मोतीहारीमा बाराका एसपी काफ्लेको पुत्ला जलाए, अभियुक्तको नाम नहटाए जेसुकै गर्ने धम्की
वीरगन्ज, २१ कार्तिक । बारा कलैयाको बाल एकता बोर्डिङ स्कुलका सञ्चालक रुपेश स्वर्णकार हत्या घटनामा बारा प्रहरीले अभियुक्त बनाएका व्यक्तिहरुले आफूहरुलाई दोषी प्रमाणित गरेर देखाउन बारा प्रहरीलाई चुनौती दिएका छन् ।
भारतको मोतीहारी थाना दार्पाको तिनकौलीमा हिजो विरोध प्रदर्शन गर्दै बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेको पुत्ला पनि जलाएका छन् । अजित सिंहको हत्यामा संलग्न रहेकाहरु नै रुपेश स्वर्णकार हत्यामा पनि संलग्न रहेको भन्दै बारा प्रहरीले भारतको बिहार राज्यको मोतीहारी थाना दार्पाका कामेश्वर सहनी र रञ्जित मुखियालाई अभियुक्त बनाएको छ ।
आफूहरु घटनामा संलग्न नभएपनि अभियुक्त बनाएको भन्दै विरोध प्रदर्शन सहित बारा प्रहरी प्रमुख एसपी काफ्लेको पुत्ला जलाएका हुन् । उनीहरुले आफूहरु निर्दोष रहेको भएपनि हत्या भएका भारतीय युवक अजित सिंहका परिवारले राजनीतिक पूर्वाग्रहले आफूहरुलाई फसाउन खोजेको बताएका छन् ।
गएको असोज ९ गते बाराको पचरौता नगरपालिकामा भारतको पूर्वीचम्पारण मोतीहारी जिल्ला, थाना दार्पा सुक्लहइयाका अजित कुमार सिंहको गोली प्रहार गरी हत्या गरेको घटनामा संलग्नहरुले नै रुपेशको पनि गोली हानी हत्या गरेको भन्दै कामेश्वर सहनी र रञ्जित मुखियालाई फरार अभियुक्त बनाएर बारा प्रहरीले पत्रकार सम्मेलनमा नाम सार्वजनिक गरेको थियो ।
त्यसपछि उनीहरुले भारतको बिहार राज्यको मोतीहारी थाना दर्पा तिनकौलीमा विरोध प्रदर्शन सहित बाराका प्रहरी उपरीक्षक काफ्लेको पुत्ला जलाएका हुन् । सामाजिक सञ्जालमा भाईरल भिडियोमा उनीहरुले आफूहरुलाई फसाउन खोजेको भन्दै अभियुक्तको सूचीबाट नाम हटाउन भारत सरकारको विदेश मन्त्रालय मार्फत कुटनीतिक पहल गर्न सहनीले माग गरेका छन् ।
त्यस्तै अर्का अभियुक्त रञ्जित मुखियाले पनि मोतीहारीका एसपीले बाराका एसपीसँग समन्वय गरेर अभियुक्तको सूचीबाट नाम हटाउन पहल गर्न माग गरेका छन् । यदि दुवै जनाको नाम अभियुक्तको सूचीबाट नहटाईए बाराका प्रहरी उपरीक्षक काफ्ले विरुद्ध कठोर आन्दोलन गर्ने विरोध प्रदर्शनमा सहभागी अभियुक्तका परिवार र आफन्त महिलाहरुले चेतावनी दिएका छन् ।