महानगर प्रमुख सरावगीद्वारा विद्यार्थीको माग सम्बोधन
वीरगञ्ज, ८ असार । विद्यालय सञ्चालन र विद्यार्थीहरुका सवालसम्बन्धी आवाज उठाउन गठित सयुँक्त विद्यार्थी संगठनले कोभिड १९ को महामारीका बिच विद्यालय कसरी सञ्चालन गर्ने भन्ने बारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएका छन ।
यसअघि उठाएका मागहरुमध्ये वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले पूर्ववत पोशाक, पाठ्यपुस्तक र शूल्क यथावत राख्नुपर्ने मागको सम्बोधन भइसकेको छ । तर विद्यालय अनुगमन गर्न समिति बनाउने र उक्त समितिमा सयुँक्त विद्यार्थी संघर्ष समितिबाट पनि सहभागिता गराउनुपर्ने मागको सम्बोधन गराउन गएको टोली र नगरप्रमुखबिच सकारात्मक वार्ता भएको छ ।
नगरप्रमुख सरावगीले अनुगमनका लागि १० वटा टोली गठन गर्ने र उक्त टोलीमा विद्यार्थी संगठनबाट १÷१ जनालाई समावेश गरिने प्रतिबद्धता जनाएपछि वार्ता टुंगिएको हो ।अनुगमन समितिमा विद्यार्थीलाई समावेश गर्ने मागको सम्बोधन शैक्षिक प्रशासन महाशाखाबाट नहुने शाखा प्रमुख अर्विन्दलाल कर्णले स्पष्ट पारेपछि विद्यार्थीहरु नगरप्रमुख सरावगीलाई भेट्न गएका हुन् ।
कुराकानीको क्रममा जेठ ३० गते सम्बोधन भएका आधा मागहरुको लागि नगरप्रमुख सरावगीलाई धन्यवाद दिँदै विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखी ठोस मापदण्ड बनाएर मात्रै विद्यालय सञ्चालन गर्न आग्रह गरिएको थियो ।
संघर्ष समितिका संयोजक विकास तिवारी, सह–संयोजक कविराज पटेल, सदस्यहरु रेयाज अंसारी, हरिन्द्र साह, फिरोज बादसाह, धर्मराज यादव लगायत विद्यार्थी नेताहरुको उपस्थितीमा सहमति भएको समितिका प्रवक्ता हेमन्त तामाङ्ले जानकारी दिए ।