३० युनिटसम्म विद्युत खपत गर्ने ग्राहकको महशुल महानगरपालिकाले भुत्तानी गर्ने
वीरगन्ज, ७ पुस । वीरगञ्ज महानगरका ३० युनिटसम्म खपत गर्ने ग्राहकको विद्युत महसुल वीरगन्ज महानगरपालिकाले भुत्तानी गरिदिने भएको छ । पुसदेखि ३० युनिटसम्म विद्युत महशुल महानगरले भुत्तानी गर्ने भएपछि नगरवासीको विद्युत महसुल निःशुल्क हुने भएको हो ।
बिहीबार महानगरपालिका र विद्युत प्राधिकरणबीच ५ एम्पियर र १५ एम्पियरको एमसीबी प्रयोग गर्ने ग्राहकहरुको ३० युनिटसम्मको महशुल महानगरले ब्यहोर्ने सम्झौता भएको छ । महानगरपालिकाका प्रमुख राजेशमान सिंह र उपप्रमुख इम्तियाज आलमको उपस्थितिमा प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल र नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झा तथा सिमरा वितरण केन्द्रका प्मुख रामु श्रेष्ठबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
अब मासिक ३० युनिटसम्म विद्युत् खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले नै भुक्तानी गर्ने छ । वीरगञ्ज महानगरपालिका जनताको विद्युत महसुल निःशुल्क गर्ने मधेस प्रदेशकै पहिलो स्थानीय तह बनेको छ । सम्झौताको जानकारी दिन बिहीबार महानगरको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुख राजेशमान सिंहले आफूहरुले निर्वाचनका बेला जनताकाबीच गरेको प्रतिबद्धता अनुसार नगरवासीको विद्युत महसुल निशुल्क गर्ने गरी सम्झौता गरेको बताउनुभयो ।
महानगरको मेयरमा सपथ लिएसँगै सिंहले पहिलो बैठकबाटै विद्युत महशुल निशुल्क गर्ने निर्णय गर्नुका साथै नगरपरिषद्बाट समेत निर्णय पारित गराउनुभएको थियो । उहाँले भन्नुभयो , ‘लाभग्राही पहिचान र तथ्यांक संकलन गर्न समय लाग्यो, अब ढिलै भएपनि यो महिनादेखि कार्यान्वयनमा ल्याउन हामी सफल भएका छौँ ।’
‘हामीले सपथ लिएसँगै यो निर्णय कार्यान्वयन गराउने प्रयास गरेका हौँ, भनेको भन्दा केही महिना ढिला हुन पुगेको छ,’ सम्झौता बमोजिम अब मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने प्रयोगकर्ताको न्यूनतम शूल्क र इनर्जी शुल्क महानगरले भुक्तानी गर्ने उहाँले बताउनुभयो ।
८ बुँदे सम्झौतामा महानगरपालिकाभित्रका ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीअरको एमसिबी प्रयोग गरी अधिकतम् ३० युनिट खपत गर्ने ग्राहकको विद्युत महशुल र न्युनतम मासिक महशुल महानगरले व्यहोर्ने उल्लेख छ । यस्तै महानगरभित्र संचालित सिंगल फेज कृषि मिटरको सम्पूर्ण ग्राहकको मासिक विद्युत महशुल पनि महानगरले नै व्यहोर्ने छ ।
महानगरले प्राधिकरणको खातामा अग्रिम रकम भुक्तानी गर्ने र त्यही अनुरुप प्राधिकरणले हरेक महिना रिबेटसहितको ग्राहकको शुल्क फछ्यौृट गर्ने छ । सम्झौता बमोजिमको सुविधा प्राप्त गर्न ग्राहकले सम्झौता लागु हुनु पूर्वको आफ्नो बक्यौता भने चुक्ता गरेको हुनु पर्ने पनि सम्झौतामा उल्लेख छ ।
कुनै कारणबस सम्झौता बमोजिमको शुल्क भुक्ता हुन छुट भए उपभोक्ताले मासिक मिटर रिडिङ भएको मितिले ६ दिन भित्र प्राधिकरणको कार्यालयमा दावी गर्न सकिने पनि उल्लेख छ । उपभोत्तामा आधारित मिटर भएको हुँदा जसले ३० युनिटसम्म विद्युत खपत गर्छ यसको महानगरपालिकाले महशुल भुत्तानी गर्ने प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताउनुभयो ।
३० युनिट भन्दा बढी खपत गरेकाहरुले भने यो सुविधा पाउनेछैन । महानगरपालिकासँग भएको सम्झौताले विद्युत महशुल असुलीमा सहज हुने र यसले विद्युत प्रयोगका लागि ग्राहकलाई पनि जिम्मेवार बनाएको नेपाल विद्युत प्राधिकरण वीरगन्ज वितरण केन्द्रका प्रमुख जितेन्द्र झाले प्रतिक्रिया दिनुभयो ।