मध्य नेपाल सन्देश साप्ताहिकको छैठौं बार्षिकोत्सव सम्पन्न 

मध्य नेपाल सन्देश साप्ताहिकको छैठौं बार्षिकोत्सव सम्पन्न 

वीरगञ्ज, १२ भदौ । वीरगन्जबाट प्रकाशित हुने मध्य नेपाल संदेश साप्ताहिकले आफ्नो छैठौं बार्षिकोत्सव मनाएको छ । वीरगन्जको होटल कुमु प्यालेसमा आयोजना गरिएको बार्षिकोत्सवको प्रमुख अतिथि नेपाल सरकारका वन तथा वातावरण मन्त्री प्रदीप यादवले उदघाटन गर्नुभएको थियो ।

बार्षिकोत्सवको अवसरमा ‘नेतृत्वमा युवा कि पाका ?’ भन्ने विषयमा अन्तकृया पनि आयोजना गरिएको थियो । अन्कृयामा बोल्दै प्रमुख अतिथि मन्त्री यादवले वृद्ध नेताहरुको अनुभव र युवाहरुको जोशले नै देशको विकास अगाडि बढ्ने बताउनुभयो । वृद्धवद्धाहरुलाई सम्मान र आदर गर्ने नेपाली समाजमा संस्कार नै रहेकोले वृद्धवृद्धाहरुको अनुभवले र युवाको जोशले देशलाई द्रूत विकास गर्न सकिने बताउनुभयो ।  

पर्साका प्रमुख जिल्ला अधिकार उमेश कुमार ढकालले नेतृत्वमा वृद्ध र युवा भन्दा व्यावस्थापन महत्वपूर्ण पक्ष रहेको बताउनुभयो । उहाँले व्यावस्थापनमा युवाहरुले जोखिम लिन सक्ने तर, वृद्धहरु जोखिम लिन नचाहने बताउनुभयो । उहाँले वृद्धहरु अनुभवले काम गर्ने र युवाहरुले जोशको साथ काम गर्ने भएकोले दुवैको उत्तिकै भूमिका रहने बताउनुभयो ।

मध्य नेपाल सन्देश साप्ताहिककी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दिपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने, मधेस प्रदेशका महासचिव श्याम बञ्जारा, विभिन्न राजनीतिक दलका नेताहरु, महिला अभियानकर्मीहरु लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी लक्ष्मी खरेलले गर्नुभएको थियो । 

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सहित सञ्चारकर्मीहरु सम्मानित 

मध्य नेपाल संदेशले विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान पनि गरेको छ । कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर सुवोध गुप्ता सम्मानित हुनु भएको छ ।

विभिन्न क्षेत्रमा रहेका महिलाहरुलाई विविध समिति मार्फत् सङ्घमा आबद्ध हुने अवसर प्रदान गरेको र महिला उद्यमीहरुको क्षमता विकासमा महत्वपूर्ण योगदान पुर्‍याएकोमा डा. गुप्तालाई मध्य नेपाल मिडिया प्रा.लि.ले सम्मान–पत्रबाट सम्मान गरेको हो ।

डा. गुप्ता वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष रहनुका साथै नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य, नेपाल चामल, दाल, तेल उद्योग सङ्घका केन्द्रीय अध्यक्ष समेत रहेका छन् ।

त्यस्तै गुप्ता सहित सञ्चारकर्मी नेपाल पत्रकार महासंघ महोत्तरीका कार्यवाहक अध्यक्ष सुनिता बराल, भोजपुरी टाईम्स दैनिक पत्रिकाका प्रकाशक अजय चौरसिया, त्यस्तै गुप्ता सहित सञ्चारकर्मी नेपाल पत्रकार महासंघ महोत्तरीका कार्यवाहक अध्यक्ष सुनिता बराल, भोजपुरी टाईम्स दैनिक पत्रिकाका प्रकाशक अजय चौरसिया, होटल कुमु प्यालेसका संचालक कुवेर कार्कीलाई पनि सम्मान गरिएको छ । सम्मानित सबैलाई प्रमुख अतिथि वन तथा वातावरण मन्त्री प्रदीप यादवले दोसल्ला र सम्मानपत्र सहित सम्मान गर्नुभएको थियो ।