पत्रकार नरेश सर्राफको स्मृतिमा युवा क्रियाशील पत्रकारिता पुरस्कार घोषणा

अक्षय कोषमा आर्थिक सहयोग जुट्न थाल्यो, सांसद यादवद्वारा एकलाख दिने घोषणा

पत्रकार नरेश सर्राफको स्मृतिमा युवा क्रियाशील पत्रकारिता पुरस्कार घोषणा

वीरगन्ज, २८ मंसिर । नेपाल पत्रकार महासंघ पर्सा शाखाले पत्रकार नरेश सर्राफको स्मृतिमा युवा क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । दिवंगत पत्रकार सर्राफको १३ औं दिनको पुण्यतिथिमा बुधबार महासंघको सभाहलमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा महासंघले पुरस्कारको घोषणा गर्नुको साथै अध्यक्षकोष स्थापना गर्ने समेत निर्णय गरेको छ ।

अध्यक्षकोषबाट आएको २० प्रतिशतले युवा क्रियाशील पत्रकारिता पुरस्कार वितरण गरिने र ८० प्रतिशत सर्राफको परिवारको सहयोगका लागि खर्च गरिने संघका अध्यक्ष अनुप तिवारीले बताउनुभयो । श्रद्धाञ्जली सभामा शोक मन्तव्य दिदै पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदीप यादवले आफ्नो व्यक्तिगत एकलाख रुपैंया सहयोग गर्ने बाचा गर्नुका साथै सरकारबाट हुनसक्ने सहयोगका लागि आवश्यक पहल गर्ने समेत बताउनुभयो ।

त्यसको लागि पत्रकार महासंघले आधिकारिक रुपमा पत्र लेखेर दिन उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा पत्रकार महासंघका पूर्व अध्यक्ष एवं एन्युज टेभिजनको अध्यक्ष अशोक तिवारीले टेलिभिजनको तर्फबाट २१ हजार रुपैंया सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

त्यसतै पत्रकार महेश दासले पनि व्यक्तिगत रुपमा १० हजार रुपैंया अक्षयकोषमा सहयोग गर्ने बताउनुभयो । महासंघका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य केसी लामिछाने,

प्रदेश महासचिव श्याम बञ्जारा, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य राघव साह, वीरगन्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गौतम लगायतले दिवंगत पत्रकार सर्राफको

व्यक्तित्व र उहाँले पत्रकारिता क्षेत्रमा गरेको योगदानको स्मरण गर्दै असल र इमान्दार पत्रकार गुमाएको बताए । कार्यक्रमको सञ्चालन संघका सचिव भूषण यादवले गर्नुभएको थियो ।