगको सहयकार्यमा आयोजित ग्लोबल मनी वीक २०२२ अन्तर्गतको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । राष्ट्र बैंक र वाणिज्य बैंकहरुको संयुक्त आयोजना तथा पोखरिया नगरपालिकाको समन्वयमा ग्लोबल मनी वीक २०२२ अन्तर्गतको अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमम शनिबार सम्पन्न भएको हो ।
नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजन देव भट्टराईको सभापतित्व र पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण प्रसाद रौनियारज्यूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेन्चुरी कर्मसियल बैंक तथा प्राइम बैंक वीरगञ्ज शाखाका प्रमुखहरु शिवनाथ प्रसाद साह र मेघनाथ सोनारले रेमिटेन्सको महत्व, पठाउने माध्यम तथा फाइदाहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
उहाँहरुले रेमिटेन्स पठाउँदा वैद्ध माध्यबाट पठाउन आग्रह गर्दै हुण्डी जस्ता अवैधानिक माध्यमबाट पठाउदा ठगीमा परी सम्पत्तिको नास हुने र दण्ड तथा सजायको भागिदार समेत बन्नुपर्ने बताउनुभयो । रेमिटेन्सबाट प्राप्त आयलाई शिक्षा, पूर्वाधार व्यवसाय तथा उत्पादन र आम्दानी बढाउने क्षेत्रमा लगानीगर्नु पर्ने धारण व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका निर्देशक राजन देव भट्टराईले हालको वित्तीय साक्षरताको अवस्था र विद्युतिय बैकिङको विकाससंगै बढेको अपराध र जोखिमको बारेमा जानकारी गराउनुभयो ।
उहाँले नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बैकिङ प्रणालीकै प्रयोग गर्न आग्रह गर्नुभयो । पोखरिया नगरपालिकाका नगर प्रमुख दीपनारायण प्रसाद रौनियारले स्थानीय तहमा बैंक वित्तीय संस्थाको उपस्थिति र पहुँच बढेकोले बैंक वित्तीय संस्थाहरुले प्रदान गर्ने सुविधाहरुको सदुपयोग गर्दै सबैले दैनिक वित्तीय कारोबार र रेमिटेन्स पठाउने क्रममा बैकिङ प्रणालिबाट गर्न सुझाव दिनुभयो ।
उहाँले बैकिङ प्रणालिको प्रयोग गरी आफूपनि सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्नुपर्नेमा जोड दिनुभयो । नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका उपनिर्देशक प्रियंका बस्न्यातले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो । कार्यक्रममा नेपाल राष्ट्र बैंक वीरगञ्ज कार्यालयका उप–निर्देशक सुधा श्रेष्ठ, का.मु उप–निर्देशक कृष्ण कुमार श्रेष्ठ, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गका इजाजत पत्र प्राप्त संस्थाहरुको प्रतिनिधिहरु र पोखरिया नगरपालिकाको विभिन्न १० वडाहरुका स्थानीयवासीहरुको उपस्थिति रहेको सहायक निर्देशक प्रदिप बानियाँले जानकारी दिनुभयो ।