वीमा प्राधिकरण र आर्थिक पत्रकारहरुसँगको अन्तरकृया सम्पन्न
वीरगन्ज, २२ भदौ । नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशले “आर्थिक पत्रकारसँग बीमा प्राधिकरण“ अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । स्थानीय होटल कुमु प्यालेसको हलमा आयोजित उक्त कार्यक्रममा वक्ताहरुले बीमाको महत्व र आवश्यकता बारेमा प्रकाश पारेका थिए ।
बीमा प्राधिकरण, मधेसका प्रमुख कुसुम शर्माको सभपतित्वमा आयोजना गरेको सो कार्यक्रममा बोल्दै सहभागीहरुले बीमाको बारेमा चेतनामूलक शिक्षाको अभाव भएको बताउदै सम्बन्धित निकायले यस तर्फ ध्यान दिनुपर्ने बताएका छन् ।
कार्यक्रमको प्रमुख अतिथि नेपाल पत्रकार महासघ, पर्सा शाखाका अध्यक्ष अनुप तिवारीले वीमा साक्षरता बढाउन आवश्यक रहेको बताउनुभयो । ट्रिब्यून न्युज अनलाईनका सम्पादक तथा आर्थिक पत्रकार संघका प्रतिनिधि निरज पिठाकोटे मगरले वीमा साक्षरताको पहुँच बढाउनु पर्ने र बढेको क्षेत्रमा पनि विकृतीहरु देखिएकोले यसको नियमन र नियन्त्रण प्रभावकारी हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बिमा प्राधिकरण मधेश प्रदेश कार्यालकी प्रमुख कुसुम शर्माले तथ्यांक प्रस्तुत गर्दै अन्य प्रदेशको तुलनामा मधेश प्रदेशमा बिमा साक्षरताको अवस्था कमजोर रहेको बताउनुभयो । कार्यक्रममा प्राधिकरण प्रादेशिक कार्यालयका सहायक निर्देशक अनिश तिमल्सेनाले हाल मधेश प्रदेशमा जीवन बिमाका १ सय २३ शाखा, ७१ उपशाखा रहेको र तीनमा ४ सय ६८ कर्मचारीले रोजगारी पाएको बताउनुभयो ।
त्यसैगरी, प्रदेशमा निर्जीवन बिमाका ९४ शाखा, २३ उपशाखा र तीनमा ४ सय ३ जनाले रोजगारी पाएको जानकारी दिनुभयो । मधेश प्रदेश भरीमा आव २०७९÷०८० मा २ लाख १५ हजार २ सय २६ निर्जीवन बिमा लेख जारी हुँदा २ अर्ब ४७ करोड १० लाख ७९ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको बताउनुभयो ।
सोही आवमा ५ लाख ७४ हजार ४ सय १२ वटा जिवन बिमा लेख जारी हुँदा १३ अर्ब १५ करोड ९६ लाख ९८ हजार रुपैयाँ बिमा शुल्क संकलन भएको बताउनुभयो ।
मधेश प्रदेश सरकारले यस वर्षको बजेटमा सरल र सहजरुपमा उन्नत जातको कृषि तथा पशुपन्छी बिमामा २० करोड बजेट विनियोजन, निजामती कर्मचारीका लागि १० लाख रुपैयाँको दुर्घटना बिमा र प्रत्येक नागरिकका लागि २ लाख रुपैयाँ बराबरको विपद् जोखिम बिमाको व्यवस्था गर्नु स्वागतयोग्य रहेको उहाँले बताउनुभयो ।