आज शहिद दिवस देशभर शहीदहरुको सम्झना गरी मनाईदै 

आज शहिद दिवस देशभर शहीदहरुको सम्झना गरी मनाईदै 

वीरगन्ज, १६ माघ । प्रजातन्त्र स्थापना एवं पुनःस्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहूति दिने शहीदको सम्झनामा आज देशभर शहिद दिवस मनाइँदै छ। माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ। ​ विसं २०१२ देखि नै तत्कालीन काठमाडौँ नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो।

स्वतन्त्रताको माग गर्दा विसं १९९७ माशहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा  र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए।

सहिद दिवसका अवसरमा बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरी कार्यक्रम आयोजना गरिने जनाइएको छ। प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरी शहीद स्मारक लैनचौर पुगी ज्ञात–अज्ञात शहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। 

यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णय अनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा पनि कार्यक्रमको तयारी भइरहेको जनाइएको छ। विसं २०६३ अघिशहीद दिवसका दिन राज्यका तर्फबाट शहीदगेटमा विशेष कार्यक्रम गरी दिवस मनाइन्थ्यो। त्यसपछि भने लैनचौरस्थित शहीद स्मारकमा विशेष कार्यक्रम हुन थालेको छ। 

शहीदगेटमा पनि विभिन्न सङ्घ संस्थाले कार्यक्रम गरी दिवस मनाउने गरेका छन्। पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जलि गर्ने स्थल राखिने घोषणा गरिएको छ। त्यो समेत सञ्चालनमा आउन सकेको छैन। स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जलि अर्पण गर्ने गरी तयारी गरिने जनाइएको छ। 

विदेशी पाहुना आउँदा समेत स्वतन्त्रताका लागि जीवन अर्पण गर्ने शहीदको सम्झना स्वरुप पुष्पगुच्छा अर्पण गर्ने स्थल बनाइने जनाइएको छ। शहीदको स्पष्ट परिभाषा नगरी पछिल्लो समय जोसुकैलाई घोषणा गरिँदा शहीदको गरिमा नै घटेको टिप्पणी पनि हुने गरेको छ।

राजनीतिक स्वार्थमा शहीदहरुको परिभाषा र व्याख्या गर्दा देश र जनताको लागि ज्यान आहुती दिने शहीदहरुको भने अपमान हुने गरेको छ । देशको जुनसुकै भूगोल, भाषा र समुदायबाट भएपनि देश र जनताको स्वतन्त्रताका लागि लडेर ज्यान गुमाउनेहरु नेपाली शहीद नै हुन् तर, नेपालका राजनीतिक दलहरुको स्वार्थ अनुसार शहीदको व्याख्या र परिभाषा गर्दा शहीदको अपमान हुने गरेको गुनासोहरु आउने गरेका छन् । 


  अघिल्लो समाचार