भाेली नेपाल औषधि व्यवसायी संघकाे अधिवेशन हुदै

भाेली नेपाल औषधि व्यवसायी संघकाे अधिवेशन हुदै

वीरगन्ज, २१ भदाै । वीरगन्जमा भोलीदेखि हुने नेपाल औषधि व्यवसायी संघको १४ औं राष्ट्रिय अधिवेशनको तयारी सम्पन्न भएको छ । संघ स्थापनाको ५० बर्षको स्वर्णजयन्ति र १४ औं अधिवेशनको सम्पूर्ण तयारी भएको संघले हिजो साँझ पत्रकार सम्मेलनको आयोजना गरेर जानकारी गराएको छ ।

अधिवेशनको प्रमुख अतिथि उपराष्ट्रपति रामसहाय यादवले उद्घाटन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ । अधिवेशनमा मधेस प्रदेशका मुख्यमन्त्रीको पनि उपस्थिति रहने छ । संघका केन्द्रीय पदाधिकारी, सातै प्रदेशका अध्यक्ष, जिल्ला अध्यक्ष लगायत प्रत्येक जिल्लाबाट तीनतीन जनाको प्रतिनिधि र पर्यवेक्षक गरि २१० जनाको अधिवेशन प्रतिनिधिको रूपमा सहभागी हुने संघका अध्यक्ष मृगेन्द्रमेहेर श्रेष्ठले जानकारी दिनुभयो ।

देशको हरेक असहज परिस्थितिमा समेत ज्यानको जोखिम मोलेर सेवामा क्रियाशील रहेको संघको आज हुने बन्दसत्रले नयाँ नेतृत्व समेत चयन गर्नेछ । अध्यक्ष, बरिष्ठ  उपाध्यक्ष, आयात, थाक र खुद्रा विक्रेताबाट एक एकजना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, लगायत पदाधिकारी सहित २१ सदस्यीय कार्य समिति चयन हुनेछन् ।

नेतृत्वमा आकांक्षीहरू भएपनि सर्वसहमतिको प्रयास गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । ५० बर्षदेखि मूल्य एकरूपता कायम गर्दै आएको संघले बार्षिक ६५ अर्बक ओेषधिको कारोबार हुने गरेको र त्यसमध्ये ५५ प्रतिशत आयात हुने र ४५ प्रतिशत स्वदेशी कम्पनीले धानी रहेको संघका अध्यक्ष श्रेष्ठको भनाइ छ । ३२ हजार व्यावसायी आवद्ध रहेको संघले व्यावसायी सहायक राख्न पाउनुपर्ने माग गरेका छन् ।

सरकारले ओेषधि विक्रेताका लागि फार्मेसी गरेको वा तीन महिना तालिम लिएर अनुमतिपत्र प्राप्त व्यक्तिले मात्रै व्यावसाय गर्नपाउने नियम रहेकोमा कमसेकम कर्मचारी राख्दा एकजना व्यवसाय सहायक राख्न पाउनुपर्ने माग गरेका हुन् । त्यस्तै सवारी लाइसेन्सको ५ बर्ष, राहदानीको १० बर्ष भए जस्तै एक एक बर्षमा नविकरण गर्नुपर्ने व्यवस्थाको समयावधि बढाउनुपर्ने माग समेत गरेका छन् ।

एकबर्ष भित्र नविकरण नगर्दा १०००% सम्म जरिवाना लिने गरेको भन्दै त्यसलाई हटाएर समयावधि बढाउन माग गरेका हुन् । यसैबीच संघको अध्यक्षमा वीरगन्जका व्यावसायी प्रकाश खण्डेलवालले उम्मेदवारी दिने तयारी गर्नुभएको छ । लामो समयदेखि औषधि व्यावसायमा संलग्न खण्डेलवालले आफू अध्यक्षको दावेदार रहेको बताउनुभयो । आफूलाई विश्वास गरेर अध्यक्षमा मतदान गर्नेमा पनि उहाँ विश्वस्त हुनुहुन्छ ।