समाजवादी प्रेस संगठन र रेडियो वीरगन्जद्वारा स्व.पत्रकार नरेश सर्राफको परिवारलाई आर्थिक सहयोग
वीरगन्ज, २५ मंसिर । १० अघि हृदयाघातबाट निधन भएका वीरगन्जका पत्रकार नरेश सर्राफको परिवारलाई दुईवटा संस्थाले आर्थिक सहयोग गरेको छ । समाजवादी प्रेस संगठन पर्सा र रेडियो वीरगन्जले स्वर्गीय सर्राफको १० दिनको पुण्य तिथिको अवसरमा संयुक्त रुपमा आयोजना गरेको श्रद्धाञ्जली सभामा सर्राफकी छोरी श्रेया सर्राफलाई आर्थिक सहयोग स्वरुप अध्ययनका लागि एक–एक लाख गरी दुईलाख रुपैंयाको चेक हस्तान्तरण गरिएको छ ।
पत्रकार सर्राफको परिवारलाई छोरीको पढाईमा राहत पुगोस भन्ने उद्देश्यले समाजवादी प्रेस संगठनको तर्फबाट एकलाख र रेडियो वीरगन्जको तर्फबाट एकलाख रुपैंयाको चेक छोरी श्रेयालाई हस्तान्तरण गरिएको थियो । त्यस्तै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेमान सिंहले पत्रकार सर्राफको परिवारका लागि पाँच लाख रुपैंया सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सर्राफको स्मृतिमा स्थापना गरिने अक्षयकोषमा १० लाख रुपैंया उपलब्ध गराउने समेत प्रतिबद्धता जनाउनुभयो । त्यस्तै राष्ट्रिय भूमि आयोगका पर्सा अध्यक्ष तबरेज अहमदले पनि अक्षय कोष स्थापनामा आफ्नो एक महिनाको पारिश्रमिक बराबरको रकम सहयोग गर्ने बताउनुभयो ।
श्रद्धाञ्जली सभामा बोल्ने वत्ताहरुले पत्रकार नरेश सर्राफको अल्पआयु मै भएको दुखद निधनले सबैलाई मर्माहत बनाएको बताएका थिए । जन्म लिएपछि मृत्यु प्राकृतिक नियम नै भएपनि कसैको अल्पआयु मै अकल्पनीय निधनले सबैलाई पीडा हुने गरेको बताए । आफ्नो सञ्चारकर्ममा सधैं लगनशील, मेहेनती र व्यावसायिक पत्रकारिता गर्दै आएका सर्राफको निधनले पर्साको पत्रकारितामा सधै अभाव खड्किने बताए ।
कार्यक्रममा वीरगन्ज महानगर प्रमुख राजेशमान सिंह, पत्रकार महासंघका मधेस प्रदेश महासचिव श्याम बञ्जारा, पर्सा अध्यक्ष अनुप तिवारी, ओम प्रकाश सर्राफ, एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य रामचन्द्र साह, पर्सा अध्यक्ष बालगोपाल थापा, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम लगायत सहभागी सबैले स्वर्गीय पत्रकार नरेश सर्राफ प्रति श्रद्धाञ्जली अर्पण गरेको समाजवादी प्रेस संगठन पर्साका अध्यक्ष मनोज पटेलले जानकारी दिनुभयो ।