आमाको उपचार गरि फर्किएका भारतीय (एसएसबी) जवानको गोली हानी हत्या 

आमाको उपचार गरि फर्किएका भारतीय (एसएसबी) जवानको गोली हानी हत्या 

वीरगन्ज, २२ भदौ । बाराको सिम्रौनगढ नजिक सीमावर्ती भारतको पूर्वी चम्पारण ललबेगिया नयका टोला गाउँ नजिकै भारतीय सीमा सुरक्षा बल (एसएसबी) जवानको गोली हानी हत्या भएको छ । घोडासहन बगहा गाउँ निवासी एसएसबी जवान धर्मेन्द्र कुमारको बिहीबार अज्ञात समूहले गरेको गोली प्रहारबाट मृत्यु भएको हो ।

आमाको उपचार गराई मोतिहारीबाट आफ्नो घर फर्की रहेको बेला ललबेगिया नयका टोला बजरङ्गबलीको मन्दिर नजिकै अपराधिक समूहले मोटरसाईकल रोकेर  धर्मेन्द्र कुमारसँग पैसा मागेका थिए । तर, धर्मेन्द्रले आफु आमाको उपचार गराई आएकोले पैसा नभएको बताएपछि अपराधिक समूहले धमेन्द्रलाई गोली प्रहार गरेका थिए ।

गोली प्रहारबाट घाईते धर्मेन्द्रलाई उपचारको लागि मोतिहारी पुर्‍याउँदा चिकित्सकले उहाँलाई मृत घोषणा गरेको थियो ।  धर्मेन्द्रको पाखुरामा गोली लागेको थियो । घटनाको सम्बन्धमा भारतको  सिकरहना प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।

अन्य व्यक्तिको पनि खोजी भैइरहेको सिकरहनाका डीएसपी  राकेश कुमारले जानकारी दिनुभयो । एसएसबी जवान धर्मेन्द्र कुमार मधुबनीको राजनगर पोस्टमा कार्यरत रहेका थिए । आमा बिरामी भएपछि दस दिनको छुट्टीमा घर आउनुभएको थियो । उहाँको आमा सावरी देबीको उपचार पटनामा भैइरहेको थियो । पटनाबाट धर्मेन्द्र ट्रेनले मोतिहारी आएर घर फर्किरहेको बेला यो घटना भएको हो ।