अनलाइन बैंकिङले सहज बन्दै दैनिकी
गोविन्द चापागाँई
आजको युग भनेको २१ औं शताब्दीको युग हो, जहाँ हरेक व्यावसायिक क्षेत्रमा हरेक दिनजसोे विभिन्न कम्पनीले धेरै परिवर्तन गरिरहेका देखिन्छन् भने बैंक तथा वित्तीय संस्थाहरूमा पनि उत्तिकै मात्रामा वित्तीय प्रणालीमा सुधार आइरहेको छ । मुलुकमा दिनहुँ बैंक–वित्तीय कारोबारको सहज माध्यमबाट त्यत्तिकै छलाङ मारिरहेकै अवस्था पनि छ । यसले मानिसहरूको दैनिकी पनि त्यत्तिकै सहज बनिरहेकै छ ।
विगत केही समयदेखि छोटो समयमा नै मुलुकमा तीव्र रूपमा विकासको प्रविधिमा छलाङ मार्ने साधनमध्ये सञ्चार प्रविधिलाई उच्च स्थानमा राख्न सकिन्छ । हाम्रो मुलुकमा मात्र होइन, विश्वमा नै सञ्चारको प्रविधिले छिटो–छिटो गतिमा दिनहुँ फड्को मारिरहेको अवस्था छ भने यसले मानिसहरूको दैनिकीलाई समेत अत्यन्तै सरल बनाइरहेको छ । हिजोको ढुङ्गे युग पार गर्दै आज मुलुकमा सञ्चारका साधनहरूको विकासले मुलुकलाई नै परिवर्तन गरेको छ । यसले बैंक–वित्तीय संस्थाहरूप्रति मात्र नभएर समग्र मुलुकको आर्थिक सूचकमा नै परिवर्तन ल्याएको छ ।
यो त भयो सञ्चारका साधनले ल्याएको विकाससँगै आर्थिक क्षेत्रमा आएको परिवर्तन । योसँगै आजको समयमा बैंक–वित्तीय संस्थानहरूले पनि विभिन्न प्रविधिको प्रयोग गरी मानिसहरूको दैनिक कारोबारलाई सहज तुल्याउँदै आएको छ । सञ्चारको प्रविधिमा आएको विकाससँगै आज मानव जगत्मा पनि उत्तिकै परिवर्तनहरू भएका छन् । यसले सामाजिक परिवर्तन ल्याएको छ, विकासको परिवर्तन ल्याएको छ, समग्र मुलुकको आर्थिक अवस्थामा परिवर्तन ल्याएको छ ।
आज मानिसहरूको दैनिकीलाई अझै सरल रूपमा परिवर्तन गर्ने माध्यममध्ये पर्छ वित्तीय क्षेत्र । हिजोको समय तथा मागलाई परिवर्तन गर्दै आज मुलुकमा वित्तीय क्षेत्रले पनि अत्यधिक रूपमा विकासको गतिलाई अगाडि बढाइरहेको अवस्था छ । मुलुकको हरेक ठाउँमा आज बैंक–वित्तीय संस्था पुगेको छ । सहकारी पुगेको छ, लघुवित्तहरू सञ्चालित छन् । हुन त विगतमा पनि थियो तर यतिको मात्रामा भने अवश्य फस्टाएको थिएन । पहिले–पहिले ग्रामीण भेगहरूमा बैंक–वित्तीय संस्था अत्यन्तै कम रहेको बेलामा मानिसहरू आफ्नो रकम जम्मा गर्न वा निकाल्न सदरमुकाम धाउनुपर्थ्यो ।
मानिसहरू लामो पैदल यात्रापछि मात्र सदरमुकाम आएर बैंक–वित्तीय संस्थासम्बन्धी कामकाज गर्थे । तर, त्यो आज आएर सबै सहज बन्दै गएको अवस्था छ । आज हरेक ग्रामीण भेगमा सहकारी तथा लघुवित्तले आ–आफ्नो कार्य सम्पादन गरी जनतालाई सहजीकरणतर्फ अगाडि बढाइरहेको अवस्था छ भने सहरको त कुरै नगरौं । मुलुकमा रहेको क, ख, ग, घ सबै वर्गका बैंकहरू सहरी क्षेत्रमा सहज रूपमा पुगिसकेका छन् भने बैंक, सहकारी, वित्तीय संस्था पनि उत्तिकै मात्रामा रहेका छन् । अहिल त झन् मानिसहरूलाई बढी सेवा–सुविधा दिन विभिन्न सहकारी तथा बैंकहरूले आ–आफ्नो ब्याजदर सहुलियता तथा विभिन्न बिमा पोलिसीलाई समेत समेटेर अगाडि बढिरहेको अवस्था छ ।
मुलुकभित्र रहेका यस्ता बिमा कम्पनीहरूले त झन् मानिसहरूको सुनिश्चित भविष्यको कदर गरेको हुन्छ । तर, अझ मानिसहरूको दैनिकी र जीवनशैलीलाई सहज रूपमा परिवर्तन गर्दै बैंक–वित्तीय क्षेत्रका सहायक कम्पनीहरूले आ–आफ्नो तरिकाले एप सञ्चालन गरेर घरमा नै बसी–बसी सेवासमेत दिइरहेको अवस्था छ । ई–सेवा, आईएमई पेलगायत धेरै एपले मानिसहरूलाई सहजीकरण गर्दै लगिरहेको अवस्था छ ।
उदाहरणका लागि बत्तीको पैसा तिर्न पहिले सम्बन्धित पायक पर्ने ठाउँमा गएर विद्युत् प्राधिकरणमा घण्टौँ लाइन बसेर बिजुलीको महसुल तिरिन्थ्यो, खानेपानीमा गएर उत्तिकै समय लाइनमा बसेर पानीको महसुल तिरिन्थ्यो, टेलिकममा गएर टेलिफोनको महसुल तिरिन्थ्यो, इन्टरनेट तथा टिभी केबुलको महसुल सम्बन्धित ठाउँमा गएर लाइन बसी–बसी तिरिन्थ्यो । अब ती सबै लाइन बस्ने झन्झट बेहोर्न कम हुने देखिन्छ, कारण बैंक–वित्तीय संस्थाहरूमा आएको डिजिटल परिवर्तनले गर्दा सबैको बिल तिर्न सहज भएको छ ।
अहिले बैंक–वित्तीय क्षेत्रमा पनि लाइन बस्ने झन्झट धेरै कम भएको छ । सबै ठाउँमा टोकनको व्यवस्था कायम गरिएको छ । अझ अहिले धेरै बिमा कम्पनीहरूले आर्थिक रूपमा पनि मानिसहरूको जीवनस्तर सुधार गर्दै बजारमा पोलिसीहरू बिक्री गरिरहेका छन् । यसले गर्दा मानिसहरूले गरेको बिमाले भविष्यमा जीवन निर्वाह गर्नका लागि ठूलो सहयोग गरेको छ । बिमकहरूले निश्चित समय समाप्त भएपछि आफ्नो बिमा रकमको दोब्बर रकमसमेत भुक्तानी पाउने गरेका छन् भने परिवारलाई समेत बिमाले सुनिश्चित भविष्यका लागि आर्थिक रूपमा सहजीकरण गर्दै लगेको छ । त्यसैले अहिले मुलुकमा छोटो समयमा नै विभिन्न बैंक–वित्तीय संस्था, सहकारी तथा बिमा कम्पनीहरूले आममानिसको दैनिकीलाई सहज रूपमा अगाडि बढाउँदै लगिरहेको अवस्था छ । यसका साथै अनलाइन व्यापार–व्यवसायले पनि दिनानुदिन मानिसको दैनिकीलाई सहज बनाउँदै लगिरहेको अवस्था छ ।
अनलाइन व्यापारअन्तर्गत पनि विभिन्न चरणहरू रहेका छन् । कसैले यातायातका साधनबाट सेवा गरिरहेका छन् त कसैले खानेकुराको माध्यमबाट पनि सेवा दिइरहेका छन् । यस्ता अनलाइन व्यवसायले गर्दा पनि मानिसको दैनिकीलाई सहज बनाउँदै लगिरहेको अवस्था छ । त्यति मात्र नभएर अहिले हरेक व्यवसायलाई प्रवद्र्धन गर्न होस्, चाहे बिक्री–बितरण गर्न होस्, अनलाइन व्यापारबाट नै छिटो–छरितो गर्ने गर्छन् । यस्ता अनलाइन व्यवसायमध्ये हाम्रो काठमाडौं उपत्यकामा सबैभन्दा बढी लोकप्रिय अनलाइन व्यवसाय पठाओ हो ।
यस व्यवसायले मानिसहरूलाई दैनिकजसो सेवा प्रदान गरिरहेको छ । यस्ता अनलाइन व्यवसायको राम्रोसँग सुरुवात भएको भने पछिल्लो समय कोरोना भाइरसको कारणले गर्दा नै हो । किनभने विगत तीन वर्ष अघिदेखि निरन्तर रूपमा फैलिएको कोभिडका कारण मानिसहरू घरभित्रै बस्न बाध्य भएका थिए, जसले गर्दा दैनिक खानेकुराका लागि आममानिसको नजरमा अनलाइन व्यवसाय प्रभावकारी भएको थियो, जसले चाहिएको सामान अर्डर गरेको छोटो समयमा नै सम्बन्धित निकायसम्म सजिलै पु¥याउने गरेको थियो । यस अनलाइन व्यावसायिक कम्पनीले पछिल्लो समय बेरोजगार भएर बसेका धेरै युवालाई रोजगारी पनि दिएको छ । आफ्नो सवारी साधन भएको खण्डमा अनलाइन व्यवसाय कम्पनी पठाओले रोजगारी पनि दिएको छ ।
यस्ता पठाओ मोटरसाइकल चालकहरू राजधानीमा धेरै नै रहेका छन् । यसरी सञ्चार अनि प्रविधिको विकाससँगै धेरै मानिसको दैनिकीमा सहजता ल्याएको छ । जस्तै बैंक–वित्तीय संस्थाहरूले मानिसहरूको दैनीकीलाई सहज बनाउन तथा रकमहरूको सुरक्षा गर्न धेरै ग्राहकलाई ई–बैंकिङको सहाराले क्यूआर कोड उपलब्ध गराई हरेक दैनिक आर्थिक क्रियाकलापमा क्यास लेस कारोबारको सुरुवात भइसकेको छ, जसले गर्दा सीधै बंैक टु बैंक कारोबारको सुरुवात भएको छ । क्यासको कारोबार बिस्तारै हट्दै गएको छ ।
विभिन्न सपिङ मलहरूमा होस्, विभिन्न होटल तथा रेस्टुराँहरूमा होस्, अस्पतालहरूमा होस्, दैनिक आवश्यक पर्ने जुनसुकै ठाउँमा किन नहोस्, अहिले विभिन्न बैंकहरूले आफ्ना ग्राहकका लागि क्यूआर कोडको व्यवस्था गरेको हुनाले पनि स–सानो रकमदेखि ठूला–ठूला रकमहरू पनि यही क्यूआरकोडमार्फत भुक्तानी गर्न सहज भएको छ । यसले गर्दा रकम बोकिरहने झन्झट कम भएको छ भने रकम हराउँछ कि भन्ने पनि भएन । तर, अर्को झन्झटिलो भनेको चाहिँ आफ्नो मोबाइलबाट धेरैले क्यूआर कोडमार्फत रकम भुक्तानी गर्दा कति ठाउँमा नेटको समस्याले गर्दा एकपटक पठाएको रकम फेरि नगएर दोहोरो पटक पठाउनुपर्ने बाध्यता, अर्को नेट नभएको ठाउँमा भुक्तानी गर्न समस्या, अर्को महत्वपूर्ण कुरा त वृद्ध बा–आमा तथा अशक्तहरूलाई अनलाइन भुक्तानीसम्बन्धी अनुभव नभएको लगायतले गर्दा पनि धेरै ठाउँमा केही प्राविधिक कठिनाइ आएकै हुन्छ ।
तर, वास्तवमा भन्दा आधुनिक युगमा यो क्यासलेस कारोबारले धेरै मानिसको दैनिकीमा सहजता ल्याइदिएको छ । बैंकमा रकम निकाल्नका लागि लामो समयसम्म लाइन बस्नुपर्ने झन्झट कम भएको छ । पैसा एक ठाउँबाट अर्को ठाउँमा पठाउनका लागि सहज भएको छ । आगामी दिनहरूमा पनि विभिन्न बैंक–वित्तीय संस्थाहरूले बैंकिङ प्रणालीको माध्यमबाट मानिसहरूको दैनिकीलाई कसरी अझ सहज बनाउँदै लानुपर्छ भनेर विभिन्न अध्ययन–अनुसन्धान दिनानुदिन गरिरहेका छन् । पछिल्लो समय राष्ट्र बैंकको नीति अर्थात् बैंकहरूको मर्जर नीतिले गर्दा पनि अहिले पछिल्लो समयमा आएर धेरै बैंक–वित्तीय संस्थाहरू मर्जरको लहरमा धमाधम चलिरहेका छन् । कतिपय बैंकहरू एकआपसमा मर्ज पनि भएका छन्, जसले गर्दा भविष्यमा धेरै ग्राहकलाई बैंक–वित्तीय प्रणालीबाट अझ सहज हुने देखिन्छ ।