संस्थागत विद्यालयको स्तर र शुल्क निर्धारणमा भएको त्रुटी सच्याउन सकिन्छ : नगर प्रमुख सिंह
विद्यालय वर्गीकरण र शुल्क निर्धारण खारेज गर्न अभिभावक संघको माग
वीरगन्ज, २९ मंसिर । वीरगञ्ज महानगरका नगर प्रमुख राजेशमान सिंहले निजी विद्यालयको वर्गीकरण गर्नु एउटा ठूलो उपलब्धी भएको र यसमा केही त्रुटी भए उचित असन्तुष्टीलाई समाधान गर्दै र त्रुटीहरुलई सच्याउँदै एकअर्कासँग हातेमालो गरेर अघि बढ्न सकिए वीरगञ्जको शैक्षिक क्षेत्रले ठूलो फड्को मार्ने बताउनुभएको छ ।
प्याब्सन पर्सा जिल्ला समिति र महानगर समितिको साधारण सभालाई सम्बोधन गर्दै मेयर सिंहले शिक्षालाई राजनीतिकरण गर्ने दुष्प्रयास भइरहेकोमा आक्रोश व्यक्त गर्नुभयो । मेयर सिंहले राजनीतिक गर्ने भए राजनीतिक दलमा आएर खुला रुपमा राजनीति गर्न सुझाव दिदै निजी विद्यालयको वर्गीकरण र शूल्क निर्धारणले शिक्षामा रुपान्तरण हुने बताउँदै उहाँले केही कमी कमजोरी र असन्तुष्टी भएमा विस्तारै सच्याउँदै जान सकिने बताउनुभयो ।
वीरगन्ज महानगरले शिक्षालाई विशेष प्राथामिकता दिएको बताउदै महानगरले संस्थागत विद्यालयको स्तरीकरण एवम् शूल्क निर्धारण ठूलो उपलब्धी भएको बताउनु भएको छ । मेयर सिंहले शिक्षालाई राजनीतिबाट टाढा राखेर सुधार गर्न चाहेको हुँदा त्यसमा साथ दिन उहाँको आग्रह छ ।
विद्यालयमा शूल्क बढाउने प्रतिस्पर्धा नगरी शैक्षिक गुणस्तर वृद्धि गर्ने प्रतिस्पर्धा गर्न सुझाव दिँदै उहाँले महानगरका शैक्षिक योजनाहरुमा प्याब्सनले पनि साथ, सहयोग र सुझाव दिनुपर्ने बताउनुभो ।
प्याब्सन पर्साका अध्यक्ष पुरण प्रधान र महानगर समितिका अध्यक्ष आलोक चौरसियाको सयुँक्त सभापतित्वमा भएको साधारण सभामामा प्याब्सनका केन्द्रीय सदस्य छेडुप लामा,
प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठाकोटे, प्याब्सनका सल्लाहाकार लाल बहादुर पटेल, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौंगाई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
अभिभावक संघको आन्दोलन निरन्तर
अभिभावक संघले वीरगञ्ज महानगरले संस्थागत विद्यालयको स्तर तथा शुल्क निर्धारण हचुवाको तालमा गरेकोे आरोप लगाएको छ । यो वर्गीकरणलाई खारेज गरी सरोकारवाला सहितको विज्ञ टोली राखेर छलफल र समिक्षा पछि पूनः स्तर र शुल्क निर्धाण गर्न भनेको छ ।
संघका अध्यक्ष सन्दिप साहले महानगरका उपमेयर ईम्तियाज आलमलाई ज्ञापनपत्र बुझाउँदै स्तर र शुल्क निर्धारण अवैज्ञानिक र अव्यवहारिक भएको बताउनुभयो ।
सस्थाँगत विद्यालय वर्गीकरणबाट केहि विद्यालयको शुल्क कम भएपनि अधिकाशं विद्यालयको शुल्क बढ्नाले अभिभावकहरु झन् मारमा परेको अभिभावक संघको ठहर छ ।
विगतमा अभिभावक संघर्ष समितिले उठाएका मुद्धाहरु नसमेटिएको, वीरगञ्जका कुनैपनि विद्यालय क वर्ग लायक नहुँदा पनि ६ वटालाई क वर्गमा राखिएको लगायतका विषयमा अभिभावक संघले असन्तुष्टी जनाएको छ ।