प्रहरीको ज्यादती विरुद्ध ट्रान्सपोर्ट व्यावसायीले बुझाए सिडिओलाई तालाचाबी 

प्रहरीको ज्यादती विरुद्ध ट्रान्सपोर्ट व्यावसायीले बुझाए सिडिओलाई तालाचाबी 

वीरगन्ज, ५ असार । वीरगन्जका ट्रान्सपोर्ट व्यावसायीहरुले सिडिओलाई तालाचाबी बुझाएका छन् । व्यावसायमा प्रहरीले ज्यादती गरेको भन्दै ट्रान्सपोर्ट व्यावसायीहरुले पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई मंगलबार तालाचाबी बुझाएका हुन् ।

चेकजाँचको नाममा प्रहरीले अनावश्यक दुःख दिने गरेको र बिलविजक समेत राम्रोसँग चेकजाँच नगरी मालवाहक सवारी साधन नियन्त्रणमा लिदै राजस्व अनुसन्धान कार्यालयमा पठाउने गरेको व्यावसायीको गुनासो छ ।

उनीहरुले सुरक्षाकर्मीहरुको ज्यादतीको बारेमा प्रमुख जिल्ला अधिकारीलाई यसअघि ज्ञापनपत्र बुझाएपनि त्यसको कुनै सुनुवाई नभएपछि मंगलबार प्रमुख जिल्ला अधिकारी रेग्मीलाई भेटेर तालाचाबी बुझाएको एक ट्रान्सपोर्ट व्यावसायीले बताए ।

ट्रान्सपोर्ट एशोसिएशन वीरगन्जका सचिव नवराज अधिकारीले पछिल्लो समय वीरगञ्जमा सञ्चालित ६ दर्जनभन्दा पनि बढी साना ठूला ढुवानी व्यवसायीलाई स्थानीय प्रहरी र राजश्व विभागले अनावश्यक दिनथालेपछि समस्या समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदा समेत कुनै चासो नलिएपछि मंगलबारदेखि सबै ढुवानी बन्द गरेर तालाचाबी प्रमुख जिल्ला अधिकारीलाई बुझाएको बताउनुभयो ।  

कानूनसम्मत तरिकाले आवश्यक पर्ने सम्पूर्ण कागजातसहित समानहरुको ढुवानी गर्दा पनि प्रहरीले ट्रक नियन्त्रणमा लिएर बिलबिजक भन्दा बढी सामान भेटिएको भन्दै अनुसन्धानका लागि राजश्व तथा भन्सार कार्यालय पठाएर हैरान पर्ने गरेकोले समस्या समाधानका लागि असार १ गते चारदिनको समय सीमा दिएर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदा पनि अहिलेसम्म कुनै सुनुवाई नभएपछि आजदेखि व्यावसाय बन्द गरेर तालाचाबी बुझाएको अधिकारी गुनासो गर्नुभयो ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रक राजश्व अनुसन्धान कार्यालयबाट छुटाउन लाग्ने समयका कारण ढुवानी व्यवसायीलाई दैनिक हजारौं रुपैयाँ घाटा व्यहोर्नुपर्ने अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार राजश्व अनुसन्धानबाट हुने माल सामानको चेकजाँच, भौतिक परिक्षण, क्रेता बिक्रेताको खातापाता, स्टक, कर तिरेको नतिरेको बारे अनुसन्धान तथा उद्योग र पसल निरीक्षणसमेत माल सामान सहितको ट्रक समातेको बखतमा मात्र हुने गरेको छ । बिलबिजक भएका सामानसमेत राजस्व अनुसन्धानमा चेकजाँच गराउँदा १० देखि १२ दिनसम्म लाग्ने गर्छ ।

चारदिनको समय दिएर समस्या समधान गर्न आग्रह गर्दा समेन कुनै पहल नगरेपछि बन्द गर्नु परेको ट्रान्सपोर्ट व्यावसायीहरुको भनाई छ । पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पनि व्यावसायीहरुले आएर समस्या भयो भनेर चाबी ल्याएर बुझाएको बताउनुभयो । उहाँले व्यावसायीहरुको समस्याको बारेमा गृहमन्त्रालयमा जानकारी गराईसकेको पनि बताउनुभयो ।