इरिक्सा चालक हत्या प्रकरणः रिसईबी र प्रलोभनका कारण हत्या, हत्यामा संलग्न ५ जना पक्राउ
वीरगन्ज, २९ पुस । अटो रिक्सा चलाउने भारतीय नागरिकको हत्या प्रकरणमा पाँचजनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । भारत बिहार, जिल्ला वैशाली, ग्रामपञ्चायत महुवा घर भई हाल बीमनपा ३ छप्कैया बस्ने इरिक्सा चलाउदै आएका बर्ष ४५ का मुख्तार मियाँको हत्या घटना संलग्न ५ जनालाई प्रहरीले पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।
घटनामा संलग्न ६ जना (४ जना र मतियार बनेका दुईजना) मध्य ५ जनालाई बिहीबार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय पर्साले बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । प्रहरीले सार्वजनिक गरेकाहरु भारत, बिहार राज्य, पूर्वी चम्पारण, मोतीहारी वडा नं.०६ घर भई हाल बीमनपा ३ छप्कैया बस्ने इ–रिक्सा चालक वर्ष ३० को सुनिल कुमार, जिल्ला बारा परवानीपुर गाउँपालिका वडा नं. ५ बस्ने कार्टुन फ्याक्ट्रीमा काम गर्ने वर्ष २२ को निकेश पटेल रहेका छन् ।
त्यस्तै भारत बिहार जिल्ला मुंगेर थाना हवेली खडपपुर ग्राम बैजरपुर वडा नं. ३ घर भई बीमनपा ३ छप्कैया बस्ने फल्स सिलिङ्को काम गर्ने वर्ष ५५ को सपन मण्डल, भारत बिहार घर भई जिल्ला पर्सा बीमनपा २ छप्कैया बस्ने होटल व्यावसाय गर्ने वर्ष ३५ को बक्सर भन्ने नाजिर हुसैन र जिल्ला पर्सा बीमनपा ३ छप्कैया बस्ने होटल व्यावसाय गर्ने बक्सरका छोरा वर्ष ५० को बाबर हुसैन रहेका छन् ।
बक्सर र बाबर भने घटनाको मतियार रहेको प्रहरीको दावी छ । घटना विवरण अनुसार ८ दिन अघि पुष २१ गते साँझ ६ बजेदेखि मुख्तार मियाँ इरिक्सासहित हराइरहेको भन्दै उहाँको श्रीमतीले पुष २२ गते दिउँसो ३ः०० बजे जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएको थियो ।
निवेदन प्राप्त भएको २ घण्टापछि वीरगन्ज महानगरपालिका वडा नम्बर २३ इटियाही, नारायणी बयोधा अस्पतालको पछाडिपट्टी खाली चौरमा रगत लतपतिएको, ज्याकेट, मास्क, टोपी, जुत्ता फेला परेको र नजिकैको नहरमा टाउकोमा चोट लागेको र घोप्टो परेको अवस्थामा मुख्तार मियाँको शव फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतका अनुसार घटना मिति भन्दा केही दिन अगाडि सपन मण्डल र मुख्तारको बीचमा झगडा भएको थियो । झगडाको क्रममा सपनले मुख्तारलाई मारेर लाश गायब बनाइदिन्छु भनेर धम्की समेत दिएका थिए ।
सोही अनुसार सपनले मुख्तारलाई मार्ने योजना बनाई झगडाको भोलिपल्ट रक्सौल जाने काम छ भनी मुख्तारलाई लान खोजेका थिए । एउटै घरमा डेरा बसेका छिमेकीकी श्रीमती र मृतक मुख्तारकी श्रीमतीबीच झगडा परेपछि अहिले नजिकै छेउको घरमा डेरा सरी बसिरहेका उनै सुनिल कुमारलाई सपनले भेटेर मुख्तारलाई मार्न इ–रिक्सा किनिदिने आश्वासन दिदै ५० हजार दिने प्रलोभन समेत देखाएर सुपारी दिएका थिए ।
सुनिल कुमारले तत्काल योजना बनाई भारत बस्ने हाल फरार रहेका व्यक्ति र पहिले आफूसँगै कार्टुन फ्याक्ट्रीमा मिस्त्री काम गर्दा चिनेको साथी निकेशलाई बोलाएका थिए । योजना अनुसार पुस २१ गते ४ः४५ बजे एकजना व्यक्ति र निकेश साँझ ६ बजेतिर नारायणी अस्पताल अगाडि श्रीमतीको ठेला पसल छेउमा इरिक्सा रोकी बसिरहेको मुख्तार मियाँसँग गएर गण्डकबाट डेलिभरी केस नारायणी अस्पतालसम्म ल्याउनु छ पाँचसय दिन्छौ भनेर इरिक्सा भाडामा लिएर दुवैजना चढी गएका थिए ।
पहिले घटनास्थलमा लुकी बसिरहेका सुनिल, निकेश र “क” मिलेर फलामको रेन्चले मुख्तारलाई टाउकोमा अन्धाधुन्ध प्रहार गरी मृत्यु भएपछि नहरमा उत्तानो पालेर पल्टाइदिएको बयान दिएको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो ।
हत्यापछि घटनास्थलबाट केही वर आई रेन्ज र रगत लागेको सर्ट फालेर सुनिलले बाबर र बक्सरलाई फोन गरी उनीहरूको सहयोगमा सुनिल र हाल फरार अभियुक्तले मृतकको इरिक्सा बारा फेटा गाउँपालिका–४ स्थित पिलाहा सडकमा लगेर छोडी आएको बताएका थिए । फालिएको इरिक्सा पुस २५ गते साँझ सोही स्थानबाट बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट मुख्तारसँगको झगडा पश्चातको रिसइवी र आर्थिक प्रलोभनका कारण हत्या भएको खुलेको प्रहरी उपरीक्षक बस्नेतले बताउनुभयो । पक्राउ परेकाहरुलाई म्याद थप गरी कर्तव्य ज्यान मुद्दामा थप अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ ।