आर्थिक संकटमा पनि जोखिम मोलेर लगानी गर्ने साहसी उद्यमी मरोदिया

आर्थिक संकटमा पनि जोखिम मोलेर लगानी गर्ने साहसी उद्यमी मरोदिया
उद्यमी मनोज कुमार मरोदिया

विश्व अर्थतन्त्रमा आर्थिक मन्दीको अवस्था र राष्ट्र बैंकको मौद्रिक नीति तथा बैंकहरूको चर्को ब्याजदरको विरुद्धमा नेपालमा निजी क्षेत्र सडकमा रहेको अवस्थामा वीरगन्जमा एक उद्यमीले भने उद्योगमा लगानी गरेर जोखिम उठाउने साहस गरेका छन् ।

बारा–पर्सा औद्योगिक करिडोरका उद्योगी–व्यवासायीहरू आर्थिक संकट आउने भन्दै चिन्तित भइरहँदा व्यवसायी मनोज मरोडियाले भने बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४, सुखचैनामा वीणाशक्ति पेपर एन्ड स्टेसनरी प्रोडक्ट नामको कलम उत्पादन गर्ने उद्योग स्थापना गरेर जोखिम मोलेका छन् । अहिले बैंकहरूले कर्जा लगानी नगरिरहेको अवस्था र लगानी गरेको कर्जाको पनि ब्याज बढाएर ब्याज र किस्ता तिर्न ताकेता गरेर आतंकित बनाएको व्यवसायीहरूले गुनासो गरिरहेको समयमा मरोडियाले भने २५ करोडको लगानीमा कलम उद्योग स्थापना गरेका हुन् ।

डेढ दशक कापीकलमकै व्यवसाय गरेको अनुभव रहेका मरोडियाले नेपालमै स्वदेशी उत्पादनको बजार राम्रो देखेर कलमको उद्योग नै स्थापना गर्ने हिम्मत गरेका छन् । सरकारको अदूरदर्शी र अव्यावहारिक भन्सार दर तथा अनियन्त्रित चोरी–पैठारीका कारण नेपालमा कतिपय उत्पादनमूलक उद्योगले भारतीय बजारबाट आउने सामानसँग प्रतिस्पर्धा गर्न सकिरहेका छैनन् । कतिपय चल्नुपर्ने उद्योगहरू पूर्ण क्षमतामा चल्न सकेका छैनन् । त्यस्तै नाफा कमाउनुपर्ने सम्भावना बोकेका उद्योगहरूले सोचेजस्तो मुनाफा पनि कमाउन सकिरहेका छैनन् ।

त्यस्ता उद्योगहरूमध्ये डट्पेन उद्योग पनि प्रमुख हो । नेपालमा वार्षिक ३० करोडको बजार हुँदाहुँदै पनि यो क्षेत्रमा सोचेजस्तो लगानी भित्रिन सकेको छैन । अझ भनौं, लगानीकर्ताको रोजाइमा यो पर्न सकेको छैन । भारतसँगको लामो खुला सिमानाले गर्दा भारतीय कलमहरू सजिलै चोरबाटोबाट भित्रिनु र गुणस्तरमा भारतीय उत्पादनसँग हुने प्रत्यक्ष प्रतिस्पर्धामा नेपाली उत्पादन टिक्न नसक्नु यसको प्रमुख कारण हो । तर, यी तमाम बाधा–अड्चनका बाबजुद पनि मरोडियाले उद्योग सञ्चालनमा ल्याउने हिम्मत गरेका छन् ।

सामान्य अवस्थामा उद्योग स्थापना गर्न खासै चुनौती नरहे पनि अहिलेको संकटपूर्ण अर्थतन्त्रमा उद्योग स्थापना गरेर जोखिम मोल्नुचाहिँ साहस र आँट नै चाहिन्छ । यति साहस र हिम्मत कसरी आयो रु उद्यमी मरोडियासँग कुराकानीको सम्पादित अंश :

लगानीका लागि यत्रा अन्य क्षेत्र हुँदाहुँदै तपाईंले कलम उद्योगमै लगानी गर्नुको कारण के हो ?

मैले करिब १५ वर्ष नेपालमा कलमकै व्यापार गरेको र मलाई कलमकै विषयमा धेरै अनुभव र जानकारी भएकाले मैले यो क्षेत्रमा नै केही गर्नुपर्छ भन्ने लाग्यो । त्यतिमात्रै होइन, नेपाली उत्पादनको पनि केही हिस्सा रहोस् नेपाली बजारमा, त्यसमा पनि आफंैले वर्षांैदेखि गर्दै उत्पादन गर्दै आएको डट्पेनबाट मात्र भए पनि देशलाई आत्मनिर्भर बनाउनुपर्छ जस्तो लाग्यो र मलाई डट्पेनबाटै मुनाफा पनि कमाउन सक्छु भन्ने आत्मविश्वासका साथ यो क्षेत्रमा लगानी गरेँ ।

अब नेपाल डट्पेनमा आत्मनिर्भर हुन्छ त ?

एउटा उद्योग खुल्दैमा अहिले तत्कालै सम्पूर्ण देश नै आत्मनिर्भर बन्छ भन्ने होइन । बिस्तारै अरू पनि डट्पेन उद्योगहरू खुल्दै जानुपर्छ । त्यसका लागि देशले लिने नीति महवपूर्ण हुन्छ । राज्यले त्यो वातावरण बनाउनुपर्छ । नेपाली उत्पादनमूलक उद्योगहरूलाई प्रोत्साहन गर्ने हो भने आयातमा सरकारले लिएको नीतिलाई परिमार्जन गर्नुपर्छ । आयातलाई प्रतिस्थापन गर्ने वस्तुहरूको उद्योग स्वदेशमै खुलेका छन् भने त्यस्ता उद्योगलाई राज्यले प्रोत्साहन गर्नुपर्छ । भारतबाट आउने कच्चापदार्थ र तयारी वस्तुहरूको भन्सार शुल्क फरक–फरक हुनुपर्छ ।

कलमको आयातलाई विस्थापित गर्ने नीति नै ल्याउनुपर्छ । कलमका कच्चापदार्थलाई भन्सार सहुलियत दिनुपर्छ । कलम आयात निरुत्साहित गर्न करको दर वृद्धि गरिनुपर्छ । यदि यसो गरियो भने पक्कै पनि ठ्याक्कै अहिले त नभनौं, आउने १० वर्षभित्र देश कलममा आत्मनिर्भर पक्कै बन्नेछ ।

तपाईंले स्थापना गरेको उद्योगबाट उत्पादन हुने डट्पेनले नेपाली बजारमा कस्तो प्रभाव पार्छ जस्तो लाग्छ ?

म हाल नेपाली बजारको ४० प्रतिशत हिस्सा ओगट्ने लक्ष्य लिएर अगाडि बढेको छु । त्यसैअनुसारको बजार प्लान पनि बनाएको छु । त्यसका लागि सर्वप्रथम त ध्यान दिने भनेको गुणस्तर नै हो । त्यसका लागि हामीले क्वालिटीमा कुनै पनि सम्झौता गर्नेछैनांै ताकि उपभोक्ताको हातमा हाम्रो उत्पादन एकपटक पुगिसकेपछि उपभोक्ताले फेरि त्यसलाई खोजेर किनोस् । त्यही उद्देश्यका साथ अगाडि बढेका छौं ।

तपाईंको उद्योगले कस्तो र कति मूल्यको कलम उत्पादन गर्छ ?

हाम्रो उद्योगले नेपालको उपभोक्ताको क्रयशक्तिलाई मध्यनजर गरेर सबैले किन्न सक्ने गरी सबैका लागि हुने गरी ५ रुपैयाँदेखि ५० रुपैयाँसम्मको कलम उत्पदन गर्छ । अझ डट्पेनका साथै सार्पनर, मार्कर, इरेजर र स्केलजस्ता अन्य स्टेसनरी समान पनि उत्पादन गर्छ । हामी जापानी प्रविधिको अत्याधुनिक मेसिनहरूबाट उत्पादन गर्छौं । भारतीय कम्पनीका कलमहरूसँग प्रतिस्पर्धा गर्न सक्ने गुणस्तरका उत्पादन बजारमा ल्याउन सकियो भने हामी नेपाली बजारमा स्थापित हुन समय लाग्दैन भन्ने विश्वास छ ।

वार्षिक कति बराबरको डट्पेन उत्पादन गर्ने लक्ष्य लिनुभएको छ ?

अहिले हामीले वार्षिक १० करोड मूल्यबराबरको डट्पेन उत्पादन गर्ने लक्ष्य राखेका छौं । हाम्रो उद्योग ठूलो भएकाले भविष्यमा यसैमा उत्पादन गर्ने मेसिनको संख्या बढाएर अझ बढी उत्पादन गर्ने सोचेका छौं । ३० करोड कलमको माग रहेको बजारमा हामीलाई स्थापित हुनका लागि उत्पादन नै बढाउनुपर्ने हुन्छ । त्यसैले गुणस्तरसँगै उत्पादन परिमाण पनि हामी बढाउँदै लान्छौं ।

नेपालमा राम्रोसँग फस्टाउन नसकेका यस्ता उद्योगहरू फस्टाउन सरकारले के गर्नुपर्छ जस्तो लाग्छ तपाईंलाई रु
सर्वप्रथमतः सरकारले यस्ता उद्योगहरूलाई अगाडि ल्याउन नेपालको माटो सुहाउने लगानीमैत्री नीति बनाउनुपर्छ, जसमा उद्योगको कर छुटदेखि लिएर उद्योगलाई चाहिने कच्चा पदार्थको भन्सार छुटसम्म पर्न आउँछ । यदि यस्ता उद्योगमा साँच्चै लगानी भियाएर उद्योगलाई मुनाफा आर्जन गर्ने वातावरण बनाउने हो भने नेपालमै उत्पादन हुने यस्ता वस्तुको भन्सारदर बढाएर चोरी–पैठारी नियन्त्रण गर्न निर्मम तरिकाले लाग्ने हो भने अवश्य पनि यस्ता उद्योग फस्टाउनेछन् ।

नेपालमा अन्य उद्योगीहरूले डट्पेन उद्योगमा लगानी गर्न हच्किनुको कारण के होला ?

सबै उद्योगी–व्यवसायीहरूको आ–आफ्नै रोजाइ, क्षेत्र, अनुभव र महव हुन्छ । यो उद्योगमा पनि ठ्याम्मै नआएका पनि होइनन् । फाट्टफुट्ट आएका पनि छन् । थोरै सफल भएका धेरै असफल भएकाले यस्तो लागेको मात्र हो । तर, जहाँ मुनाफा हुन्छ त्यहाँ त व्यापारीहरूले लगानी गरिहाल्छन् । सानो वस्तुको पनि बजार ठूलो हुन्छ । यसलाई चिन्न सक्नुपर्छ । बजार चिन्न सकियो र त्यही अनुसारले उत्पादन गर्न सकियो भने सफल हुन सक्छ ।