११ वटा बिमा कम्पनीहरु विमा समितिको कारवाहीमा
काठमाडौं, १८ माघ। आर्थिक वर्ष २०७६–७७ मा आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण प्रतिवेदन नबुझाउने ११ वटा बिमा कम्पनीहरुलाई बिमा समितिले कारवाही गरेको छ ।
लेखापरीक्षण प्रतिवेदन नबुझाएको भन्दै समितिले विभिन्न ११ वटा बिमा कम्पनीहरुलाई रु १० हजारका दरले जरिवाना कारबाही गरेको हो । बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार सरकारी स्वामित्वको राष्ट्रिय विमा संस्थानदेखि नीजि विमा कम्पनीहरु समेत रहेका छन् ।
यसरी कारबाहीमा पर्नेमा कम्पनीहरुमा दि ओरियण्टल इन्स्योरेन्स कम्पनी, नेशनल इन्स्योरेन्स कम्पनी, राष्ट्रिय बिमा संस्थान, राष्ट्रिय बिमा कम्पनी, नेपाल लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र सानिमा लाइफ रहेका छन् ।
बिमा कम्पनीले आफूले गरेको बिमा व्यवसायको हिसाब–किताबको लेखापरीक्षण मान्यता प्राप्त लेखापरीक्षकबाट लेखा परीक्षण गराई सोको प्रतिवेदन प्रत्येक आर्थिक वर्ष सकिएको मितिले १० महिनाभित्र समितिलाई बुझाउनुपर्ने बिमा ऐन, २०४९ मा व्यवस्था छ । ती बिमा कम्पनीले यही व्यवस्थाको उल्लंघन गरेको समितिले जनाएको छ ।