‘जाभा’ मोटरसाईकलको शो रुम वीरगन्जमा खुल्यो
वीरगन्ज, २१ असोज । दुईपांग्रे सवारी साधानको पारखीहरुको लागि लोकप्रिय मोटरसाईकल ‘जाभा’ को शो रुम वीरगन्जमा खुलेको छ । तीनजना युवा उद्यमीहरुको लगानीमा वीरगन्जको प्रतिमा चोक नजिकै शो रुम संचालनमा आएको हो ।
युवा उद्यमीहरुका अभिभावकले शो रुमको उदघाटन गरेका छन् । नेपालको लागि आधिकारिक विक्रेता रहेको अग्नी मोटोइन्क प्रालिले आयात गरेको जाभा मोटरको वीरगन्जमा एस आर मोटोकर्पले विक्री शुरु गरेको हो ।
वीरगन्जका युवा उद्यमी रविन्द्र श्रेष्ठ, राहुल रौनियार र रवि क्यालको ९० लाख लगानीमा शो रुम संचालनमा ल्याएको हो । ३ वटा मोडेलमा रहेको जाभा मोटर साईकलको दशैंमा ३ वटा बिहीबार नै विक्री भएको संचालक रविन्द्र श्रेष्ठले जानकारी दिनुभयो । युरोपियन कम्पनीको भारतमा उत्पादित जाभा मोटरसाईकल धेरै युवाहरुको रोजाई बनेको अर्का संचालक रवि क्यालले बताउनुभयो ।
अझै ३ वटा बुकिङ गरेको अर्का संचालक राहुल रौनियारले बताउनुभयो । जाभा फोर्टी टु, जाभा क्लासिक र जाभा पेराक तीनवटा मोडेलमा पाईने मोटरसाईकलको सबैको सिंगल र डबल एबीएस रहेको छ । जाभा पेराक ३५० सीसी क्षमताको रहेको छ । अन्य दुईवटा मोडेल भने २९३ सीसीका रहेका छन् ।
जाभा फोर्टी टु सिंगल एबीएसको विक्री मूल्य ६ लाख २० हजार रहेको छ भने डबल एबीएसको ६ लाख ४८ हजार बिक्री मूल्य रहेको छ । त्यस्तै ३५० सीसीको जाभा पेराकको ७ लाख रुपैंया पर्ने संचालक श्रेष्ठले बताउनुभयो ।