पर्सामा प्रतिलिपि नागरिकता अब बिहान ७ बजेदेखि १० सम्म वितरण गरिने
वीरगन्ज, ९ भदौ । जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपि नागरिकता बिहान वितरण गर्ने भएको छ ।
नागरिकता लिने सेवाग्राहीहरुको भीड धेरै भएको र प्रतिलिपि नागरिकता नपाएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय पर्साले प्रतिलिपि नागरिकता भदौ १० गते शुक्रबारदेखि बिदाको दिन बाहेक बिहान ७ बजेदेखि १० बजेसम्म वितरण गरिने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय पर्साले सूचना नै जारी गरेर प्रतिलिपि प्राप्त गर्न नसकेका सेवाग्राहीहरुका लागि बिहानको व्यावस्था मिलाईएको जनाएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले हस्ताक्षर गरी जारी गरेको सूचनामा प्रतिलिपि नागरिकता लिने सेवाग्राहीहरुको संख्या बढ्दै गएको र प्रतिलिपि नागरिकता प्राप्त गर्नका लागि भदौ ९ गतेसम्म अनुसूची फाराम भरेका सेवाग्राहीहरुको लागि भदौ १० गतेदेखि बिहान ७ बजेदेखि १० बजेसम्म व्यावस्था मिलाईएको जनाएको छ ।
पछिल्लो समयमा पर्सामा नागरिकता लिनेहरुको संख्या बढ्दै जाँदा प्रतिलिपि लिनेहरुको पनि संख्यामा वृद्धि भएको र यसलाई व्यवस्थित गर्नका लागि बिहानदेखि सेवा शुरु गर्न लागिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले बताउनुभयो ।