बल्ल ल्यायो छिपहरमाई गाउँपालिकाले ३३ करोड ५५ लाखको बजेट 

बल्ल ल्यायो छिपहरमाई गाउँपालिकाले ३३ करोड ५५ लाखको बजेट 

वीरगन्ज, २७ असार । छिपहरमाई गाउँपालिकाले आर्थिक बर्ष २०८०/०८१ को लागि बजेट सार्वजनिक गरेको छ । असार १० गते नै ल्याउनुपर्ने बजेट छिपहरमाई गाउँपालिकाले हिजो सार्वजनिक गरेको हो ।

आगामी आर्थिक बर्षको लागि छिपहरमाई गाउँपालिकाको १६ औं गाउँसभाबाट आगामी आर्थिक बर्षको लागि ३३ करोड ७५ लाख ५५ हजार ८ सय रुपैंया बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले सार्वजनिक गरेको बजेट मध्य चालू खर्चतर्फ २१ करोड २४ लाख ३० हजार ८ सय र पूँजीगतखर्चतर्फ १२ करोड ४८ लाख २५ हजार विनियोजन गरेको छ ।

विनियोजित बजेटको सीमामा रहेर नीति तथा कार्यक्रम ल्याएको उल्लेख गरिएको छ । हिजो प्रस्तुत गरिएको बजेटमा कृषि तथा पशुतर्फ स्थानीयतको उत्पादनलाई विक्री वितरणमा सहजता ल्याउन आधुनिक कृषि मार्केट निर्माण गरिने, किसानहरुको सूचीकरण र अभिलेखीकरण आगामी आर्थिक बर्षदेखि शुरु गरिने, दुग्ध उत्पादनमा अनुदानको व्यावस्था गरिने जनाएको छ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, युवा तथा खेलकुद, खानपानी तथा सरसफाई, भूमि व्यावस्था तथा सहकारी, महिला बालबालिका तथा ज्येष्ठ नागरिक, पर्यटन तथा संस्कृति, पूर्वाधार, वातावरण तथा विपद व्यावस्थापन, उर्जा, संस्थागत विकास तथा सेवा प्रवाह र सुशासन प्रवद्र्धनलाई प्राथामिकतामा राखेर बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहले जानकारी दिनुभयो ।