पर्सा प्रहरीले बिल विजक भन्दा बढीको सामान बोकेको ट्रक राजस्वमा बुझायो 

पर्सा प्रहरीले बिल विजक भन्दा बढीको सामान बोकेको ट्रक राजस्वमा बुझायो 

वीरगन्ज, १७ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी विभिन्न किसिमकाऔषधी तथा खुद्रा मालबस्तुहरू बोकेको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय बारा पथलैयामा बुझाएको छ ।

विरगञ्जबाट रूपन्देहीतर्फ लैजाँदै गरेको ना.४ ख. ८७४० नम्बरको मालवाहक ट्रक महानगरपालिका वडा नं.०८ घण्टाघरस्थित सडकखण्डबाट शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले रोकेर नियन्त्रणमा लिएको थियो ।

विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको र विल बिजक समेत शंकास्पद देखिएपछि नियन्त्रणमा लिएर थप अनुसन्धान गर्दा ६२ लाख ८ हजार ५९३ मूल्य बराबरको ट्रकभित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू जाँच गर्ने क्रममा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिनुभयो ।

नियन्त्रणमा लिईएको सामान सहितको ट्रक थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि आईतबार राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बुढाथोकीले बताउनुभयो ।