प्रधानमन्त्रीपत्नी सीता दाहालको निधन, दिउँसो २ बजे आर्यघाटमा अन्तयष्टि गरिने
वीरगन्ज, २७ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहालको निधन भएको छ । उहाँको आज बिहान नर्भिक अस्पतालमा ८ः३३ मा निधन भएको हो ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.) बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान पर्नुभएको थियो । अहिले भने उहाँलाई हृदयाघात भएको अस्पताल स्रोतले जनाएको छ ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उहाँलाई आज बिहान ८ बजे अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा सीपीआर लगायतका विधिबाट उपचार गरिएको थियो । तर सुधार नभएपछि ८ बजेर ३३ मिनेटमा मृत घोषणा गरिएको अस्पतालले पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्नीसँगै प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुग्नु भएको थियो ।
अन्य विशिष्ट व्यक्तित्वहरु र पार्टी कार्यकर्ताहरु पनि अस्पताल परिसर पुगेका छन् ।सीता दाहालको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ । त्यसअघि उहाँको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने छ ।
बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि राखिने र २ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।