मिटर ब्याज पीडितहरुप्रति मधेस प्रदेश सरकारको सहानुभूति, संयुक्त रुपमा समस्या समाधान गर्न आह्वान
वीरगन्ज, १५ चैत । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले मिटर ब्याज पीडितहरुलाई सहानुभूति प्रकट गर्नुभएको छ । मुख्यमन्त्री यादवले आज एक विज्ञप्ति जारी गर्दै मिटर ब्याज पीडितहरुलाई ‘तपाईको आँशुको हरेक थोपामा हाम्रो साथ छ’ भन्दै यो समस्या मधेसबाट उठेपनि देशकै समस्या भएकोले यसको समाधानका लागि ठोस नीति ल्याउन आवश्यक रहेको बताउनु भएको छ ।
बैंकहरुले ऋण नदिने, अनेक अड्चन खडा गर्ने र दिएपनि चर्को ब्याजमा लगाउने र अर्कोतिर मजबुरीको फाईदा उठाएर गाउँघरका कतिपय साहुकारहरुमा अत्याचार नै गर्ने द्रव्य पिचासी प्रवृत्ति देखिएको भन्दै शोषण विरुद्ध केन्द्र सरकार, राष्ट्र बैंक तथा प्रदेश समितिले मिलेर संयुक्त रुपमा काम गर्न विशेषाधिकार सम्पन्न शक्तिशाली आयोग गठन गर्न जररी देखिएको बताउनु भएको छ ।
केन्द्र सरकारले मिटर ब्याजलाई अपराध घोषणा गरी कानूनी दायरामा ल्याउन गरेको पहलको स्वागत गर्दै मुख्यमन्त्री यादवले यसले समग्र समस्यालाई भने सम्बोधन गर्नेमा आंशका पनि व्यक्त गर्नुभएको छ । मिटरब्याज पीडितहरुको हरेक पाईलामा मधेस प्रदेश सरकारको साथ रहेको भन्दै पीडितहरुको आँशुको थोपामा पनि प्रदेश सरकारको सरोकार र दायित्व रहेको बताउनु भएको छ ।
प्रदेशबाट उठेको समस्या राष्ट्रिय समस्या भएको र यो समृद्धिको बाधक पनि भएकोले समस्या विरुद्ध संयुक्त रुपमा लड्न मधेस सरकारले आह्वान पनि गरेको छ ।
यसैबीच न्याय माग्न महोत्तरीको बर्दिवासबाट हिँडेरै काठमाण्डौ आएका मिटरब्याज पीडितहरु बिरामी पर्न थालेका छन् । ११ दिन पैदल हिँडेर आएका उनीहरु थकित भएका छन् । धेरैजसो चिसोका कारण बिरामी परेका छन् । धेरैजसोको घाँटी दुखेको छ भने हातखुट्टा र अनुहार सुन्निएको छ ।
हिजो मिटरब्याजीविरुद्ध धर्ना र प्रदर्शन गरे पनि धेरैजसो बिरामी भएकाले आज आराम गर्ने मिटरब्याजविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले जानकारी दिनुभयो । उहाँका अनुसार लगातारको हिँडाइले धेरैजसो थकित भएका छन् भने तराईको गर्मीमा हुर्किएका उनीहरुलाई काठमाण्डौको चिसोले पनि छोएको छ ।
गएको २ गते बर्दिबासबाट हिँडेका उनीहरुमध्ये धेरैजसो खाली खुट्टै काठमाण्डौ आइपुगेका छन् । गएको आइतबार मातातीर्थमा बसेका उनीहरु अस्ति सोमबार खुलाजञ्चमा बस्ने तयारी गरेका थिए । तर काठमाण्डौ महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिए पछि उनीहरुले चिसो सडकमै रात बिताएका थिए ।
मिटरब्याजपीडितहरु अहिले अनामनगरको तमु बौद्धमा बसेका छन् । यस्तै, सरकारले मिटरव्याजलाई अपराधको रुपमा ब्याख्या गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गरेको छ । मिटरब्याज पीडितले आफूहरूले न्याय पाउनुपर्ने माग गर्दै काठमाण्डौ आएर विरोध प्रदर्शन थालेपछि सरकारले समस्याको दीर्घकालीन समाधानका लागि अग्रसरता थालेको हो ।
पीडितको माग सम्बोधन गर्न मिटरब्याजलाई अपराध मानेर पीडकलाई आवश्यक कारबाही गर्ने प्रक्रिया अघि बढाउने सरकारको तयारी छ ।