वीरगन्जका होटलहरुको स्तरीकरण मूल्यांकन शुरु
वीरगन्जका होटलहरुको स्तरीकरण मूल्यांकनन शुरु गरिएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालय अन्तर्गतको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले नेपालको प्रमुख प्रवेशद्वार वीरगन्जमा यसअघि होटल तथा रेष्टुरेण्टहरुमा खाद्य स्वच्छता कायम गर्नका लागि अभिमूखीकरण तालिम प्रदान गरेर होटल तथा रेष्टुरेण्टमा खाद्य स्वच्छता सम्बन्धमा सचेत गराएको र अहिले ती होटलहरुलाई स्तरीकरण गर्न शुरु गरिएको हो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले तयार गरेको ५० वटा मापदण्ड त्यस अनुसार होटलहरुलाई स्तरीकरणको स्टिकर टाँस गर्न शुरु गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रदेश २ जनकपुरधामका प्रमुख विजय खनालले बताउनुभयो । स्तरीकरण गरेर स्टिकर टाँस्ने काम होटलहरुलाई दण्ड जरिवाना गरेको नभई होटलमा हुने खाद्य स्वच्छता र सुरक्षाको प्रवर्ध्दन मात्रै भएको खनालले बताउनुभयो ।
होटलमा हुनुपर्ने सरसफाई, खाद्य वस्तुको व्यावस्थापन, सम्पर्कमा आउने स्थलहरु उपयुक्त सामग्री प्रयोगरी निर्माण गरिएको हुनुपर्ने, सरसफाई गर्न प्रयोगमा ल्याईने रासायनहरु तथा विषादीलाई खाने कुराहरु भन्दा टाढा, लेवल लगाई उपयुक्त तबरले भण्डारण गरिएको हुनुपर्ने, खाना बनाउने ठाउँ, खाना खुवाउने ठाउँ तथा भण्डारण कोठामा प्राकृतिक वा कृत्रिम प्रकाशको पर्याप्त व्यावस्था गरिएको हुनुपर्ने, खाने कुरा राख्ने, बनाउने, तथा खुवाउने ठाउँसँग प्रत्यक्ष रुपमा जोडिने गरी शौचालयहरु नजिक नभएको तथा आफै लाग्ने ढोका भएको हुनुपर्ने लगायतका विभिन्न ५० वटा मापदण्ड रहेका छन् ।
अनुगमनका क्रममा ५० वटा मापदण्ड मध्य अधिकांश मापदण्ड पूरा गरी वीरगन्जको होटल क्लार्क रिसोर्टले ९४ अंक प्राप्त गरि हरियो स्टिकर प्राप्त गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय वीरगन्जका प्रमुख विक्की राउतले बताउनुभयो । त्यस्तै दियालो लर्ड्स र भिस्वा होटलले पनि हरियो स्टिकर प्राप्त गरेको छ ।
क्लार्क रिसोर्टबाट शुरु गरिएको स्वच्छता मापदण्ड स्करीकरण डिलाईट रेष्टुरेण्ट, होटल कन्ट्री इन, दियालो लर्ड्स लगायत २१ वटा होटलहरुमा गरिने राउतले बताउनुभयो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले दिएको अभिमुखीकरण तालिमले व्यावसायिक होटलहरुमा हुनुपर्ने खाद्य स्वच्छता लगायतका व्यावसायिक धेरै कुराहरु जानकारी लिन पाएको र उपलब्धि मूलक भएको होटल क्लार्क रिसोर्टका संचालक सुनिल खेतानले बताउनुभयो ।
उहाँले होटलमा काम गर्ने मजदुर कर्मचारीहरुले मात्रै नभई होटल व्यावस्थापनका लागि संचालकहरुको लागि पनि अभिमुखीकरणले ठूलो सहयोग पुगेको उहाँले बताउनुभयो । होटलहरुको स्तरीकरण र मुल्यांकनले कतिपय आफूलाई जानकारी नभएका नयाँ कुराहरु पनि थाहा पाएको बताउनुभयो ।
परम्परागत शैलीमा सञ्चालन भईरहेका वीरगन्जका होटल तथा रेष्टुरेण्टहरुलाई स्तरीकरण र मुल्यांकन सूचकाङ्कले व्यावसायिक होटल सञ्चालन र व्यावस्थापनमा धेरै सहयोग पुगेको होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले बताउनुभयो । होटलहरुको मुख्य स्रोत भनेकै पर्यटकहरु रहेकोले राज्य संयन्त्रबाटै हुने यस्ता खालको स्तरीकरण र मुल्यांकनले पर्यटकहरुमा पनि विश्वसनीयता बढ्ने र होटल व्यावसायहरुको पनि प्रवद्र्धन हुने अध्यक्ष पन्तको तर्क छ ।
होटल तथा पर्यटन व्यवसायी संघ वीरगन्जकै समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरका प्रमुख विजय खनाल, पर्साका प्रमुख विक्की राउत, वीरगन्ज उद्योग वाणिज्य संघ मनोज दास, उपभोत्ता हित संरक्षण मञ्च वीरगन्ज महानगरका अध्यक्ष अजित भूजेल, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक दिपेन्द्र श्रेष्ठ र सञ्चारकर्मीहरको संयुक्त टोलीले होटलहरुको अनुगमन निरीक्षणपछि स्तरीकरण र मूल्यांकन गरिएको हो ।