रेडियो आम नागरिकको प्रभावकारी सूचनाको माध्यम रहेको सरोकारवालाहरुको भनाई 

रेडियो आम नागरिकको प्रभावकारी सूचनाको माध्यम रहेको सरोकारवालाहरुको भनाई 

वीरगन्ज, २८ भदौ । आम नागरिकको सूचनाको प्रभावकारी माध्यम रेडियो नै रहेको सरोकारवालाहरुले बताएका छन् । बुधबार साँझ होटल मकालुमा आयोजना गरिएको सामुदायिक रेडियो नारायणी एफ.एम.१०३.८ मेगाहर्जको आजीवन सदस्यता वितरण कार्यक्रममा बोल्ने वक्ताहरुले यस्तो बताएका हुन् ।

रेडियो एफ.एमहरु मध्य सामुदायिक रेडियोहरुले समाज रुपान्तारणका लागि खेलेको भूमिका अझ अनुकरणीय रहेको बताएका छन् । कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका निवर्तमान नगर प्रमुख विजय कुमार सरावगीले सामुदायिक रेडियो अन्य व्यावसायिक रेडियो भन्दा फरक रहेको र यसले खेलेको प्रभावकारी भूमिकाले नै समाजमा पनिवर्तनहरु देखिएको बताउनुभयो ।

उहाँले सञ्चार माध्यमहरु धेरै भएपनि जनताको न्याय र सुशासनको पाटोमा भने थोरैले मात्रै भूमिका खेल्ने गरेको उल्लेख गर्दै अहिले संघीयतापछि भए गरेका भ्रष्टाचार र अनियममितताको विरुद्ध सामुदायिक रेडियोले नै बोल्न सक्ने र बोल्नुपर्ने बताउनुभयो ।

व्यावसायिक रेडियोहरुले व्यावसाय लक्षित रहने भएको र उनीहरुले जनताको अपेक्षा अनुसारको मुद्दालाई उठान गर्न नसक्ने बताउनुभयो । सामुदायिक रेडियोको फरक उद्देश्य रहेको र समाजसँगै जोडिने भएकोले पनि यसको भूमिका अझ प्रभावकारी रहेको बताउनुभयो ।

जीतपुर सिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले संघीय संरचनापछि पनि आम मानसिकता र मिडियाहरुको मानसिकता यथास्थितिवादी नै रहेकोले त्यसको परिवर्तनका लागि सामुदायिक रेडियोको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले संघीयतामा तीनै तहका सरकारहरुको अधिकार क्षेत्र, काम, कर्तव्य र अधिकारको विषयमा अझै नागरिकमा पुग्न नसकेकोले संघीयताको अभ्यासलाई जन जनमा पुग्ने गरी कार्यक्रमहरु आउनुपर्ने बताउनुभयो ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले सञ्चार मध्यमहरु मध्य अहिलेपनि रेडियो नै प्रभावकारी सूचनाको माध्यम भएको बताउनुभयो । उहाँले अझै धेरै नागरिकको विश्वासिलो सूचनाको माध्यम भनेको रेडियो नै भएकोले सामुदायिक रेडियोले प्रवाह गर्ने सूचना अझ धेरै विश्वसनीय हुनुपर्नेमा जोड दिनुभयो ।

नेपाल चिकित्सक संघका उपाध्यक्ष डाक्टर निरज सिंहले नारायणी एफ.एमले हरेक क्षेत्र र विषयमा निरन्तर सूचना प्रवाह गर्दै आएको बताउदै आम नागरिक र श्रोताको अझ सशक्त माध्यम बन्नुपर्ने बताउनुभयो । नारायणी एफ.एमका कार्यकारी अध्यक्ष गोविन्द दोवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा एफ.एम.का आजीवन सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।