दूध लिटरको ६.८८ रुपैयाँ बढ्यो, लागत मूल्य अनुसार अझै नबढेको किसानको गुनासो
वीरगन्ज, १८ माघ । सरकारले दुधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि दूधको समर्थन मूल्य प्रतिलिटर ५६.४ रुपैयाँ तोकेको छ ।
कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ ९ धृतांश बाहेकको ठोस पदार्थ० ८ प्रतिशत कायम गरेको छ । दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । नयाँ निर्णयअनुसार लिटरमा ६.५२ रुपैयाँले वृद्धि भएको छ। दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको हो ।
गाई भैँसी खरिद मूल्यमा ४० , पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९, विदेशी विनिमय दर (डलर) ७, श्रमिकको पारिश्रमिक १०.३३, बैंकको ब्याजदर ३।३ र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले बढेका कारण दूधको मूल्यमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।
दूधको मूल्य वृद्धिका लागि राष्ट्रिय दूध विकास बोर्डले एक महिना लगाएर सातवटै प्रदेशमा गएर अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । सो प्रतिवेदनअनुसार प्रशोधित दूधको मूल्यमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी ८६ रुपैयाँ कायम गर्न कृषि मन्त्रालयलाई सिफारिस गरेको थियो ।
तर, किसानहरुले भने लागत मूल्यको आधारमा मूल्यवृद्धि कम भएको बताएका छन् । सरकारले बढाएको मूल्यमा किसानलाई केही राहत मिल्ने भएपनि किसानको लागत मूल्य अनुसार भने मूल्य कम नै रहेको डुमरवाना डेरीका प्रवन्धक दिपक घिमिरेले बताउनुभयो ।
उहाँका अनुसार अहिले वृद्धि भएको दुधको मूल्य पशुलाई खुवाउने दाना तथा आहाराको मूल्यको आधारमा कम रहेको छ । पशु आहारको मूल्य वृद्धि गर्नका लागि कुनै निकाय नचाहिने र उत्पादकले आफैले मूल्य तोकेर विक्री वितरण गर्ने भएकोले पुनःपशुआहारमा मूल्यवृद्धि भएमा दुध उत्पादक किसानलाई फेरी उही समस्या हुने उहाँको भनाई छ ।