होटल व्यावसाय संचालन गर्ने वतावरण बनाउन माग
वीरगन्ज, १२ असार । होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जले कोरोना संक्रमणको महामारी र निषेधाज्ञाका कारण विगत २ महिना देखि पूर्ण रुपमा बन्द रहेका वीरगन्जका होटलहरु संचालन गर्ने वातावरण बनाउन माग गरेका छन् ।
संघको टोलीले शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापपत्र बुझाउदै कोरोना संक्रमण महामारी नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञामा बन्द गरिएको होटलहरु अहिले निषेधाज्ञा खुकुलो भएर विस्तारै विभिन्न क्षेत्रहरु खुला हुदै गएकोले बन्द रहेका होटल, लज, रेष्टुरेन्ट र पार्टी प्यालेसहरु पनि सन्चालन गर्ने वातावरण मिलाईदिन व्यवसायीहरुले माग गरेका हुन् ।
पर्सामा कोरोना संक्रमण दर र संक्रमितको संख्या कम हुदै गएपछि स्थानीय प्रशासनले असार ७ गते देखि निषेधाज्ञा खुकुलो पारेर पसल बजार खोल्न दिएको छ । नीजी सवारी सधानहरु पनि जोर बिजोर गरेर सन्चालन गर्न दिइएको छ । सरकारले आन्तरिक र अन्र्तराष्ट्रिय उडान सेवा पनि सुचारु गर्ने निर्णय गरिसकेको छ ।
निजी सवारी साधनहरु खुला गरेको अवस्थामा विस्तारै ग्राहकहरु पनि आउन थालेकोले कोरोना संक्रमणमा प्रभावित होटल र पर्यटन व्यवसाय क्षेत्रलाई जीवित राख्नका लागि पनि विस्तारै होटल तथा पर्यटन क्षेत्र खुला गर्नुपर्ने उनीहरुको माग छ । जिल्ला प्रशासन कार्यालय पर्सामा संघका अध्यक्ष हरि पन्त र महासचिव माधव बस्नेतले प्रमुख जिल्ला अधिकारी घिमिरेलाइ ज्ञापन पत्र बुझाउनु भएको हो ।
ज्ञापनपत्र बुझदै प्रमुख जिल्ला अधिकारी घिमिरेले आवासीय होटलहरुमा जनस्वास्वास्थ्यका मापदण्ड पालना गरेर संचालन गर्न दिन सकिने भएपनि नेपाल सरकारको मन्त्री परिषदको निर्णयबाट नै बन्द गरिएकोले मन्त्री परिषदबाट नै खुला गर्न पहल हुनुपर्ने बताउनुभयो । तथापी यस विषयमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डिसिसिएमसीको बैठकमा छलफल गरि आफ्नो अधिकारक्षेत्रबाट गर्न सक्ने आवश्यक निर्णयहरु गर्ने आश्वासन दिनु भएको संघका अध्यक्ष पन्तले जानकारी दिनुभयो ।
ज्ञापन पत्र बुझाउन गएको टोलीमा अध्यक्ष पन्त, बरिष्ठ उपाध्यक्ष रचिन्द्र थापा, महासचिव माधव बस्नेत, सदस्यहरु शेखर चौधरी लगायत वीरगन्जका होटल, लज, रेष्टुरेन्ट र पार्टी प्यालेसका सन्चालकहरुको सहभागीता रहेको थियो ।