चार प्रदेशले एकैदिन नीति तथा कार्यक्रम ल्याउदै 

चार प्रदेशले एकैदिन नीति तथा कार्यक्रम ल्याउदै 

वीरगन्ज, २७ जेठ । बिहीबार (आज) ४ वटा प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्ने भएका छन् । असार १ गते बजेट ल्याउनु पर्ने कानुनी व्यवस्था अनुसार आज प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो नीति तथा कार्यक्रम आज संसदमा पेश गर्ने भएका हुन् । बजेट ल्याउनुभन्दा १५ दिनअगावै नीति तथा कार्यक्रम ल्याउनुपर्ने कानुनी व्यवस्था भए पनि सबै प्रदेशले यस वर्ष ढिलो गरी नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।

राजनीतिक उतारचढावका कारण बजेट अधिवेशन बोलाउन नै ढिलाइ गरेको सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गरेका छन् । प्रदेश १ को प्रदेश सभा दिउँसो ३ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले सरकारको नीति तथा कार्यक्रम संसदमा पेस गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । जसको कार्यसूचीलाई अन्तिम रुप दिन दिउँसो एक बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ ।

त्यस्तै, प्रदेश २ को प्रदेश सभा दिउँसो ३ बजे बस्दैछ । २४ जेठदेखिे बजेट अधिवेशन सुरु भएको प्रदेश सभामा बिहीबार सरकारको तर्फबाट प्रदेश प्रमुख डा. राजेश झाले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको सचिवालयका सचिव रञ्जित कुमार यादवले जानकारी दिनुभयो । त्यस्तै, वाग्मती प्रदेशको प्रदेश सभा दिउँसो साढे ३ बजेको लागि बोलाइएको छ ।

प्रदेश सभामा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंले पेस गर्ने कार्यसूची रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले जानकारी दिनुभयो । त्यस्तै, सुदूरपश्चिम प्रदेश सरकारले पनि आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बिहीबार नीति तथा कार्यक्रम प्रदेश सभामा पेस गर्दैछ । आज दिउँसो ४ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले नीति तथा कार्यक्रम पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।