सात दिने आधारभूत पत्रकारिता तालिम शुरु
वीरगन्ज, २९ साउन । वीरगन्जमा सात दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको छ । रेस नेपाल (नारायणी एफ.एम.) र क्रिएटिभ ह्याण्ड्स नेपालको संयुक्त आयोजनामा आईतबारदेखि होटल कुमु प्यालेसमा तालिम शुरु भएको हो ।
रेस नेपाल (नारायणी एफ.एम.) का कार्यकारी अध्यक्ष गोविन्द देवकोटाको अध्यक्षतामा भएको तालिम उदघाट समारोहमा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले पत्रकारिता पेशा विशिष्ट खालको पेशा भएकोले जिम्मेवार र जवाफेदेही हुनुपर्ने बताउनुभयो ।
उहाँले एउटा पत्रकारले समाचार विगार्यो भने समाजलाई गलत सन्देश जाने र यसले सिंगो समाजलाई नै असर पर्ने भएकोले समाचारको प्रभाव कस्तो पर्छ त्यसको आंकलन पहिले नै गर्नुपर्ने बताउनुभयो । डाक्टर र वकिल पेशामा शुल्क पनि लिने र उनीहरुले गल्ती गरेमा एकजनालाई मात्रै प्रभाव पर्ने तर, पत्रकारले गरेको समाचारले समाजलाई नै असर पर्ने भएकोले संवेदनशील हुनुपर्ने बताउनुभयो ।
तालिम उदघाटन सत्रको समापन गर्दै रेस नेपाल (नारायणी एफ.एम.) कार्यकारी अध्यक्ष गोविन्द देवकोटाले पत्रकारको लेखाईले समाजलाई कता लैजाने भन्ने दिशा निर्धारण गर्ने भएकोले पत्रकारको समाजमा विशिष्ट भूमिका रहेको बताउनुभयो । उहाँले पत्रकारले सबैको प्रवद्र्धन, संरक्षण गर्ने भूमिका खेल्नुपर्ने बताउनुभयो ।
तालिम उदघाटन समारोहमा रेस नेपाल (नारायणी एफ.एम.) का सचिव अरविन्द सिंह, कोषाध्यक्ष कमलमोहन पोखरेल, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठकोटे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजीकरण क्रियटिभ ह्याण्ड्स मिडिया प्रालिका शिवनाथ यादवले गर्नुभएको थियो । ७ दिनसम्म चल्ने तालिममा २१ जना सहभागी रहेका छन् । तालिमको उद्देश्यको बारेमा क्रियटिभ ह्याण्ड्स मिडिया प्रालिका संचालक सुरेश विडारीले प्रकाश पानुभएको थियो ।