गुरुकुल एकेडेमीको मनिटर र क्याप्टेनको सपथ ग्रहण सम्पन्न
वीरगन्ज, १७ असोज । वीरगञ्जको गुरुकुल एकेडेमीमा यस शैक्षिक सत्रका लागि चयन भएका कक्षाका मोनिटर तथा हाउस क्याप्टनहरुको शपथ ग्रहण समारोह सम्पन्न भएको छ । कक्षा १ देखि १० सम्मका हरेक सेक्सनका गरेर ३० जना मोनिटर, चार वटा हाउसका क्याप्टनका साथै स्कुलभरीको हेड गर्ल र हेड ब्वायलाई एक समारोहका बीच शपथ गराइएको हो ।
शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक ध्रुब कुमार श्रेष्ठले जिम्मेवारीले व्यक्तिलाई परिपक्व बनाउने बताउनुभयो । विद्यार्थीहरुलाई इमान्दारीपूर्वक आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गर्दै प्रवक्तासमेत रहेका श्रेष्ठले पठनपाठनसँगै अतिरिक्त क्रियाकलापमा पनि सरिक भएमा व्यक्तित्व विकास सँगै क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।
सोही अवसरमा उहाँले विद्यार्थीहरुलाई साइबर अपराधका बारेमा पनि प्रशिक्षण पनि दिनुभएको थियो । गुरुकुल एकेडेमी सञ्चालक समितिका अध्यक्ष ईन्जिनियर रामबाबु प्रसादले विद्यार्थीहरुको नेतृत्व क्षमता अभिवृद्धि गर्ने अभिप्रायले हरेक वर्ष विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको बताउनुभयो । आजका विद्यार्थीहरु नै भोली देश र समाजको नेतृत्वकर्ता बन्ने हुँदा सानैदेखि नेतृत्वको विकासमा विद्यार्थीहरुलाई प्रेरित गर्न एकेडेमीले कुनै कसर बाँकी नराखेको उहाँको जिकिर छ ।
एकेडेमीकी प्रिन्सीपल तेजिन्द्र कौरका अनुसार शपथ ग्रहण गरेसँगै हरेक कक्षाका मोनिटरहरुले कक्षालाई अनुशासित बनाउने जिम्मेवारी निर्वाह गर्ने र हाउस क्याप्टनहरुले स्कुलमा हुने अतिरिक्त क्रियाकलापलाई सफल बनाउन भूमिका खेल्ने जिम्मेवारी रहने बताउनुभयो । कार्यक्रममा एकेडेमीको सञ्चालक समिति सदस्यहरु प्रदीप कुमार साह, रेखा साहका साथै एकेडेमीका शिक्षक, शिक्षिका, अभिभावक एवम् विद्यार्थीहरुको उल्लेख्य उपस्थिती रहेको थियो ।