नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना, चालकहरुको निःशुल्क स्वास्थ्य परीक्षण तथा आँखा चाँज
वीरगन्ज, १७ असोज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले बसपार्कमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । चाडवाड नजिकिएसँगै सार्वजनिक सवारी साधनमा यात्रुहरु ठगिने भएकोले यात्रुलाई सहजताका लागि यात्रु साहयता कक्षको स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक सुमन कार्कीले जानकारी दिनुभयो ।
सहायता कक्षको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले उदघाटन गर्नुभएको छ । यात्रु सहायता कक्षको उदघाटन गर्दै सहायक प्रमुख जिल्ला भीमकान्त पौडेलले तोकिएको भन्दा बढी भाडा लिनु कानून विपरित भएकोले त्यसो नगर्न यातायात व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
प्रशासनको आग्रहलाई अटेर गरे कानून अनुसार कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले चेतावनी पनि दिनुभयो । हरेक बर्ष चाडपर्वमा यात्रुहरुको चाप बढी हुने भएपछि यातायात सवारी साधनहरुले यात्रुसँग बढी भाडा लिने गरेको गुनासोहरु आउने हुँदा यसको नियन्त्रणका लागि यात्रु सहायकता कक्षको आवश्यकता महशुस गरेर स्थापना गरिएको प्रहरी निरीक्षक कार्कीले बताउनुभयो ।
यसैबीच चालकहरुको निःशुल्का स्वास्थ्य जाँच तथा आँखा शिविरको आयोजना समेत गरिएको थियो । बसपार्क भानुचोकमा जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक कार्यालय पर्साको आयोजनामा भएको चालकहरूको स्वास्थ्य चेकजाँच,आँखा शिविर र
यात्रुसहायता कक्षको जिल्ला प्रशासन कार्यालय पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलल, प्रदेश २ ट्राफिक प्रहरी कार्यालयका प्रमुख ,प्रहरी उपरिक्षक हिमालय कुमार श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरिक्षक बेल बहादुर पाण्डेबाट संयुक्त समुदघाटन भएको हो ।
उक्त कार्यक्रममा १५० जना चालक तथा सहचालकले स्वास्थ तथा आँखा चेकजाँच गराउनुका साथै मास्क बितरण गरिएको थियो । सुरक्षा अधिकारीहरुको सहभागितामा सार्वजनिक सवारी साधनहरूको अनुगमन समेत गरिएको थियो ।
कार्यक्रममा नेपाली सेना प्रहरी् जनप्रतिनिधिहरु, कार्यक्रमका सहयोगी संस्थाहरू रोटरी क्लब अफ वीरगन्ज, प्रभु हस्पिटलका स्वस्थ्यकर्मीहरु र वीरगंज सामुदायिक आँखा एवं दाँत सेवा केन्द्रका स्वास्थ्यकर्मीहरु, पहल संस्था,
सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु, स्प्रिट क्लब, स्वतन्त्र समाज नेपाल, विभिन्न क्लबहरू, मिडियाकर्मीहरू, यातायात ब्यवसायी तथा मजदुरहरू लगायत नागरिक समाजको उपस्थिति रहेको अभियानकर्मी दिलिपराज कार्कीले जानकारी दिनुभयो ।