१०६० किमिको यात्रामा शेख मुन्नाले ९६६ किमि पार गरिसके
वीरगन्ज, ९ भदौ । वीरगन्जबाट भारतको दिल्ली पैदल यात्रा शुरु गरेका वीरगन्जका युवा शेख मुन्नाले ९६६ किलोमिटर पार गरिसक्नु भएको छ ।
वीरगन्जदेखि दिल्लीसम्मको १०६० किलोमिटरको दूरी पार गर्न गत साउन २१ गते हिड्नुभएका मुन्नाले २० दिनमा ९६६ किलोमिटर पार गर्नुभएको हो । उहाँले दिल्ली पुग्न ९४ किलोमिटर मात्रै बाँकी रहेको स्थानको फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुभएको छ ।
वीरगन्ज महानगरपालिका–२ छपकैयाका ३० वर्षीय सेख मुन्ना एक हजार ६० किलोमिटर टाढा रहेको भारतको राजधानी नयाँदिल्लीको यात्रामा निस्किनु भएको हो । दिल्लीसम्म पैदल यात्रा गरेर वीरगन्ज र नेपालको नाम फैलाउन आफूले अनौठो लक्ष्य लिएर दिल्लीको पैदल यात्रामा निस्किनुभएको हो ।
यात्रामा अवरोध नभए १८ देखि २४ दिनभित्रमा दिल्लीको संसद् भवन पुग्ने लक्ष्य राख्नुभएका उहाँ २० दिनसम्म पैदल हिड्दा अब ९४ किलोमिटर मात्रै पार गर्न बाँकी छ । उहाँले गर्नुभएको पैदल यात्राले पर्यटन प्रवर्द्धन गर्ने तथा नेपाल–भारतको सम्बन्धलाई अझै बलियो बनाउने पनि विश्वास लिनुभएको छ ।
वीरगन्जको घन्टाघरबाट महानगर उपप्रमुख सहितको टोलीले बिदाई गरेपछि उहाँ बिहारको रक्सौल, नरकटियागन्ज, रामनगर, बगाहा, उत्तरप्रदेशको गाजियावाद, बुलेन्दसहर हुँदै दिल्लीको यात्रा तय गर्नुहुनेछ ।
बाटोमा आवश्यक सामग्री सहितको सात किलोको झोलामा दैनिक उपभोग्य सामान बोकेर वीरगन्जबाट यात्रा शुरु गर्नुभएको थियो । बीचमा खुट्टा सुनिएर एम्बुलेन्समा उपचारपछि फेरी उहाँले पैदल यात्रा शुरु गर्नुभएको हो ।