सडक मर्मत गर्ने प्रतिबद्धतापछि टेलिकमको फोहोर महानगरले उठायो
वीरगन्ज, २२ चैत । वीरगन्ज महानगरपालिकाको बाईपास सडकमा भत्काईएको सडक मर्मत गर्ने प्रतिबद्धतापछि नेपाल टेलिकम परिसरमा वीरगन्ज महानगरपालिकाले मंगलबार फालेको फोहोर उठाएको छ । वीरगन्ज महानगरपालिकाको रजतजयन्ति चोकसम्मको सडकमा नेपाल टेलिकमले फाईबर ओछयाउने क्रममा भत्काएको सडक मर्मत गर्न ढिलाई गरेपछि महानगरपालिकाले मंगलबार टेलिकम परिसरमा फोहोर लगेर थुपारिदिएको थियो ।
टेलिकमले मर्मतको लागि ठेक्का दिएको पाईनस÷बनके जेभी ठेकेदार कम्पनीले ३०० मिटर सडक मर्मतमा ढिलाई गरेपछि महानगरले नगरको फोहोर टेलिकमको परिसरमा लगेर फालेको हो । महानगरपालिकाले टेलिकमको क्षेत्रीय निर्देशनालयको कार्यालय परिसरमा फोहोर फालेपछि दबावमा परेको ठेकेदार कम्पनीले पनि बुधबारदेखि मर्मत सुचारु गर्ने प्रतिबद्धता टेलिकमलाई गरेको र त्यसको जानकारी नेपाल टेलिकम क्षेत्रीय निर्देशनालयले वीरगन्ज महानगरपालिकालाई गराएपछि मंगलबार साँझ नै त्रीपक्षीय सहमति भएको हो ।
मंगलबार साँझ बसेको त्रीपक्षीय वार्तामा मर्मत गर्ने सहमतिपछि महानगरले फोहोर उठाएको वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनुभयो । टेलिकमको फाईबर ओछ्याउने क्रममा भत्काईएको सडक मर्मत गर्दागर्दै तीनसय मिटरको लागि इन्टरलक ब्लक अपुग भएको र इन्टरलक ब्लक उत्पादन कम्पनी जगदम्बामा अर्डर गरिसकिएकोले आज ब्लक आएपछि मर्मत सुचारु गर्ने ठेकेदार कम्पनीले जनाएको छ ।
ठेकेदार कम्पनीले मर्मतमा देखाएको सुस्तताको परिणाम टेलिकममा फोहोर थुपार्नुपर्ने बाध्यता नगरपालिकालाई आईपरेको हो । यद्यपि महानगरपालिकाको कार्यशैलीप्रति विभिन्न टिका टिप्पणी भएपनि ठेकेदार कम्पनीहरुको प्रवृत्तिको प्रतिउत्पादक क्रिया भन्नेहरु पनि छन् ।
निर्माण कम्पनीका ठेकेदारहरुले जहँसुकै काम गर्दापनि समयमा काम नगर्ने, पटक पटक आग्रह गर्दा समेत वेवास्ता गर्ने प्रवृत्तिले यस्तो कदमहरु चाल्नुपर्ने बाध्यता हुने गरेको छ । राज्यका निकायहरु पनि सडकमा प्रतिउत्पादक प्रतिक्रियाहरु नदेखिएसम्म उनीहरुले चासो नदिने प्रवृत्तिले पनि यस्ता घटनाहरु हुने गरेको छ ।