एकदिने युवा महिला उद्यमी सम्मेलन सम्पन्न, सम्मेलनबाट नयाँ महिला उद्यमीहरुमा हौसला बढ्ने अपेक्षा
वीरगन्ज, ६ कार्तिक । वीरगन्जमा शुक्रबार एकदिने युवा महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ । सम्मेलनमा विभिन्न सफल उद्यमीका अनुभव तथा संघर्ष, स्टार्टअप उद्यमीका अनुभव, उत्पादन, बजार पहिचान, प्रवद्र्धन, प्रोत्साहनका उपाय, महिला उद्यमका समस्या, चुनौती र अवसर लगायत विविध पक्षमा बेग्लाबेग्लै सत्रमा छलफल भएका थिए ।
छलफलबाट सहभागीहरुले धेरै विषयमा जानकारी प्राप्त गरेको र यसले महिला उद्यमीहरुलाई हौसला बढ्ने अपेक्षा गरिएको आयोजकले जनाएकोछ। कार्यक्रमको उदघाटन सत्रमा बोल्दै खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकाश शर्माले महिला उद्यमीलाई राज्यले प्रोत्साहन गर्नु राज्यको दायित्व भएको बताउनुभयो ।
प्रदेश नं २ सरकारले विगतमा महिला उद्यमीलाई कुनै सहयोग नगरेको बताउँदै उहाँले अब त्यस्तो हुन नदिने प्रतिबद्धता जनाउनुभयो । युवा महिला उद्यमी सम्मेलनको उदघाटन गर्दै मन्त्री शर्माले ‘बेटी पढाउ, बेटी बचाउ भनेर साईकल बाँड्न करोडौं खर्च गरेपनि महिला उद्यमीका लागि भने रकम नै नछुट्याएको बताउदै महिला उद्यमीहरुले पनि सरकारलाई घचघच्याउनुपर्ने बताउनुभयो ।
प्रदेश २ का सबै विद्यालय र मिडिया हाउसलाई निःशुल्क सोलार जडान गर्ने बताउँदै आएका मन्त्री शर्माले महिला उद्यमीले सोलार जडान गर्न चाहे विशेष सहयोग गर्ने घोषणा गर्नुभयो । नेपाली युवा उद्यमी मञ्च वीरगञ्ज र नेपाल लेडिज सर्कलले संयुक्त रुपमा आयोजना वीरगञ्जमा हिजो युवा महिला उद्यमी सम्मेलन सम्पन्न भएको छ ।
कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ताले नीति निर्माताहरुले महिला उद्यमशीलताको महत्व बुझ्नुपर्ने बताउनुभयो । उद्यमी भईसकेका महिलालाई प्रोत्साहन गर्न र उद्यमी बन्न चाहानेलाई उत्प्रेरित गर्न सम्मेलनको आयोजना गरिएको मञ्च वीरगञ्ज च्याप्टरका अध्यक्ष अनुप अग्रवालले बताउनुभयो ।
उद्यममा महिला सभागिता नबढी मुलुकको विकास संभव नभएको बताउनुभयो । उहाँले स–साना सोचलाई कार्यान्वयनमा ल्याएर महिला उद्यमी बनेको थुप्रै उदाहरण समाजमा रहेकोले त्यसबाट पाठ सिक्नुपर्नेमा जोड दिनुभयो । नेपाल युवा उद्यमी मञ्च वीरगन्जका अध्यक्ष अनुप अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा मञ्चका केन्द्रीय अध्यक्ष उदीप श्रेष्ठ, साहारा जोशी, डाक्टर सोनी महतो, रिमा साह, निरज खनाल लगायतले बोल्नु भएको थियो ।
यस्तै कार्यक्रममा ‘सी ईकोनोमी’ का बारेमा आयोजित छलफलमा सानो पाईलाका संस्थापक कञ्चन झा, लक्ष्मी बैंकको मझौला तथा साना उद्यमी व्यवस्थापक अर्चना थापा, घरेलु तथा साना उद्योग कार्यालयकी प्रमुख रिमा साह, अन्तरप्रेरणाका निर्देशक निरज खनाल र वीरगञ्ज पब्लिक कलेजका सञ्चालक डाक्टर दिपक शाक्य सहभागी भएका थिए ।
कार्यक्रममा सह आयोजक लेडीज सर्कल अफ नेपालको निर्वतमान अध्यक्ष रश्मी दास, वुमन्स क्रियसनकी अध्यक्ष नुतन सरावगी लगायतले धारणा राखे । इच्छ्याएको सोच र उद्यमशील मानसिकता बारे कारखानाका निर्देशक पवित्र बहादुर गौतमले सत्र चलाउनु भएको थियो । सम्मेलनमा खास्टोको फेसन सो र महिला उद्यमीले उत्पादन गरेको बस्तुको प्रदर्शनी समेत राखिएको थियो ।
नेपाली युवा उद्यमी मञ्च वीरगञ्जले शुक्रबार आयोजना गरेको ‘युवा महिला उद्यमी सम्मेलन’मा बोल्ने वक्ताहरुले सहजै कुनै काममा सफलता हात नलाग्ने बताए । काम गर्दा चुनौती आउने बताउँदै उनीहरुले त्यसको सामना गर्न सक्नुपर्ने बताए ।