निर्वाचनमा मतदान शुरु, प्रचण्ड, अग्नी र अनन्तले खसाले मत 

निर्वाचनमा मतदान शुरु, प्रचण्ड, अग्नी र अनन्तले खसाले मत 

वीरगन्ज, ४ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मतदान सुरु भएको छ । तराईका केही जिल्लाहरुमा आज बिहानैदेखि हुस्सु लागेका कारण मौसम चिसो भएपछि मतदान केही समय ढिलो भएको छ । मतदाताहरु आउनेक्रम शुरु भएको छ । अन्य जिल्लाहरुमा मतदान शुरु भएको छ । देशका ७७ वटै जिल्लामा बिहान ७ देखि मतदान सुरु भएको हो ।

बेलुका  ५ बजेसम्म भोट हाल्न पाइने छ  । मतदान केन्द्रमा भोट हाल्नका लागि  मतदाता पुगेका छन् । मतदाताको सङ्ख्या बिस्तारै बढ्दै छ । ज्येष्ठ नागरिक, गर्भवती र सुत्केरी भोट हाल्न लाइन बस्नु पर्दैन ।  अपाङ्गता भएकाहरूका लागि पनि विशेष व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ । मतदानलाई व्यवस्थित गर्न महिला र पुरुषको छुट्टा छुट्टै लाइनको व्यवस्था गरिएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनको शिवनगर मदतान केन्द्रमा मत खसाल्नु भएको छ । उहाँले मत खसालेपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियामा प्रधानमन्त्रीकै लागि गठबन्धन नटुट्ने बताउनु भएको छ । त्यस्तै माओवादीका अर्का नेता बर्षमान पुन ‘अनन्त’ले पनि रोल्पामा मत खसाल्नुभएको छ ।

सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको सेतीदेवी पन्चकन्या मावि कुविण्डे मतदान केन्द्रबाट मतदान गरेका छन् । पहिलो मतदान नै सभामुख सापकोटाले गर्नुभएको हो । भोट हाल्न जाँदा आफ्नो मतदाता परिचयपत्र लिएर जानु पर्छ । मतदाता परिचय पत्र नभएमा निर्वाचन आयोगले तोके बमोजिम आफ्नो फोटो टाँसिएको नागरिकताको प्रमाणपत्र, राहदानी, जग्गाधनी प्रमाण पूर्जा, सवारी अनुमति पत्र लाइसेन्स वा राष्ट्रिय परिचयपत्र मध्ये कुनै एउटा परिचय पत्रको आधारमा पनि मतदान गर्न पाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताउनुभयो ।

तर मतदाता नामावलीमा नाम भने अनिवार्य हुनुपर्छ ।  आयोगले अरूको नाममा मत नहाल्न, दोर्होयाएर मत हाल्ने प्रयास नगर्न, आफ्नो मत अरूलाई हाल्न नदिन र मतपत्र लिँदा मतपत्रमा मतदान अधिकृतको दस्तखत भए नभएको यकिन गर्न पनि आग्रह गरेको छ । देशभर १० हजार ८ सय ९२ मतदान स्थल र २२ हजार २ सय २७ मतदान केन्द्र रहेका छन् ।

चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता छन् । प्रदेश १ मा ३३ लाख ९६ हजार ८ सय ६५, मधेसमा ३३ लाख ८६ हजार ६ सय २८, बाग्मतीमा ३४ लाख ७१ हजार ४ सय ९२, गण्डकीमा १८ लाख १७ हजार ५ सय ४१, लुम्बिनीमा ३२ लाख ४९ हजार ६ सय ३७, कर्णालीमा १० लाख ८ हजार ४ सय ३ र सुदूरपश्चिममा १६ लाख ५८ हजार ४ मतदाता छन् ।