अर्थमन्त्रीका इमान्दार भन्सार प्रमुखहरु कम्बल ओढेर घ्यु खादै

राजस्व संकलन कम भएपछि तेश्रो मुलुकको व्यापार कम भएको बाहाना 

अर्थमन्त्रीका इमान्दार भन्सार प्रमुखहरु कम्बल ओढेर घ्यु खादै

वीरगन्ज, २४ फागुन । जिल्ला प्रहरी कार्यालय पर्साले भन्सार छलिको सामान लोड गरेको दुईवटा ट्रक एकै दिन नियन्त्रणमा लिएको छ । विल विजक भन्दा बढी सामान लोड गरेको मालकवाहक ट्रक काठमाडौं र रुपन्देही जादै गरेको जिल्ला प्रहरी कार्यालय पर्सालाई प्रहरीको गुप्तचरहरुबाट सूचना प्राप्त भयो ।

त्यस लगत्तै खटिएको जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले फागुन २३ गते दिउँसा करिब १ः३० मा वीरगञ्ज महानगरपालिका वडा नं. ०८ घण्टाघर सडकखण्डबाट ना.३ ख. ३९४४ मालवाहक ट्रक नियन्त्रणमा लियो । नियन्त्रणमा लिएको ट्रक चेकजाँच गर्दा सूचना पाए अनुसारकै भन्सार छली गरी ल्याइएका लत्ताकपडा, जुत्ता तथा खुद्रा सामानहरू फेला प-यो ।

सोही दिन साँझ ५ः३० बजेतिर त्यस्तै सूचना पाएको पर्सा प्रहरीले खुद्रा मालबस्तुहरू तथा हार्डवेयर पार्टसहरू लोड गरेर काठमाण्डौ लादै गरेको  ना.६ ख. ९९९५ नम्बरको मालवाहक कन्टेनर वीरगञ्ज महानगरपालिका वडा नं.–१५ प्रतिमाचोक सडक खण्डबाट नियन्त्रणमा लियो । कण्टेनर नियन्त्रणमा लिएर चेक जाँच गर्दा प्रहरी कार्यालयलाई प्राप्त भएको सूचना मुताविककै भन्सार छली गरी ल्याइएका खुद्रा सामानहरू तथा हार्डवेयर पार्टसहरू फेला प-यो ।

फलामको डण्डी लोड गरेको गाडीमा भित्र कपडा लुकाएर काठमाडौं गगईरहेको चार वटा ट्रक फागुन १२ गते इलाका प्रहरी कार्यालय खैरहनीले नियन्त्रणमा लिएको थियो । उक्त गाडीमा ८६ वटा पोका कपडा भेटिएको थियो । उक्त कपडाहरु भंसारकै सेटिङमा काठमाडौंका लागि छाडिएको भेटिएको छ । प्रहरीले पक्राउ गर्नुअघि भंसार कार्यालयका कर्मचारीहरुले आर्थिक प्रभावमा परेर ती गाडीहरु छाडेका थिए ।

स्रोतका अनुसार वीरगन्ज भंसार कार्यालयका प्रमुख प्रशासक अरुण पोखरेलले तस्करहरुसँग साँठगाँठ गरेर उक्त लत्ता कपडाहरु भन्सार नै नतिराई काठमाडौं पठाएका थिए । प्रहरीले खैरहनीमै पक्राउ गरेर फेरी अनुसन्धान लागि वीरगन्ज भन्सार कार्यालयलाई नै दाबीसहित फिर्ता गरिदिएपछि नाकामा राजस्व असुल गर्न राखिएका अर्थमन्त्रालयका कर्मचारीहरु तनावमा छन् । करिब साढे ३ करोड दाबी सहित खैरहनी प्रहरीले पक्राउ गरेको गाडी वीरगन्ज भंसार कार्यालयमा पठाएको हो ।

राजस्व अनुसन्धान विभागले यस्ता अवैध कारोबार र ओसार पसार नियन्त्रणका लागि भीसीटीएस प्रणाली लागू गरेको छ । राजस्व विभागले नै कार्यान्वयनमा ल्याएको भीसीटीएस प्रणालीलाई नै चुनौती दिदै भन्सार छलिका सामानहरु प्रहरीले पक्राउ गर्नुले भन्सार कर्मचारीहरुसँग तस्करको राम्रै साँठगाँठ भएको अनुमान गर्न सकिन्छ ।

मुलुकको प्रमुख भन्सार नाका वीरगन्ज, अर्थतन्त्रको सामरिक क्षेत्र हो । नेपालको कूल आयातमा वीरगन्ज भन्सार र आईसीपले मात्रै ३३.२३ प्रतिशत हिस्सा लिएको छ । इनर्वा स्थित पूरानो भन्सार कार्यालय मात्रै हुँदा राजस्व चुहावट नियन्त्रण चुनौती भएको भन्ने भन्सार अधिकृतहरुले अहिले एकीकृत भन्सार चाजँचौकी (आईसीपी) बाट आयात निर्यात हुनथालेपछि राजस्व घट्ने कारण भने तेश्रो मुलुकबाट आयात घटेको बाहाना गर्ने गरेका छन् ।

तर, कारण भने भारतबाट आउने व्यापारमा भन्सार प्रमुखहरुकै सेटिङ्गमा राजस्व छलीका सामान भित्रिने हुँदा राजस्व कम हुने गरेको छ । वैदेशिक व्यापार भन्दा भारतसँगको आयातमा नेपालको राजस्व हिस्सा बढी छ । भन्सार विभागको तथ्यांक अनुसार भारतबाट १०६.३७ अर्बको व्यापार भएको छ ।

नेपालको सबै भन्दा आकर्षक कार्यालय मानिने वीरगन्ज भन्सार कार्यालयमा नायव सुब्बादेखि अधिकृत र प्रमुख भन्सार अधिकृतसम्मको पटक पटक अवसर पाउने वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेल भन्सार प्रशासन र प्रणालीको विषयमा पुस्तक नै लेख्ने व्यक्ति हुन् । अहिले उनै प्रमुख भन्सार अधिकृत छन् । त्यसपछि वर्तमान अर्थमन्त्रीको गृहजिल्ला रुकुम कै इमान्दार दिलिप केसी पनि प्रमुख भन्सार अधिकृत नै छन् । यातायात व्यावस्था कार्यालयमा काम गरिसकेका अरुण कुमार पोखरेल अहिले भन्सार प्राशसकको रुपमा कार्यरत रहेका छन् ।

तीनै जना दिग्गज भन्सार प्रशासक र प्रमुखहरुको कार्यकालमा सशस्त्र प्रहरी १३ नम्बर गण हेडक्वाटर पर्साले चालू आर्थिक बर्षको मंसिर महिना सम्ममा मात्रै १० करोड ८८ लाख २४ हजार २ सय ८७ रुपैंया बराबरको १४ वटा ट्रक, २ वटा जीप र एउटा ट्र्याक्टर भन्सार छलीका सामान सहित नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।

त्यस्तै सोही अवधिमा जिल्ला प्रहरी कार्यालय पर्साले ९ करोड ७२ लाख ३१ हजार १३८ बराबरको १४ वटा ट्रक,, २ वटा ट्र्याक्टर, १५ वटा मोटरसाईकल, एउटा टाटा सूमो, एउटा स्कारपियो गाडी बरामद गरेको थियो ।