बंगुर पालन सम्बन्धी दुईदिने तालिम तथा अवलोकन भ्रमण सम्पन्न 

बंगुर पालन सम्बन्धी दुईदिने तालिम तथा अवलोकन भ्रमण सम्पन्न 

धनकुटा, १३ असोज । धनकुटाको छथरजोरपाटी गाउँपालिकाका बंगुरपालक किसानहरुलाई दुईदिने बंगुर पालन सम्बन्धि तालिम र स्थलगत अवलोकन भ्रमण गराईएकाे छ ।

सरकारले अनुदानमा उपलब्ध गराईएको बंगुर ब्लक कार्यक्रम अन्तर्गत बंगुर पालन गर्ने किसानहरुलाई बंगुर पालन गर्दा ध्यान दिनुपर्ने कुराहरुको बारेमा भेटेरिनरी अस्पताल पसुसेवा विज्ञ केन्द्र धनकुटाले प्रशिक्षण दिएको थियो । तालिम पश्चात बंगुर पालनको स्थलगत  अवलोकन भ्रमण पनि गरिएको छ ।

भेटेरिनरी अस्पताल पसुसेवा विज्ञ केन्द्र धनकुटा तथा खोक्ताप कृषि सहकारी संस्था लिमिटेडको साझेदारीमा बँगुर ब्लक कार्यक्रम अन्तर्गत तालिम प्रदान गरिएको र तालिम पश्चात स्थलगत अवलोकन भ्रमण पनि गराईएको पशुसेवा विज्ञ केन्द्र धनुकटाका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

छथर जोरपाटी वडा नम्बर–३ धनकुटाको चुलाचुली माविमा सम्पन्न तालिमबाट किसानहरुले बंगुरपालन सम्बन्धी जानकारी लिएर बंगुरपालन गरी मनग्य आम्दानी गर्नसक्ने विश्वास लिएको प्रमुख ढुंगानाले बताउनुभयो । तालिमबाट बंगुर पालनको विषयमा धेरै कुराहरु जानकारी प्राप्त भएको र यसले बंगुर पालन गर्न सहज हुने बंगुर ब्लक कार्यक्रमका संयाेजक उमेश पिठाकाेटे मगरले जानकारी दिनुभयो ।

बंगुर ब्लक कार्यक्रमले गाउँका किसानहरुलाई बंगुर पालन गरेर आयआर्जन गरी आम्दानीको स्रोत बढाउन सहयोग पुग्ने तालिममा सहभागी अर्का किसान मन कुमारी राना मगरले बताउनुभयो ।

तालिम निकै उपयोगी र उपलब्धीमूलक रहेको र यसले छथर जाेरपाटी गाउँपालिकाका किसानहरुलाई कृषि कर्ममा प्रोत्साहन गरेको तालिममा सहभागी छथर जोरपाटी गाउँपालिका वडा नम्बर २ का पार्थसिं राना मगरले बताउनुभयो ।