ठाकुरराम बहुमुखी क्याम्पसमा सूचना प्रविधिको स्नातक तह अध्ययन गर्न पाईने
वीरगन्ज, २९ पुस । त्रिभुवन विश्वविद्यालय भन्दापनि जेठो क्याम्पस वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा अब सूचना प्रविधिको स्नातक तह (ब्याच्लर इन टेक्नोलोजी) को अध्ययन गर्न पाईने भएको छ ।
त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पस ठाकुराम बहुमुखी क्याम्पसलाई ब्याचलर इन टोक्नोलोजी (बीआईटी) कार्यक्रम संचालन गर्न त्रिविले स्वीकृति दिएपछि ठाकुराम बहुमुखी क्याम्पसले अब छिट्टै सूचना प्रविधिमा स्नातक तहको अध्यापन शुरु गर्ने भएको हो ।
बिहीबार क्याम्पसको सभाकक्षमा पत्रकार सम्मेलनको आयोजना गरेर वीरगन्जमा पहिलो पटक सरकारी क्याम्पसमा सूचना प्रविधिको विषयमा स्नातक तहको कार्यक्रम ल्याउन सफल भएको जानकारी दिएको छ ।
क्याम्पस प्रमुख डाक्टर उमेश प्रसाद चौरसियाले भौतिक पूर्वाधारले सम्पन्न ठाकुरराम बहुमुखी क्याम्पसमा यसअघि बीबीए सञ्चालन गरेर सफलता प्राप्त गरेको र यो पटक फेरी बीआईटी कार्यक्रम ल्याउन पाउँदा निकै खुशी लागेको बताउनुभयो ।
पत्रकार सम्मेलनमा उहाँले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको बारेमा बाहिर नकारात्मक सन्देशहरु प्रवाह भईरहेकोमा चिन्ता व्यक्त गर्दै मुलुककै सबैभन्दा जेठो क्याम्पस अर्थात शिक्षाको मोदर इन्स्टिच्युसनलाई बदनाम गराउन नहुने बताउनुभयो ।
उहाँले पहिले भन्दा विस्तारै सुधार हुदै आएको क्याम्पसमा स्थानीय सबै क्षेत्रका व्यक्तिहरुको साथ र सहयोगले मात्रै व्यापक परिवर्तन ल्याउन सकिने बताउनुभयो ।
सधैं नकारात्मक दृष्टिकोण र नकारात्मक धारणाले मात्रै परिवर्तन र सुधार नहुने भन्दै उहाँले क्याम्पसले ल्याएका हरेक विषयसँग सम्बन्धित कार्यक्रमहरु सफल बनाउन सबैको सकारात्मक सोच र भावना आवश्यक रहेको बताउनुभयो ।
क्याम्पसले ल्याएको बीआईटी कार्यक्रमको व्यावहारिक पक्षको विषयमा जानकारी दिदै पूर्व सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले वीरगन्जका गरिब परिवारका छोराछोरीहरु बीबीए र बीआईटी विषयमा महंगो शुल्क तिरेर वीरगन्ज बाहिर पढ्न जानुपर्ने बाध्यता विस्तारै हट्दै गएको बताउनुभयो ।
पहिलो चरणमा बीबीए कार्यक्रम सफल शुरुवात भएको र बीआईटी कार्यक्रम पनि सफल हुने बताउनुभयो । उहाँले वीबीए कार्यक्रम संचालनपछि वीरगन्जका धेरै विद्यार्थीहरु बाहिर जानुपर्ने बाध्यता हटेको र अब सूचना प्रविधिको विषयमा कार्यक्रम संचालनपछि बाध्यता हट्ने बताउनुभयो ।
बीआईटी कार्यक्रमको माघ ३ गतेदेखि अनलाईन मार्फत आवेदन फाराम खुला हुने र आवेदन फाराम भरेकाहरुले प्रवेश परिक्षा उत्तीर्ण भएपछि मात्रै पढ्न पाउनेछन् । कार्यक्रमको बारेमा प्रकाश पार्दै प्राध्यापक विजय कुश्वाहाले जुनसुकै विषयबाट प्लस टु गरेकाहरुले पनि सूचना प्रविधिको विषयमा अध्ययन गर्न पाउने बताउनुभयो ।
तर, यसको लागि गणित र अंग्रेजी विषयमा भने न्यूनतम सी ग्रेड ल्याउनुपर्ने हुन्छ । यो विषयले भविष्यमा सूचना प्रविधिमैत्री र पूर्ण डिजिटल प्रविधिको विकास गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।