कोरोना विरुद्धको खोप नपाएसम्म विद्यालय संचालन नगरिने शिक्षक महासंघको भनाई
वीरगन्ज, ३१ जेठ । सरकारले असार १ गतेदेखि सामुदायिक तथा संस्थागत विद्यालयहरुको आवश्यक सुरक्षा मापदण्डहरु पालना गरी संचालनको तयारी गर्न निर्देशन गरेको भएपनि शिक्षकहरुले भने खोप उपलब्ध गराएर मात्रै विद्यालय संचालन गर्न माग गरेको छ । वीरगन्ज महानगरपालिकाले असार तेश्रो सातादेखि विद्यालय संचालनको तयारी गर्न सार्वजनिक सूचना जारी गरेपछि नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि असार १ गतेदेखि कक्षा ८ देखि १२ सम्मको अध्ययन अध्यापन संचालन गर्ने तयारी गर्न पत्राचार गरेको छ ।
तर, सामुदायिक विद्यालयका शिक्षकहरुको संगठन नेपाल शिक्षक महासंघ पर्साले भने कोरोना विरुद्धको खोप नपाएसम्म विद्यालय नाखोल्ने केन्द्रीय निर्णय अनुसार विद्यालय नजाने बताएको छ । महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले एक विज्ञप्ति जारी गर्दै महामारीको सन्त्रासमा अहिले भौतिक उपस्थितिमा विद्यालय संचालन गर्नु जोखिम रहेकोले विद्यालयका शिक्षक, कर्मचारी तथा विद्यार्थीलाई खोप नपाएसम्म विद्यालय संचालन नगर्न आग्रह गर्नुभएको छ ।
साथै अहिले विद्यालय संचालन सम्बन्धमा प्रदेश र केन्द्रीय सरकारको कुनै निर्णय नभएकोले महानगरपालिकाले विद्यालय खोल्ने गरेको निर्णय समेत फिर्ता लिन आग्रह गरिएको छ । कोरोना महामारीको जोखिममा पनि जबरजस्ती विद्यालय खोल्न दबाव दिईए त्यसबाट हुने क्षति तथा अरु कुनै गम्भीर परिणामप्रति महानगरपालिका तथा यसको नेतृत्व जिम्मेवार हुने स्पष्ट पार्न चाहेको पनि शिक्षक महासंघले जारी गरेको विज्ञतिमा जनाईएको छ ।