ठोरी गाउँपालिकामा युवा नमूना गाउँसभाको अभ्यास सम्पन्न
वीरगन्ज, १० असार । पर्साको ठोरी गाउँपालिकामा युवा नमूना गाउँसभाको अभ्यास सम्पन्न भएको छ । युवा परिषद नेपालको सहयोगमा ठोरी गाउँपालिकाको आयोजनामा आयोजित चारदिने तालिमपछि बिहीबार अभ्यास सम्पन्न भएको हो ।
चारदिनमा गाउँपालिकाको पाँचवटै वडाबाट चुनिएर आएका युवाहरुले गाउँपालिकामा कार्यक्रम र बजेटहरु कसरी निर्माण गरिन्छ । गाउँसभामा कसरी प्रस्तुत गरिन्छ । के के कुरालाई प्रथामिकतामा राख्नुपर्छ र कसरी बजेटको प्रयोग गरिन्छ भन्ने विषयमा चारदिनसम्म तालिम लिएका थिए ।
तालिम पश्चात उनीहरुले अन्तिम दिन बिहीबार नमूना युवा गाउँसभाको आयोजना गरेर समापन गरिएको थियो । समापन समारोहमा गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले युवाहरुले सिकेका कुराहरुलाई व्यवहारमा लागू गर्न सकिए गाउँपालिकाको विकासमा सहयोग पुग्ने बताउनुभयो ।
गाउँपालिकाहरुमा निर्वाचित जनप्रतिनिधिहरुलाई गाउँसभाको आयोजनाको विषयमा समेत जानकारी नहुने भएकोले युवाहरुलाई जस्तै गाउँपालिकाका प्रतिनिधिहरुलाई पनि तालिमको आवश्यकता औल्याउनुभयो । बजेट निर्माणका क्रममा प्राथामिकतालाई ध्यान नदिएर आफू अनुकूलको बजेट कार्यक्रमहरु ल्याउन दबाव आउने गरेको भन्दै प्रशिक्षणहरुले यसको सही सदुपयोग गर्ने तरिका जानकारी हुने बताउनुभयो ।
उहाँले नमूना गाउँसभको अभ्यासमा प्रस्तुत गरिएको नीति कार्यक्रम तथा बजेटका अधिकांश विषयहरु ठोरी गाउँपालिकाकाले प्रस्तुत गर्ने नीति तथा कार्यक्रममा पनि समेटिएको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय युवा परिषदका पर्सा अध्यक्ष अमिताभबच्च दास, गाउँपालिकाकी उपप्रमुख गोकुली कुमारी रेग्मी,
कार्यपालिका सदस्यहरु, वडाका अध्यक्षहरु, पालिकाका कर्मचारीहरु र सञ्चारकर्मीहरुको समेत उपस्थिति रहेको कार्यक्रमका श्रोत व्यक्ति तथा पालिकाका शिक्षा संयोजक भूपाल जोशीले जानकारी दिनुभयो ।