‘‘महात्मागान्धी सडक’ नामाकरणमा स्थानीयको विरोध
वीरगन्ज, १५ माघ । वीरगञ्ज महानगरपालिकाको वडा नम्बर १४ मा पर्ने लिङ्क रोडलाई महानगरपालिकाले ‘महात्मागान्धी रोड’ नामाकरण गरेपछि स्थानीयवासीले विरोध गरेका छन । त्रिुभवन राजपथ र बाईपास जोड्ने पिपराको लिंक रोड क्षेत्रलाई उपमहानगरपालिकाको वडा नम्बर १७ रहँदा उक्त क्षेत्रलाई कान्तिपुर टोल नामाकारण गरिएको थियो ।
त्यसपछि महानगरपालिकामा स्तरोन्नती भएपछि महानगरपालिकाको वडा नम्बर १४ भएको थियो । स्थानीय टोल सुधार र विकासका लागि लिङ्क रोड प्रिपा टोल विकास समिति नै गठन गरेर लिङ्क रोड प्रिपा नामाकरण गरिएको थियो । तर, महानगरपालिकाले स्थानीय सरोकारवाला पक्ष, वडा कार्यालय र टोल विकास समितिसँग कुनै राय परामर्श नगरी महात्मागान्धीको नाउँमा नामाकरण गरेकोमा आपत्ति जनाएको हो ।
पिप्राको मौलिकतालाई मास्ने उद्देश्यले केही लिङ्क रोडको नामाकरण ‘महात्मागान्धी’ नामाकरण गरेको लिंक रोड प्रिपा विकास समितिले निकालेको विज्ञप्तिमा भनिएको छ । स्थानीयवासीको भावना विपरित महानगरपालिकाले एकलौटी रुपमा राख्न खोजेको पिप्रा सडकको नामाकरण प्रति टोल विकास समितिले असहमति प्रकट गर्दै त्यसलाई स्वीकार नगर्ने जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाले यस अघि उक्त रोडको नाम पिप्रा लिङ्क रोड कायमगरी हरि गौतमको अध्यक्षतामा टोल विकास समिति समेत गठन गरेको छ । सो समितिलाई सोही रोडको नामबाट २०७६ भदौ १२ गते दर्ता प्रमाण पत्र समेत दिएको छ । टोल विकास समितिले त्यसैको नाउँमा आन्तरिक राजश्व कार्यालयबाट मूल्य अभिवृद्धि करको प्रमाणपत्र समेत लिइएको छ ।
केही राजनीति स्वार्थ प्रेरित उक्त सडकलाई महात्मागान्धी रोड नामाकरण गरेको भन्दै स्थानीयले विरोध जनाएका छन् । पिप्रा लिङ्क रोडलाई महात्मागान्धीको नाम राखेर माघ १६ गते मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवबाट उद्घाटन गर्ने कार्यक्रम रहेको छ । महानगरपालिकाले जवस्जस्ती नामाकरण गर्न खोजेपनि स्थानीय टोलबासीले यसलाई अस्वीकार गर्ने बताएका छन् ।