इंगेज परियोजनाले मधेसका किशोरीहरु सबल र सक्षम बन्दै 

इंगेज परियोजनाले मधेसका किशोरीहरु सबल र सक्षम बन्दै 

वीरगन्ज, २५ मंसिर । तुलनात्मक रुपमा शिक्षामा कमजोर रहेको मधेसका किशोरीहरु अहिले सबल र सक्षम बन्दै गएका छन् । भिएसओ नेपालको सहयोगमा दिव्य युवा क्लबले संचालन गरेको ‘किशोरी सशक्तिकरणका लागि शिक्षा कार्यक्रम’ (इंगेज) परियोजनाले पर्साका किशोरीहरु अहिले सबल र सक्षम बन्दै गएका हुन् ।

किशोरीहरुलाई शिक्षामा पहुँच बढाउदै सक्षम र आत्मनिर्भर बनाउनका लागि संचालन गरिएको परियोजनाले खासगरी विद्यालय भन्दा बाहिर रहेका किशोरीहरुको शिक्षा र आयआर्जनका लागि सीप सिकाउन केन्द्रीत गरिएको कार्यक्रमले अहिले बीच मै विद्यालय छोडेका किशोरीहरु विद्यालय जान थालेका छन् ।

इंगेज परियोजनाका ठूलीदिदीहरुले उनीहरुलाई नौ महिनासम्म वृजकक्षा मार्फत सिकाउने र विद्यालय पठाउने तथा विद्यालय जान नचाहेका सीमान्तकृत किशोरीहरुलाई भने सीप सिकाउने र आयआर्जनका विभिन्न क्रियाकलापहरुमा लगाउने गरिएको इंगेज परियोजनाका कार्यक्रम संयोजक गणेश ठकुरीले बताउनुभयो ।

शिक्षामा मात्रै होईन सामाजिक विकास र आर्थिक उपार्जनमा समेत किशोरीहरुलाई सहभागी गराउने गरी संचालन गरिएको कार्यक्रमले मधेसका किशोरीहरुलाई आत्मनिर्भर बनाउने सक्ने शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्साका प्रमुख फत्त बहादुर श्रेष्ठले बताउनुभयो । 

कार्यक्रमले किशोरीहरुमा आत्मबल बढेको, केही गरौं भन्ने भावनाको विकास भएको र आफै सक्षम भएर आत्मनिर्भर बन्न सकिन्छ भन्ने सोचको विकास भएको अनुगमनका क्रममा पाईएको सामाजिक अभियन्ता प्रकाश थारुले बताउनुभयो । दिव्य युवा क्लबे संचालन गरेको परियोजना अब स्थानीय तहको सरकारले स्वामित्व लिएर कार्यक्रमलाई निरन्तरता दिनुपर्ने थारुको भनाई छ । 

मधेसको ग्रामीण क्षेत्रका किशोरीहरुको शिक्षामा पहुँच नहुँदा घरबाहिर बोल्न नसक्ने अवस्था रहेको र अहिले परियोजना सञ्चालन भएका गाउँका किशोरीहरु बोल्ने मात्रै होईन स्थानीय स्तरमा हुने जुनसुकै कार्यक्रमहरुमा पनि सहभागी हुन उत्साहित हुने गरेका छन् । 

इंगेज परियोजनाले किशोरीहरुको लागि मात्रै होईन अपांगता भएकाहरुको लागि केही सपोर्ट कार्यक्रमहरु गरेको छ । पर्साको धोविनी र जगरनाथपुर गाउँपालिकामा सञ्चालित परियोजनाले अपांगता भएकाहरुका लागि दुईवटा गाउँपालिकामा नौ वटा अपांगमैत्री शौचालय (होम मोडिफिकेसन) निर्माण गरिदिएको छ । 

त्यस्तै शारीरीक रुपमा अशक्तहरुलाई थेरापीको माध्यमले उपचार गर्ने र हिडडुल गर्न सक्ने सम्मको बनाएको कार्यक्रम संयोजक ठकुरीले बताउनुभयो ।