प्रेस सेण्टर नेपाल पर्सा र नेकपा माओवादी केन्द्रका नेताहरूबीच समसामयिक विषयमा छलफल 

प्रेस सेण्टर नेपाल पर्सा र नेकपा माओवादी केन्द्रका नेताहरूबीच समसामयिक विषयमा छलफल 

वीरगन्ज, २८ साउन । नेकपा माओवादी केन्द्रका नेताहरूसँग प्रेस सेण्टर नेपाल पर्साले  समसामयिक विषयमा छलफल  गरेको छ । वीरगन्जको होटल कुमु प्यालेसमा नेकपा माओवादी केनद्रका केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला संयोजक लगायतका नेताहरूसँग पार्टी र संगठनबीचको सम्बन्ध र एकअर्काले खेल्नुपर्ने भूमिकाको विषयमा छलफल भएको हो ।

छलफलमा पार्टीको प्रचार विभाग सदस्य एवं प्रेस सेण्टर  नेपालका उपाध्यक्ष गोविन्द देवकोटाले पार्टीका नेताहरूबीच हार्दिकता र सौहार्दता भए मात्रै पार्टीलाई बलियो बनाउन सकिने बताउनुभयो । उहाँले पहिलेका दिनहरूमा पार्टीका नेताहरूबीच आपसी मतभेदहरू रहेपनि प्रेस सेण्टरभित्र हार्दिकता र एकता कायम रहेको र यसले संगठनलाई बलियो बनाउदै लगेको बताउनुभयो । उहाँले आगामी दिनमा पार्टीमा पनि हार्दिकताका साथ सम्बन्धहरू स्थापित गर्न र पार्टीका नेताहरूसँग जुनसुकै बेलामा पनि सहयोग  र सहकार्य गर्न संगठन तयार रहेको बताउनुभयो ।

छलफलमा नेकपा माओवादी केन्द्रका नेताहरूले परिवर्तनको आन्दोलनमा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको र अझ पार्टीकै विचारबाट निर्देशित संगठनको पार्टी निर्माणमा भूमिका आवश्यक रहेको बताएका थिए । छलफलमा सहभागी केन्द्रीय सदस्य रहबर अन्सारीले पार्टी र भातृसंगठनबीच सूचना आदानप्रदान हुनुपर्ने र संगठनमा आवद्ध सदस्यहरूले सूचना दिएमा पार्टीको रणनीति बनाउन पनि सहयोग पुग्ने बताउनुभयो । उहाँले अन्य अन्य पत्रकार संगठनहरूले भन्दा प्रेस सेण्टरले पत्रकारितामा पनि विश्वसनीयता कायम राखेको बताउनुभयो ।

केन्द्रीय सदस्य रामबाबु बैठाले संगठनलाई ग्रामीण तहसम्म विस्तार गर्नुपर्ने सुझाव दिनुभयो ।  अर्का केन्द्रीय सदस्य विरेन्द्र यादवले माओवादी केन्द्र जनयुद्धको जगबाट स्थापित पार्टी  र परिवर्तनको नेतृत्व गरेको पार्टी भएकोले यसलाई अझ बलियो र मजबुत बनाउन संगठनसँगको सहकार्य आवश्यक रहेको बताउनुभयो । त्यस्तै अर्का केन्द्रीय सदस्य टेक बहादुर शाक्यले पार्टीको सञ्चार संगठन बलियो भएमा पार्टीलाई नै फाइदा हुने भएकोले भातृ संगठनसँग पार्टी बलियो बनाउने सम्बन्धमा छलफल निरन्तर हुनुपर्नेमा जोड दिनुभयो ।

मधेस प्रदेश सदस्य सलाउद्दिन अहमदले परिवर्तनको एजेन्डा माओवादीकै रहेको र देशको वर्तमान राजनीति पार्टी अध्यक्ष प्रचण्डको वरिपरि नै घुमिरहेकोले माओवादी बलियो बनाउने अभियानमा आवद्ध भएको बताउनुभयो । मधेस प्रदेशका अर्का सदस्य पिएल श्रेष्ठले कुनै समयमा माओवादी पार्टीमा देखिएको आकर्षण अभुदपूर्व रहेपनि अहिले नेताहरूकै चरित्र र आचरणका कारण कमजोर बन्दै गएको र यसलाई बलियो बनाउन पूराना र नया, गुट उपगुटमा विभाजित हुन नहुने बताउनुभयो ।

पार्टीका जिल्ला संयोजक रामदरश कुश्वाहाले पार्टीलाई बलियो बनाउन पार्टीका नेता र संगठनका सदस्यहरूबीच पनि सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो ।  प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गौतमको अध्यक्षतामा भएको छलफलमा सेण्टरका केन्द्रीय सदस्य नीरज पिठाकोटे मगर, जगत राई, प्रदेश सचिव मूनेश लायो मगर, सदस्य अशोक श्रीवास्तव, जिल्ला सहसचिव राम मण्डल, सदस्यहरू अनिल साह अजित भूजेल, माओवादी नेता मोहन यादव, विद्यार्थी नेताहरू जुवैर आलम, संदीप विक्रम साह लगायतको उपस्थिति रहेको थियो ।