सातबर्षमा पनि अधुरै रहेको पर्साको तिलावे पुल दुईजना मन्त्रीद्वारा उद्घाटन
वीरगञ्ज, २८ साउन । पर्साको राजधानी वीरगन्जसँग ग्रामीण क्षेत्रलाई जोड्ने हुलाकी राजमार्ग अन्तर्गत वीरगञ्ज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा निर्माण गरिएको पुलको उदघाटन गरिएको छ । ३ वर्षमा निर्माण सक्ने गरी २०७२ सालमा निर्माण क्षेत्रमा बदनाम ठेकेदार कम्पनी पप्पु र लुम्बिनी जेभीले ठेक्का पाएको थियो । पप्पु÷लुम्बिनी जेभीले निर्माण गरेको पुल पूर्णरुपमा सम्पन्न नभई उद्घाटन गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइ र वन तथा वातावरण मन्त्री प्रदीप यादवले शनिबार पुल उद्घाटन गरेका हुन् । साढे सात करोड रुपैयाँको लागतमा १०० मीटर लम्बाइ र ७ मीटर चौडाई पुल समयमा निर्माण नहुँदा पर्साका ग्रामीण वासिन्दाले सास्ती खेप्नु परिरहेको थियो । पुरानो पुल साँघुरो रहेको र सवारी साधनहरुको चाप बढेका कारण ग्रामीण क्षेत्रका जनतालाई आवत जावतमा समस्या हुने गरेको थियो ।
साँघुरो पुलबाट दैनिक सयौं सवारी साधन आवतजावत गर्दा पुलमै घण्टौं ट्राफिक जाम हुने गरेको थियो । पुलको ९० प्रतिशत काम पूरा भएको साथै सम्पर्क सडक र नदी तटबन्धनको कार्य मात्रै बाँकी रहेकोले पुल उदघाटन गरिएको सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए । बर्खा सकिएलगत्तै त्यसको निर्माण कार्यपनि शुरु हुने उनले बताए ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यतामा भएको पुल उद्घाटन कार्यक्रममा पर्सा क्षेत्र नं. ३ का निलम्बित सांसद हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, सचिव तबरेज अहमद पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल, सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेल, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दीपक खड्का लगायतको उपस्थिति रहेको थियो ।
डाईभर्सन बनाउन नमान्दा पुल निर्माणमा ढिलाई
तीन बर्षमा निर्माण गरिसक्ने गरी तिलावे नदिमाथिको पुल निर्माणका लागि २०७२ जेठ २५ गते निर्माण कम्पनी पप्पु÷लुम्बिनी जेभीसँग सम्झौता भएको थियो । तर, पुलको नक्शा स्वीकृत गर्न ढिला गरेर ३ वर्ष लाग्यो । पुल निर्माणका लागि साविक पुलबाट आवागमन बन्द गर्नुपर्ने र डाइभर्सन निर्माण गर्नुपर्ने भएपछि निर्माण कम्पनीले सम्झौतामा डाईभर्सन निर्माण गर्नुपर्ने उल्लेख नगरेको भन्दै डाईभर्सन बनाउन नमान्दा ढिलाई भएको थियो । डाईभर्सन नबन्दा पुल निर्माण रोकिएको थियो ।
पुल समयमा निर्माण नहुँदा पुरानो पुलमा घण्टौसम्म जाम लाग्ने गरेको थियो । आयोजनाले २०७५ फागुन २३ मात्रै डाइभर्सन निर्माणको कार्यादेश स्वीकृति दिएको थियो । तर, डाइभर्सनका लागि रकम थप गर्नुपर्ने निर्माण कम्पनीले अत्तो थापेपछि पुल निर्माण कार्य रोकिएको थियो । पप्पु कन्स्ट्रक्सनले आफ्नो ठेक्का नपरेको भन्दै पन्छिएको थियो । लुम्बिनीको नाम लगाएर पुल निर्माणमा राजनीतिक चलखेल भन्दै गलत प्रचार पप्पुले नै गरेको थियो ।
यसबीचमा परेको कोरोना महामारी र निर्माण सामग्रीको अभावजस्ता समस्या देखाएर निर्माण ढिलो भएको बाहाना गर्न निर्माण कम्पनीलाई पनि सहज भएको थियो । अहिले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने घोषणासँगै निर्वाचनलाई लक्षित गरेर पुल निर्माण कार्यलाई तीब्रता दिएर हतारमा उदघाटन गरिएको छ । पुलको ३० फिट पहुँच मार्ग निर्माण गर्न अझै बाँकी नै छ । अधुरो निर्माण मै पुल उदघाटन गरेको भन्दै व्यापक आलोचना पनि भएको छ ।
पुल भएर आवत जावत गर्नेहरुले विरोध गरेपनि राजनीतिक दलहरुको साथ नहुँदा पुल उदघाटनको विरोध सशक्त बन्न सकेन । तत्कालिन सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विलेन्द्र निधिले शिलान्यास गरेको पुल उदघाटनमा गठबन्धनको सरकारमा कांग्रेस पनि रहेकोले अधुरै पुलको उदघाटनको विरोध हुन सकेन । पर्साका सबै राजनीतिक दलहरु अधुरो भनिएको पुल उदघाटनको साक्षी बनेका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि पुलको विषयमा केही बोल्न सकेको छैन ।
पार्टीका पर्सा अध्यक्ष जयप्रकाश थारु उनै पप्पु कन्स्ट्रक्सनका पूर्व सञ्चालक निलम्बित सांसद हरिनारायण रौनियारसँगै गएर उदघाटन कार्यक्रममा हार लागेर बस्नु भएको थियो । जनता समाजवादी पार्टीबाट नेकपा माओवादी केन्द्रमा भर्खरै प्रवेश गर्नुभएका नेता टेक बहादुर शाक्य (अन्जन) पनि पुल उदघाटनको साक्षी बन्नु भएको छ ।